दाङमा रगत अभाव भएपछि बिरामीहरुलाई समस्या हुन थालेको छ । जिल्लाको घोराही, लमही र तुलसीपुरमा रहेका रक्त सञ्चार केन्द्रमा रगत सङ्कलन हुन नसकेपछि बिरामीलाई सोधभर्ना नगरी रगत दिन नसकिने अवस्था आएको रक्त सञ्चार केन्द्र घोराहीका इन्चार्ज दिलिप न्यौपानेले जानकारी दिनुभयो ।
‘चाडपर्वको समयमा रक्तदान गर्नेहरुको संख्या कमी भयो, तर बिरामीको संख्या झन बढ्दै गयो रक्त सञ्चार केन्द्र घोराहीका इन्चार्ज न्यौपानेले भन्नुभयो,–‘अहिले त तीन युनिट चाहिएका बिरामीलाई एक युनिट दिएर बाँकी दुई युनिट अनिवार्य शोधभर्ना गर्न भनेका छौं । रगतको कमी हुँदा समस्या भएको छ ।’ लुम्बिनी प्रदेश सरकारको सहयोगमा राप्ती प्रादेशिक अस्पताल र घोराही उपमहानगरपालिकाको सहयोगमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिरामीलाई निःशुल्क रगत उपलव्ध गराउँदै आएपनि अभाव भएपछि अनिवार्य सोधभर्ना गर्नुपर्ने नियम लगाएको इन्चार्ज न्यौपानेले बताउनुभयो ।
खपत भन्दा माग धेरै हुँदा रगत अभाव भएको रक्तसञ्चार केन्द्र लमहीका इन्चार्ज सीमा वलीले जानकारी दिनुभयो । रगत अभाव हुँदा बिरामीलाई रिफर गर्ने वा बाहिरबाट रगत ल्याएर उपचार गर्ने अवस्था आएको उहाँको भनाइ थियो । घोराहीमा महिनामा कम्तिमा ४ सय युनिट रगत खपत हुने गरेको छ भने तुलसीपुरमा मासिक २ सय र लमहीमा १ सय युनिटको हाराहारीमा औसतमा रगत खपत भइरहेको छ । तर रगत सङ्कलन माग अनुसार हुन नसकेको रक्त सञ्चार केन्द्रहरुले जनाएका छन् । नियमित रक्तदान गर्नेहरु कम रहेको र जन्मदिन, वैवाहिक वर्षगाँठलगायत विशेष सन्दर्भ पारेर रक्तदान गर्नेहरु धेरै भएकाले माग अनुसार नियमित रगत आपूर्ति हुन नसकेको रक्तसञ्चार केन्द्रहरुले जनाएका छन् । जिल्लाका तीन वटै रक्तसञ्चार केन्द्रहरुले रक्तदान गरेर बिरामीको जीवन बचाउन सबैमा अपिल समेत गरेका छन् ।
जयनारायण पुन