INSEC Online

📅 २०८३ जेष्ठ २१

पूर्जा नभएका भूकम्पपीडितका समस्या सम्बोधन गरिने

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा जग्गासम्बन्धी प्रमाणको अभावले अनुदान सम्झौता हुन नसकेका लाभग्राहीका लागी पनि आवश्यक व्यवस्था मिलाउन पहल गर्ने निर्णय गरेको राससले जनाएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्राडा गोविन्दराज पोखरेलको संयोजकत्वमा चैत २२ गते बसेको कार्यकारी समिति बैठकले लालपूर्जालगायत जग्गासम्बन्धी प्रमाणको अभावमा अनुदान सम्झौता हुन नसकेका लाभग्राहीको समस्या सम्बोधन गर्न समिति गठन गरेको छ ।

बैठकले सो सम्बन्धमा के कस्तो नीतिगत व्यवस्था गर्न सकिन्छ भन्ने सुझाव दिन कार्यकारी समिति सदस्य धुव्रप्रसाद शर्माको संयोजकत्वमा समिति गठन गरेको प्राधिकरणले जनाएको छ ।

समितिले एक साताभित्रमा त्यस्ता लाभग्राहीको हकमा कस्तो व्यवस्था गर्न सकिन्छ भनी निर्क्योल गरी कार्यकारी समितिलाई सुझावसहितको प्रतिवेदन पेस गर्नेछ । भूकम्प प्रभावित १४ जिल्लामा पहिचान भएका ६ लाख ३६ हजार ३६ घरधुरी लाभग्राहीमध्ये ५ लाख ४८ हजार २ सय ५५ लाभग्राहीसँग मात्र निजी आवास निर्माणका लागि अनुदान सम्झौता भएको थियो ।

लालपूर्जा नभएका तथा जग्गासम्बन्धी प्रमाणको अभावमा पहिचान भएपनि ७७ हजार ७८१ लाभग्राहीसँग निजी आवास निर्माणका लागि अनुदान सम्झौता हुन सकेको छैन ।

अन्य

भिडियो