अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा तानसेन नगरपालिका-६ कुनसरेको कुनसरे आधारभुत विद्यालयमा अध्ययनरत विपन्न समुदायका १८ जना विद्यार्थीलाई अङ्ग्रेजी माध्यमका पुस्तक र झोला वितरण गरिएको छ ।
पाल्पाली सेवा समाज दोहा कतारले उक्त सहयोग उपलब्ध गराएको हो । विद्यालयले कक्षा १ देखि ५ सम्म अहिले अङ्ग्रेजी माध्यमबाट पढाई सुरू गरेको छ । तर, सरकारले नेपाली माध्यमका पुस्तक मात्रै उपलब्ध गराउँदै आएको छ । अङ्ग्रेजी माध्यमको पुस्तकका लागि अभिभावकहरूले अतिरिक्त पैसा तिर्नुपर्ने भएकोले विपन्न समुदायलाई अप्ठेरो भएको थियो ।

विद्यालयसँगको समन्वयमा इन्सेक जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाले पाल्पाली सेवा समाज दोहा कतारमा सम्पर्क गरी सहयोगका लागि अनुरोध गरेका थिए । वैशाख २७ गते विद्यालयमा एक कार्यक्रमकाबिच उक्त सहयोग हस्तान्तरण गरिएको छ ।
उक्त अवसरमा १८ जना विद्यार्थीको पुस्तक खरिदका लागि नगद २५ हजार, १८ जना विद्यार्थीलाई झोला र चार जना विद्यार्थीलाई पोशाक समेत उपलब्ध गराइएको छ ।

सहयोग हस्तान्तरण गर्दै पाल्पाली सेवा समाज कतारका अध्यक्ष इश्वर काफ्लेले यस प्रकारको सहयोगलाई आगामी वर्षपनि निरन्तरता दिने बताए । सचिव रामलाल खाती, कोषाध्यक्ष मिनबहादुर सारुले यसप्रकारको अभियानलाई अन्य विद्यालयहरूमा पनि सञ्चालन गरिने बताए । सो अवसरमा कोषाध्यक्ष मिनबहादुर सारुले ब्यक्तिगत रूपमा विद्यालयका लागि १ थान कम्प्युटर प्रदान गर्ने बताए ।

विद्यालयका प्रधानाध्यापक राजेन्द्रप्रसाद बस्यालले विद्यालय, विद्यार्थीहरूको अवस्थाबारे जानकारी गराए । उनले सहयोग गर्ने संस्थाप्रति धन्यवाद ज्ञापन गर्दै यस्ता खालका सहयोगले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई विद्यालयसम्म ल्याउन र उनीहरूलाई विद्यालयमा टिकाउन सहयोग पुर्याउने बताए ।
