इन्सेक गण्डकी प्रदेश कार्यालय, मानव अधिकारका लागी युवा समूह, राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालय र पिपल्स फोरम नेपालको आयोजना बढ्दो महिला तथा बालिका हिंसाको न्यूनीकरण विषयक अन्तरक्रिया कार्यक्रम असोज १६ गते पोखरामा गरिएको छ ।
कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश प्रमुख दिपकध्वज जङ्ग कार्कीले महिला हिंसा न्यूनीकरण गर्न युवा विद्यार्थीको भूमिका महत्वपूर्ण हुने बताए ।

‘हिंसा भएपछि कानुनी कारवाही अवश्य हुन्छ त्यो भन्दा पनि हिंसा हुनै नदिन के गर्ने भन्ने महत्वपूर्ण विषय हो ।’-उनले भने । हिंसा न्यूनीकरणमा युवा विद्यार्थीहरूको सक्रियता र जिम्मेवारी बोधले ठूलो भूमिका खेल्ने कार्कीको भनाइ थियो ।
उनले संविधान सबै नागरिकको पहुँचमा पुग्न नसकेकै कारण कार्यान्वयनमा समस्या देखिएको बताए । ‘संविधान राम्रो बनेको छ तर त्यसमा के छ ? भनेर सामान्य नागरिकले थाहा पाउन सकेनन् जसकारण संविधानको सफल कार्यन्वयन गर्न कठिनाइ भइरहेको छ ।’-उनले भने ।

इन्सेक गण्डकी प्रदेश संयोजक शिवप्रसाद खकुरेलले मानव अधिकारमैत्री समाज निर्माण गर्न युवा विद्यार्थीको भूमिका महत्वपूर्ण रहने भएका कारण हरेक विद्यार्थीले परिवार तथा टोल छिमेकमा आफूले जानेका मानव अधिकारसम्बन्धी विषयवस्तु अरूलाई पनि सिकाउनुपर्ने बताए ।
अधिवक्ता भुवन पराजुलीले नागरिकहरूमा कानुनी ज्ञान बढेका कारण अहिले धेरै प्रकाश भइरहेको बताइन् । ‘पहिले मिलाउने मिल्ने भन्ने हुन्थ्यो । अहिले बिस्तारै कानुनी ज्ञान बढ्दै आएको छ । जसले घटनाहरू बाहिर आउन थालेका छन् हिंसा बढेको भन्दा पनि कानुनी ज्ञान बढेको देखिन्छ ।’-उनले भनिन् ।