बोदे बर्साइन नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत उमेशकुमार यादवलाई बोदे बर्साइन नपा–५ का महेश यादवले जेठ २२ गते कुटपिट तथा दुर्व्यवहार गरेका छन् ।
विद्युतीकरणका लागि गठित उपभोक्ता समितिका अध्यक्ष समेत रहेका महेश यादवले हातपात र गालीगलौज गरेको निमित्त प्रशासकीय अधिकृत यादवले बताए ।
कूल ५ लाख रुपियाँमा भएको विद्युतीकरणको कामका लागि धरौटीबापत नगरपालिकाको खातामा राखिएको २० प्रतिशत रकम फिर्ता माग्न जाँदा भएको विवादका क्रममा हातपात भएको जनाइएको छ । नगरपालिका कार्यालयले दिएको चेकमा त्रुटी भई रकम निकासा नभएपछि आक्रोशित महेश यादवले आफूमाथि हातपात र गालीगलौज गरेको अधिकृत यादवले बताए ।
अधिकृत यादवमाथि कुटपिट भएपछि नगरपालिकासहित सबै वडा कार्यालयको कामकाज जेठ २३ गतेदेखि ठप्प पार्ने कर्मचारीले बताएका छन् । अधिकृत यादवले सम्पूर्ण वडाको कामकाज ठप्प पार्न सबै वडा कार्यालयहरूमा पत्राचारसमेत गरेका छन् ।
नगरपालिकाका प्रमुख आतेशकुमार यादवले सामान्य विषयलाई बढाईचढाई प्रचार गरिएको भन्दै कार्यालयको कामकाज सञ्चालन भइरहेको दावी गरेका छन् ।