२०७१ माघ ५ गते
प्रेस विज्ञप्ति
पाँचजना नेपालीको जीवन रक्षाका लागि पहल गर्न माग
हिजो माघ ४ गते इन्डोनेसियाली सरकारले पाँचजना विदेशीसहित छ जनालाई मृत्युदण्ड कार्यान्वयन गरिएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
इन्सेकलाई प्राप्त जानकारीअनुसार उस्तै अपराधमा नेपालका बहर तामाङ, वीरबहादुर गुरुङ, इन्द्रबहादुर तामाङ,नरबहादुर तामाङ र तिलबहादुर भण्डारीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । आफ्ना यी पाँचजना नागरिकहरूको जीवन रक्षाका लागि यथाशीघ्र कुटनीतिक पहल गर्न हामी नेपाल सरकारसँग माग गर्दछौँ । नेपालले मृत्युदण्ड उन्मूलन घोषणामा हस्ताक्षर गरेकाले यो सरकारको नैतिक दायित्व पनि हो ।
सन् २०१३ भन्दा अघिल्ला पाँच वर्षसम्म इन्डोनेसियामा कुनै पनि अपराधमा मृत्युदण्ड दिने गरिएको थिएन । हाल आएर पुनः यस्तो दुःखद् अभ्यास शुरु गरिएकोमा स्थानीय मानवअधिकार संस्थाहरूले पनि विरोध जनाउँदै आएका छन् । हिजो आफ्ना नागरिकलाई मृत्युदण्ड दिएको घटनाको विरोधमा ब्राजिल र नेदरल्याण्डले आ-आफ्ना राजदूत फिर्ता बोलाइसकेका छन् ।

सुबोधराज प्याकुरेल
अध्यक्ष