२०७१ असोज २७ गते
न्यायिक समिति गठन गर्न माग
प्रेस विज्ञप्ति
बारा जिल्लाको सिम्रौनगढमा असोज २५ गते प्रहरीको गोली प्रहारबाट हरिहरपुर गाविस-७ का जयनारायण पटेलको मृत्यु भएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । मृतकका परिवार तथा आफन्तजनसमक्ष हामी हार्दिक समवेदना व्यक्त गर्दछौँ ।
स्थानीय विद्यार्थीहरूले सडक मर्मतको माग राखेर तीन दिनदेखि यातायातमा अवरोध पुर्याएको आरोपमा असोज २४ गते विद्यार्थीहरूलाई कुटपिट गरी एक विद्यार्थीलाई गिरफ्तार गरेपछि प्रहरी र स्थानीय बासिन्दाबीच झडप हुँदा प्रहरीले हवाइफायर तथा अश्रुग्याँस प्रहार गरेको थियो ।
अघिल्लो दिन भएको उक्त घटनाप्रति स्थानीय प्रशासन गम्भीर हुन नसकेको एवम् भीड नियन्त्रण गर्न अन्य उपायहरू अपनाउनुको साटो एकाएक गोली प्रहार गरिएका कारण एक नागरिकको मृत्यु हुन गएको प्रारम्भिक छानबिनको क्रममा इन्सेकलाई जानकारी प्राप्त भएको छ ।
यस घटनाको न्यायिक समितिमार्फत सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न, पीडितपक्षलाई क्षतिपूर्ति तथा घाइतेहरूको सम्पूर्ण उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गर्दछौँ ।

विजयराज गौतम
कार्यकारी निर्देशक