कमैया मुक्त भएको दिन साउन २ गतेलाई उत्सवका रूपमा १९ औँ मुक्त कमैया दिवसको रूपमा मनाइरहँदा उनीहरूले मुक्त कमैयाको कागजी रूपमा मात्र पुनःस्थापना भएको गुनासो गरेका छन् । मुक्त भएका कमैयाले आफूहरूको आधारभुत आवश्यकताको धरातलमा उभिएर सरकारले पुनःस्थापना गर्न चासो नदिएकोमा आक्रोश पनि व्यक्त गरेका छन् ।
गुलरियामा साउन २ गते गरिएको कार्यक्रममा इन्सेकलगायत मुक्तकमैया, सुकुमबासीहरूको सवालमा काम गर्ने सङ्घसंस्थाहरूले बर्दिया जिल्लामा मुक्त कमैया तथा सुकमबासीहरूले भोग्दै आएका समस्यालाई मागको रूपमा प्रदेश ५ का मुख्य मन्त्री शङ्करप्रसाद पोखरेललाई ज्ञापन पत्र बुझाएका छन् ।
यस वर्ष मुक्त कमैया दिवसका दिन आययोजित कार्यक्रम प्रदेश सरकारको भूमि, कृषि तथा सहकारी मन्त्रालय र जिल्ला समन्वय समिति बर्दियाको आयोजना र इन्सेक तथा मुक्त कमैया तथा सकुमबासीहरूको सवालमा काम गर्ने सङ्गठनहरूको व्यवस्थापनमा गरिएको हो ।
मुक्त कमैया समाजका केन्द्रीय सदस्य तथा महिला जागरण समाजकी केन्द्रीय अध्यक्ष विष्णी थारू भन्छिन्–‘सरकारले कागजी रूपमा मुक्त कमैया पुनःस्थापना सकिएको भन्दै टुङ्ग्याउने प्रक्रियामा रहेको भएपनि वास्तविक र व्यवहारिक रूपमा पुनःस्थापना हुन सकेको छैन ।’
मुक्त कमैयाहरूलाई पुनःस्थापना गर्न दिएका जग्गा नदी किनारमा घर हुनेको जग्गा कटान भई करिब २ सय परिवारले जग्गा सट्टा भर्ना पाएका छैनन् । घर बनाउन अझै धेरै परिवारले काठ पाएका छैनन् । सुकुमबासीहरू बसेका जग्गामा मुक्त कमैयाहरूलाई जग्गा कित्ताकाट गरिँदा विवाद भई थप समस्या देखिएको छ ।
मुक्त कमैया पुनःस्थापना तथा जिवीकोपार्जनसँगको समस्यालाई समाधान गर्न मुक्त कमैया दिवस कार्यक्रममा प्रदेश ५का मुख्य मन्त्री शङ्कर पोखरेलले आफू र आफ्नो सरकार तत्पर रहेको बताए ।
ज्ञापन पत्रको रूपमा आएका मुक्त कमैया, सुकुमबासीहरूको समस्यालाई पछिका दिनमा उठाउन नपर्ने गरी योजना बनाएर समाधानका लागि काम सुरू गरिसकेको र आगामी वर्षको नीति तथा कार्यक्रममा पनि समेटेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
२०५७ साल साउन २ गते तत्कालीन सरकारले कमैयाहरूलाई मुक्तिको घोषणा गर्दा बर्दिया जिल्लामा ६ हजार ९ सय ४९ जना कमैया सङ्ख्या रहेकामा २०६९ सालमा छुट भएकाहरूको सङ्ख्या सङ्कलन गर्दा ९ हजार २ सय ४९ जना थपिएर कुल १६ हजार १ सय ९८ मुक्त कमैया परिवार पुगेको थियो ।
बर्दिया जिल्लामा सङ्कलित नामावलीमध्ये जिल्ला भूमिसुधार कार्यालयबाट छानबिन गरी जम्मा ११ हजार ८ सय ७५ जना मुक्त कमैयालाई पुनःस्थापना गर्ने मुक्त कमैया पुनःस्थापना समितिले ठहर गरेको थियो ।
जसमध्ये परिचयपत्र दिएका मुक्तकमैयाको सङ्ख्या १० हजार ७ सय ९७ रहेको छ । तिमध्ये हाल सम्म १० हजार ७ सय १४ जनाको पुनःस्थापना भइसकेको र ८३ जना मात्र बाँकी रहेको बर्दिया जिल्ला भूमिसुधार कार्यालयका ओम ज्ञवालीले बताए ।
त्यसैगरी हालसम्म २ हजार ३ सय २८ जनाले काठ प्राप्त गरेका र २ हजार १ सय ८८ जनालाई काठ वापत प्रतिपरिवार १ लाख रुपियाँका दरले रकम प्रदान गरिएको छ ।
यस वर्ष घर निर्माण वापत १ लाख रुपियाँका दरले ३ सय ७८ जना, १० हजार रुपियाँका दरले १ हजार १ सय ९७ जना, ५५ हजार रुपियाँका दरले १५ जना र ८ हजार रुपियाँका दरले १ जना र २ हजार रुपियाँका दरले २ सय ३९ जनाले रकम प्राप्त गरेका छन् ।
यस वर्ष ३८ जनालाई जग्गा खरिद गरी पुनःस्थापना गरिएको छ । सरकारले मुक्त कमैयालाई ६ महिनाभित्र घरबासका लागि ५ कठ्ठा सम्मको जग्गा, घर बनाउनको लागि १० हजार रुपियाँ तथा ३५ क्युफिट काठ उपलब्ध गराउने घोषणा गरेको थियो ।
साथै जिविकोपार्जनका लागि वित्तिय सहयोग पुर्याउने घोषणा गरेको थियो । कमैया मुक्त घोषणा गरिएको १८ वर्ष पुगिसक्दा पनि सरकारले आफ्नो वचनबद्धताहरू पूरा गर्न सकेको छैन ।