बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका आयुक्त एवम् प्रवक्ता डाक्टर विष्णु पाठकले सरकारले बेपत्ता पारिएका व्यक्तिहरूका सबै प्रमाण नष्ट गरेर आयोगलाई छानविनको काम जिम्मा लगाएको आरोप लगाएका छन् ।
रामेछापको सदरमुकाम मन्थलीमा भदौ ८ गते आयोगले आयोजना गरको बेपत्ता पारिएकाहरूका आफन्त तथा सरोकारवालाहरूसँगको छलफल कार्यक्रममा पाठकले सो कुरा बताएका हुन् ।
पाठकले द्वन्द्वको बेलामा शक्तिमा भएकाहरूको नेपालको राजनीतिमा हालिमुहाली हुँदासम्म पीडितले न्याय पाउने कुरा जटिल भए पनि आयोगले सत्यतथ्य भने सार्वजनिक गरेरै छाड्ने बताए ।
उनले देशभरिबाट ३ हजार भन्दा बढी बेपत्ता पारिएको भन्ने उजुरी आयोगमा आएको भदै अयोगले हालसम्म चार वटा काम सम्पन्न गरेको बताए । आयोगले देशभरिबाट उजुरी लिने र उजुरी माथि प्रारम्भिक कारबाही गर्ने काम पुरा गरिसकेको उनले बताए । पाठकले अब आयोग उजुरी माथि विस्तृत छानविनमा लागेको प्रष्ट पारे ।
हालसम्म आयोगले तथ्य सङ्कलनको काम नै गरिरहेकाले काम नगरेको जस्तो देखिए पनि धेरै काम भइसकेको उनले बताए ।
कार्यक्रममा बेपत्ता पारिएका परिवारका आफन्तहरूले आफन्तहरू मरे बाँचेको पत्ता लगाई दिन आग्रह गरेका थिए ।