५५ वर्षीया महिलालाई वैशाख २२ गते बलात्कार गरेको आरोपमा गजुरी गाउँपालिका-५ का ३५ वर्षीय किरण बस्नेतविरुद्ध पीडित पक्षले जेठ १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ ।
अपाङ्गता भएकी पीडित महिलालाई बलात्कार गरेको भनी प्रहरीमा उजुरी आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामबहादुर केसीले बताए ।
पीडित पक्षले वैशाख २२ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएको भएपनि जिल्ला प्रहरी कार्यालयमा फाइल नपठाएका कारण उजुरी दर्तामा ढिलाइ भएको हो । प्रहरीले पीडित पक्ष सम्पर्कमा नआएकोले ढिलाइ भएको जनाएको छ ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ १ गते जिल्ला अस्पतालमा गरिएको छ । आरोपितलाई अनुसन्धानका लागि वैशाख ३१ गते गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी १५ वर्षीया बालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा २० वर्षीय काकाविरुद्ध जेठ १ गते जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले उजुरी दिएको छ ।
०७४ कार्तिकदेखि पटकपटक बलात्कार गर्दै आएको र ०७४ चैत २५ गते पीडित बालिकाको चेकजाँच गर्दा बालिकाको पेटमा तीन महिलनाको बच्चा समेत रहेको पाइएकाले आरोपिलाई हदैसम्मको कारबाही गर्न माग गर्दै उजुरी दिएको पीडित पक्षले जनायो ।
आरोपितलाई अनुसन्धानका लागि प्रहरीले जेठ १ गते गिरफ्तार गरेको जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १ गते जिल्ला अस्पतालमा गरिएको छ ।