निर्मला पन्तको हत्यामा संलग्न भएको भन्दै दिलिप विष्टलाई गिरफ्तार गरी सार्वजनिक गरेपछि वास्तविक दोषीलाई प्रहरीले उम्काउन खोजेको आरोपसहित भइरहेको प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबिच झडप बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरले भदौ ७ गते साँझबाट अर्को आदेश जारी नभएसम्म कर्फ्यु आदेश जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले ‘निर्मला हत्या घटनाका नाममा आन्दोलन भइरहेको र आन्दोलनले उग्ररूप लिई सार्वजनिक र सरकारी सम्पत्तिलाई क्षति पुर्याउन सक्ने र अराजक भीडले शान्ति भङ्ग हुन जाने स्थिति सिर्जना हुन गएको’ भन्दै आज साँझ ५ बजेबाट भोलि बिहान ५ बजे सम्म कर्फ्यु आदेश जारी गरेको जनाएको छ ।
भीमदत्त नगरपालिकाको वडा नं ३, ४, ६ र १८ का महेन्द्रनगर बजार नजिकको क्षेत्रमा कर्फ्यु आदेश गरेको सूचना जारी गरिएको छ ।
भदौ ७ गते दिउँसो प्रदर्शनकारी र प्रहरीबिच झडप भएपछि प्रहरीले गोली प्रहार गर्दा भिमदत्त नपा–२ का अर्जुन भण्डारा, भिमदत्त नपा–३ का तेज भट्ट, वेदकोट नपा–७ का तिर्थराज पनेरु र कैलालीका सन्तोष कठरीया घाइते भएका थिए ।
कर्फ्यु आदेशपछि महेन्द्रनगर बजार सुनसान हुनुका साथै स्थानीयबासी त्रसित भएका छन् । कर्फ्युका कारण भारतका विभिन्न स्थानबाट गड्डाचौकी नाकाबाट नेपाल आउने यात्रुहरू अलपत्र परेका छन् । कर्फ्युका कारण आम सर्वसाधारणको जनजीवन प्रभावित भएको छ ।
