INSEC Online

📅 २०८३ जेष्ठ २१

द्वन्द्वकालीन समयमा अङ्गभङ्ग भएकाहरूको प्रतिशत निर्धारण

सशस्त्र द्वन्द्वका क्रममा अङ्गभङ्ग भएका घाइतेहरूको अपाङ्गता प्रतिशत निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा रहेको सशस्त्र द्वन्द्वमा घाइते भएका व्यक्तिहरूको प्रतिशत निर्धारण एवम् पुनरावलोकन सिफारिस समिति दाङले चैत २० गते शान्ति सचिवालयमा ५० जनाको नाम र प्रतिशत सिफारिस गरेको हो ।

सशस्त्र द्वन्द्वमा घाइते भएका व्यक्तिहरूको प्रतिशत निर्धारण एवम् पुनरावलोकन उपसमितिले सिफारिस गरेको प्रतिवेदन अनुसार घोराहीमा बसेको समितिको बैठकले द्वन्द्वपीडितहरूका नाम र अपाङ्गताको प्रतिशत शान्ति सचिवालयमा सिफारिस गर्ने निर्णय गरेको हो ।

समितिका अनुसार सिफारिस गरिएकामध्ये शतप्रतिशत अङ्गभङ्ग भएका तीन जना, ८० प्रतिशत अङ्गभङ्ग भएका दुई जना, ७० प्रतिशत अङ्गभङ्ग भएका दुई जना, ६० प्रतिशत अङ्गभङ्ग भएका १३ र २० देखि ५५ प्रतिशत अङ्गभङ्ग भएका ३० जना रहेका छन् ।

यसअघि द्वन्द्व प्रभावित व्यक्ति, परिवार तथा संरचनाको विवरण प्रशोधन तथा राहत प्रदान गर्न सुझाव पेश गर्ने सम्बन्धी कार्यदल-२०७३ ले सूचीमा राखेका दाङका कुल १ सय ४ मध्ये जम्मा सात जनामात्रै प्रतिशत निर्धारणका लागि आएको स्थानीय शान्ति समितिका कार्यालय सचिव हेमराज अधिकारीले जानकारी दिए । उनका अनुसार अहिले सिफारिस भएका ५० मध्ये नयाँ सूचीमा परेका सात जना बाहेक सबै यसअघि प्रतिशत निर्धारण भइसकेका व्यक्तिहरूले पुनरावलोकन गरेका छन् ।

प्रतिशत निर्धारण गरी पठाइएकाहरूको पुनः एकपटक छानबिन हुने र प्रमाणित भए अङ्गभङ्गको प्रतिशतका आधारमा घाइतेहरूलाई चालु आर्थिक वर्षमै राहत उपलव्ध गराइने शान्ति समिति दाङले जनाएको छ ।

तर, ६ महिनाको लामो समय दिँदा पनि प्रतिशत निर्धारणका लागि नआएका पीडितहरू राहतबाट वञ्चित हुने समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।

द्वन्द्वमा घाइते भएकाहरूको प्रतिशत निर्धारण तथा पुनरावलोकनका लागि ६ महिनाको अवधि दिएर सूचना जारी गरिएको भन्दै प्रजिअ श्रेष्ठले दाङबाट ५० जनाको मात्रै सिफारिस गरिएको जानकारी दिए ।

शान्ति समितिका अनुसार दाङमा सशस्त्र द्वन्द्वका क्रममा ४ सय ११ जना घाइते तथा अङ्गभङ्ग भएका थिए । ती मध्ये ३ सय ७ जनाले यसअघि राहत पाइसकेको शान्ति समितिले जनाएको छ ।

अन्य

भिडियो