अखाद्य वस्तु नियन्त्रणका लागि बजार अनुगमनलाई नियमित बनाउनुपर्नेमा एक कार्यक्रममा सरोकारवालाहरूले जोड दिएका छन् ।
३८ औँ विश्व खाद्य दिवसको सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोगको सहकार्य इन्सेक, फियान, उच्च अदालत बार, एफडब्लुएलडी, उपभोक्ता हित संरक्षण मञ्चलगायतका सङ्घ संस्थाहरूको संयुक्त आयोजनामा असोज २६ गते ‘हाम्रो पहल भोकमुक्त विश्व २०३०’ विषयक अन्तक्रिया कार्यक्रमका सहभागीहरूले सो विषयमा जोड दिएका हुन् ।
प्रदेश ५ का प्रदेश सभा सांसद कृष्णा के सी (नमूना)ले तराईमा हजारौँ बिगहा उब्जाउ जमीन बाँझो रहेकाले त्यसलाई कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्ने विषयमा छलफल आवश्यक रहेको बताइन् ।
उनले किसानहरूलाई सरल सहज रूपमा बीउ बीजन तथा मलखाद उपलब्ध गराउन प्रदेश तथा केन्द्रीय तहमा पहल गर्ने प्रतिबद्धता जनाइन् । केसीले अन्तराष्ट्रिय नारा पूरा गर्न खाद्य वस्तुको उत्पादनमा वृद्धि गर्नुपर्ने धारणा राखिन् ।
इन्सेक प्रदेश ५ कार्यालयका संयोजक भोला महतले ‘हाम्रो पहल भोकमुक्त विश्व २०३०’ अभियान अनुसार सबै मिलेर राष्ट्रलाई भोकमुक्त बनाउन लागि पर्नुपर्ने बताए ।
उपभोक्ता हित सङरक्षण मञ्चका अध्यक्ष बसन्त गौतमले अनुगमनको क्रममा म्याद नाघेका वस्तुहरू भेटिएकाले उपभोक्ताहरूको अधिकार सुनिश्चित गर्न र स्वस्थकर खाद्य वस्तु उपलब्ध गराउन राज्यले निगरानी गर्नु पर्नेमा जोड दिए ।
यसैबिच खाद्य अधिकारको सवालमा समाचार सम्पे्रषण गरेको भन्दै दैनिक नेपालगञ्जका सम्पादक झलक गैरेलाई खाद्य अधिकार सञ्जालले सम्मान गरेको छ । पत्रकार गैरेले सम्मानले खाद्य अधिकारको क्षेत्रमा कलम चलाउन थप हौसला प्रदान गरेको बताए ।


