भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि राहत नपाएको भन्दै स्याङ्जा जिल्लाका भूकम्प पीडितहरूले गुनासो गरेका छन् ।
वालिङ नपा–४ एलादीका लोकनाथ खनालले घटनाको साढे तीन वर्ष बितिसक्दा पनि पहिलो किस्ता समेत नपाएको बताए ।
‘भूकम्पले घर भत्कियो । छाप्रो बनाएर बसेको यतिका समय भइसक्यो । अहिलेसम्म राहत पाएको छैन ।’–उनले भने–‘पाँचजनाको परिवार छ । छाप्रोमा बर्खा भरी पानी चुहिने समस्या हुन्छ । अब जाडोको मौसममा चिसोले छाप्रोमा बस्न सकिँदैन । हामी भूकम्पकै कारण पीडित भएपनि अवस्था हेर्न र राहत दिन कोही आएनन् । घर पुर्ण रूपमा क्षतिग्रस्त भएपनि राहत पाएको छैन । दुख बुझ्ने कोही भएन । घर पूर्ण क्षतिमा परेको छ । तर, राहात अहिलेसम्म पाएको छैन ।’
राहतका बारेमा बुझ्न नगरपालिकाको कार्यालय जाँदा दर्ता नम्बर नमिलेको भनेर फर्काउने गरेको खनालले गुनासो गरे ।
गल्याङ नपा– १० का ज्ञानप्रसाद रेग्मीले पहिलो किस्ता बापत् राहत रकम लिएको भएपनि दोस्रो किस्ता नपाएको बताए । ‘राहतका लागि नगरपालिकामा जाँदा एक हप्तामा हुन्छ भन्छन् । तर, त्यो हप्तादिन कहिल्यै आउने भएन । जसोतसो गरी घर त बनाइयो तर सरकारले दिने भनेको राहत पाउन निकै गार्हो भयो ।’–उनले भने ।
वालिङ नपा– १२ का हुमनाथ पराजुलीले पनि राहतको पहिलो किस्तासमेत नपाएको गुनासो गरेका छन् । उनले भने–‘घर पूर्ण रूपमा क्षति भएपछि जसोतसो गरी घर बनाएँ । मसँग रातो कार्ड पनि छ । राहत रकमको पहिलो किस्ता समेत अहिलेसम्म पाइनँ ।’
स्याङ्जा जिल्लामा ९ हजार ३ सय ३३ भूकम्प पीडित रहेकामा ८ हजार ७ सय ६६ पूर्ण क्षति र ५ सय ६७ आंशिक क्षतिग्रस्त रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला कार्यालयले जनाएको छ । भूकम्प पीडितमध्ये ५ सय जनाले विभिन्न कारणले पहिलो किस्ता नपाएको पनि कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख, प्रविन ढकालले केही पीडितले लाभाग्राही सम्झौता नगरेको र केही लाभाग्राहीको नम्बर जुधेकाले पनि समस्या भएको बताउँदै सम्झौता भइसकेर पहिलो किस्ता नपाएका लाभाग्राहीलाई कार्यालयमा आउन आग्रह गरेका छन् ।
सरकार स्थानीय तहलाई नै यसको जिम्मा दिने तयारीमा रहेकाले अब नयाँ कार्यविधि पारित भएपछि दशैँ पछाडि सहज रूपमा भूकम्प पीडितले राहत रकम पाउने ढकालको भनाई छ ।
वालिङ नगरपालिकाका सामाजिक शाखा अधिकृत पदमप्रसाद पाण्डेले भूकम्पपीडितका समस्या प्राधिकरणमा पठाएको र प्राधिकरणले समस्याका सम्बोधन गरेपछि पीडितले राहत पाउने बताए ।