विनाशकारी भूकम्प गएको तीन वर्ष बित्दासमेत भूकम्प पीडित पालमुनी नै जीवन गुजार्न बाध्य भएका छन् । ०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ म्याग्निच्युडको भूकम्प र त्यसपछि पटकपटक गएको पराकम्पनले खोटाङमा ठूलो क्षति भएको छ ।
भूकम्पमा झण्डै ९ हजार नागरिकले ज्यान गुमाएका थिए भने हजारौँ घाइते भएका थिए । ७ लाख ६७ हजार घर भत्किएका थिए भने ७ सय ५३ वटा पुरातात्विक संरचनामा क्षति पुगेको थियो ।
तर, भूकम्पपछिको पुननिर्माणको कामले गति नलिँदा स्थानीय भूकम्पपीडित समस्यामा नै रहिरहेका हुन् । अलिअलि सुरूगरिएका काम पनि विभिन्न बहानामा गति लिन सकेका छैनन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार भूकम्पपछिको यो तीन वर्षमा लक्ष्य लिएकामध्ये पुनर्निर्माणको काम आधामात्रै सकिएको छ ।
पाँच वर्ष कार्यकाल रहेको प्राधिकरणले २८ महिना गुजारी सक्दा काम सन्तोषजनक नभएको गुनासो सर्वत्र छ । कार्यकालको आधा समय गुजारी सक्दा पनि प्राधिकरण कार्यविधि र बजेट अख्तियारीमै अड्किएको छ । यो तीन वर्षमा प्राधिकरणको काम शून्य हैन तर सन्तोषजनक पनि छैन ।
बाँकी ३२ महिनामा त्रिपालमुनी रहेका सबै पीडितलाई भरपर्दो ओतको व्यवस्था गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकारण वायुपङ्खी घोडा जस्तै दौडन आवश्यक छ । भूकम्पले खोटाङमा क्षति पुर्यायो, त्यो भूकम्प र पराकम्पनका कारण बनेका जिल्लाका ८ हजार ४ सय ४३ घरपरिवारले हालसम्म पनि आवास निर्माण पूरा गर्न सकेका छैनन् । कहिले प्राविधिक नआएको समस्या त कहिले आवासबापतको रकम समयमा निकास नदिएका कारण भूकम्पपीडितहरू तीन वर्षदेखि कष्टकर जीवन निर्वाहा गर्दै आएका छन् ।
जिल्लाका भूकम्पपीडितहरूले पहिलो किस्ताबापतको रकम पाएर पनि आधा घर निर्माण गरेका छन् । तर, समयमा प्राविधिकहरू गाउँगाउँमा नपुगेका कारण उनीहरूलाई दोस्रो किस्ता बापतको रकम लिन सकस परेको छ । विदेशमा रहेका घरमुलीको नाममा आवास अनुदान सम्झौता गरेका, आवास अनुदान सम्झौतापछि विदेशिएका, अनुदान सम्झौतापछि मृत्यु भएका, बुढेसकालका कारण सदरमुकाममा रहेका बैङ्कसम्म आउन नसक्नेलगायतका समस्याका कारण कतिपय भूकम्प पीडित परिवारले हालसम्म आवास अनुदान बापतको पहिलो किस्ता पाउन सकेका छैनन् ।
भूकम्पबाट कम प्रभावित १७ जिल्लामध्ये खोटाङमा सबैभन्दा बढी आवास अनुदान वितरण भएको दावी गरिएको छ । लाभग्राहीलाई पहिलो किस्तामा ५० हजार रुपियाँ, डिपिसिको काम सकिएपछि दोस्रो किस्तामा १ लाख ५० हजार रुपियाँ र छाना हाल्ने बेलामा तेस्रो किस्ताबापत ७५ हजार रुपियाँ तथा शौचालय निर्माणपछि २५ हजार रुपियाँ रकम खातामा उपलब्ध गराइने भनिएको छ । भूकम्मका कारण खोटाङमा १३ हजार ७ सय ९९ घरमा क्षति पुगेको तथ्याङ्क छ ।