जिल्ला कारागार कालिकोटमा क्षमता भन्दा तेब्बर कैदीबन्दी रहेकाले बसोबासमा सास्ती भएको छ ।
जीर्ण अवस्थामा रहेको जिल्ला कारागारको क्षमता २५ जनाको रहेकामा ६३ जना पुरुष र सात जना महिला गरी ६९ जना कैदीबन्दी रहेका छन् ।
क्षमता भन्दा तेब्बर कैदीबन्दी रहेकाले कारगारमा समस्या रहेको निमित्त जेलर मोहनप्रसाद शर्माले बताए । उनका अनुसार १५ जना पुरुष र १० जना महिलाको क्षमता रहेको भए पनि ४७ कैद तोकिएका कैदी र २२ जना कैद नतोकिएका थुनुवा रहेका छन् ।
साँघुरो कोठामा पुरुष कैदीबन्दी खचाखच भएकाले समस्या उत्पन्न भइरहेको तिलागुफा नगरपालिका घर भई कारागारमा रहेका कैदी मानबहादुर शाहीले गुनासो गरे । क्षमताभन्दा बढी कैदीबन्दी भएकाले पालैपालो सुत्ने गरेको बताए ।
बसोबासमा समस्या हुनुका साथै मनोरञ्जनका सामग्री पनि नभएको नरहरीनाथ गाउँपालिका–९ का कैदी महेन्द्र शाहीले बताए । “घ” श्रेणीको जिल्ला कारागार भवन पनि जीर्ण अवस्थामा रहेको छ ।