INSEC Online

📅 २०८३ जेष्ठ २१

तीन महिनामा तीन वर्षीयादेखि ७० वर्षीयासम्म २१ जना बलात्कृत

सप्तरीमा आर्थिक वर्ष २०७५/०७६ को तीन महिनाको अवधिमा तीन वर्षीयादेखि ७० वर्षीयासम्म गरी २१ जना बलात्कार तथा यौन दुर्व्यवहारबाट पीडित भएका छन् ।

तीन महिनाको अवधिमा सप्तरीमा बलात्कारबाट १३ जना र बलात्कार प्रयास तथा यौन दुर्व्यवहारका आठ वटा उजुरी दर्ता भएकामा यौन दुर्व्यवहारबाट तीन वर्षीया बालिका र बलात्कारबाट ७० वर्षीया बृद्धा पीडित भएको सप्तरी प्रहरीले जनाएको छ ।

बलात्कारका १३ मध्ये आठ जना १८ वर्ष मुनिका रहेको र बाँकी २०, २२, २५, ४० र ७० वर्षीया महिला रहेको एसपी राजेन्द्र विष्टले बताए । बलात्कार प्रयासका आठमध्ये एक जना ३५ वर्षीया महिला र बाँकी सात जना बालिका रहेका छन् ।

बलात्कारका आरोपित १८ जना १६ वर्षीयदेखि ६५ वर्षसम्मका रहेका छन् भने बलात्कार प्रयास तथा यौन दुर्व्यवहारका आठ जना पनि १६ वर्षीयदेखि ६५ वर्षसम्मको नै रहेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

बलात्कारका आरोपितमध्ये ६ जना पुर्पक्षका लागि कारागारमा थुनामा र तीन जना पक्राउ परेका छन् । एक आरोपित उच्च अदालत राजविराज इजलाशको आदेशमा रिहा भएका छन् भने आठ जना फरार रहेका छन् ।

यसैगरी बलात्कार प्रयास तथा यौन दुर्व्यवहारका आठ आरोपितमध्ये एक जना पुर्पक्षका लागि थुनामा छन्, चार जना धरौटीमा रिहा भएका छन भने तीन जना फरार रहेका छन् ।

घटनाका आरोपितमध्ये अधिकांश छिमेकी र नजिकका नातेदार रहेका छन् । अधिकांश आरोपितहरूले बालिकाहरूलाई प्रलोभन, डर, त्रासमा पारेर यौन दुर्व्यवहार तथा बलात्कार गर्ने गरेको पाइएको एसपी विष्टले बताए ।

अन्य

भिडियो