INSEC Online

📅 २०८३ जेष्ठ २१

मापदण्ड पुरा नगरी सञ्चालन गरेको बालगृह बाट नौ बालबालिकाको उद्धार

पोखरा-लेखनाथ महानगरपालिका-६ स्थित मापदण्ड पुरा नगरी सञ्चालनमा रहेको एक बालगृहबाट नौ जना बालबालिकाको उद्धार गरी पुनर्स्थापना गरिएको छ ।

ज्योति गुरुङ अध्यक्ष रहेको न्यु भिजन बालगृहको नामले संञ्चालित उक्त बालगृहमा रहेका बालबालिका जोखिममा रहेको भन्दै पाँच बालक र चार बालिका गरी नौ जनालाई जेठ ५ गते उद्धार गरिएको हो ।

बालबालिकालाई जिल्ला प्रशासन कार्यालय कास्की, महिला तथा बालबालिका कार्यालय कास्की, केन्द्रिय बालकल्याण समिति, राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक पोखरा कार्यालय, थ्रि एन्जल्स नेपाल, प्रहरी, पत्रकारलगाएतको टोलीले पीडित बालबालिकाको उद्धार गरी कास्कीकै एक बालगृहमा पुनर्स्थापना गरिएको महिला तथा बालबालिका कार्यालय कास्कीकी प्रमुख तुलसा अर्यालले बताइन् ।

अवैध रूपमा बालगृह सञ्चालनमा आएको साथै आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी ७८ वटा मापदण्डमध्ये न्युनतम मापदण्डसमेत पुरा नगरी दुई महिनादेखि बालबालिकालाई संस्थागत संरक्षणमा राखेको, जिल्ला बालकल्याण समितिाबाट बालगृह सञ्चालन अनुमतिपत्र नरहेको र ०७२ असार मसान्तपछि संस्था नविकरणसमेत नभएको बताउँदै उक्त बालगृहमा रहेका बालबालिकालाई उद्धार गर्नु परेको केन्द्रिय बालकल्याण समितिका स्रोत व्यक्ति बद्रीप्रसाद वाग्लेले बताए ।

अन्य

भिडियो