विष्णुपुर गाउँपालिका-३ की ५१ वर्षीया पारुल माली, सोही ठाउँकी ३३ वर्षीया अनुरागीदेवी मालिन र ३३ वर्षीया सुनीतादेवी मालिनलाई कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले बिष्णुपुर गाउँपालिका-३ का ४५ वर्षीय सियाराम यादवलाई असोज १७ गते गिरफ्तार गरेको छ ।
पीडितहरू पारुल र अनुरागीदेवीले दिएको उजुरीमा जिल्ला सरकारी वकिल कार्यालयले असोज १ गते आवश्यक कारवाहीका लागि पत्र पठाएपछि जिल्ला प्रहरी कार्यालयले असोज ११ गते दर्ता गरेको थियो ।
उजुरीकर्ताहरूले आफूहरू उपचार गरी घर फर्किएको र अर्का घाइते सुनीतादेवीको हालसम्म भारतको दरभङ्गा लहरियासरायमा उपचार भइरहेको बताए ।
आरोपित यादवसहित उनकी पत्नी ४० वर्षीया अमलादेवी मालिन, ४५ वर्षीय टिकालाल मण्डल र ४३ वर्षीय लक्ष्मी मण्डलले उनीहरूका घरमा कोही बिरामी पर्नासाथ धामीझाँक्री बोलाई पूजा थापी आफूहरूलाई ‘बोक्सी’को आरोप लगाई गाउँनिकालाको प्रयास गर्दै आएकोमा भदौ ३० गते ‘बोक्सी’को झुठा आरोप लगाई स्काभेटरले घर भत्काएर गाउँनिकालाको प्रयास गरेको पीडित अनुरागीदेवीले बताइन् ।
प्रहरीले बोलाएपछि जिल्ला प्रहरी कार्यालय आएका बेला गिरफ्तारीमा परेका यादवले जग्गाजमीनको विवादमा आपसमा भएको झगडालाई अर्कै रुप दिई झुठा उजुरी दर्ता गरिएको बताए । घटनामा संलग्न अन्य आरोपितहरू गिरफ्तार भएका छैनन् ।