मोदी गाउँपालिकाले मानव अधिकारको अवस्था, शिक्षा, स्वास्थ्य, खानेपानी र खाद्य अधिकार कार्यान्वयनमा कसरी काम गरिरहेको छ त भन्ने सन्दर्भमा इन्सेक प्रतिनिधि अमृतप्रसाद पौडेलले गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति प्रमुख बिमल लामिछानेसँग गुर्नभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
गाउँपालिकामा मानव अधिकारको अवस्था कस्तो रहेको छ ? तपाईंहरुले बनाउने नीति तथा कार्यक्रमलाई मानव अधिकारमैत्री बनाउनका लागि कस्तो भुमिका खेल्नुभयो ?
हाम्रो गाउँपालिकाको सन्दर्भमा भन्नेहो भने मानव अधिकारको अवस्था विगतको तुलनामा सन्तोषजनक रहेको छ । तथापी महिला बालबालिकाहरुमाथि हुने विभिन्न खालका घरेलु हिंसा तथा यौनजन्य हिंसाका घटनाहरुको अवस्था पनि नदेखिने होइन तर पनि यस्ता घटनाहरु विगतको तुलनामा हेर्ने हो भने निकै कम छन् । हामीले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम एवम् बजेटमा पनि मानव अधिकार र लक्षित वर्गको लागि विशेष प्राथमिकता दिएरै पारीत गरेका छौं । मानव अधिकारको मूल्य र मान्यता सहितका विषयवस्तुहरु उठान गर्ने सवालमा अध्यक्षबाट पनि निकै ठूलो साथ र सहयोग पाएको अवस्थाले पनि यहाँ हामीलाई कुनै पनि प्रकारको समस्या छैन भन्दा फरक पर्दैन ।
गाउँपालिकाको न्यायिक समितिमा के कस्ता समस्याहरु आउने गरेका छन् ?
सामान्यतया न्यायिक समितिमा घरेलु झै–झगडाका उजुरीहरु धेरै आउने गरेका छन् । लेनदेनका पनि प्रसस्तै आउने गरेका छन् । खासगरी आर्थिक लेनदेनका विषयवस्तुहरु आउने गरेको र त्यसलाई सहज तबरले नै मिलाउने गरेको छु । यहाँ समस्या आएको खण्डमा मेलमिलापलाई प्राथमिकता दिएर अगाडी बढ्ने गरिएको छ । सकेसम्म अन्य कानुनी झमेला तिर जाने भन्दा पनि आफ्नै थातथलोमै बसेर मेलमिलाप गर्ने तर्फ हाम्रो लक्ष र उद्देश्य पनि हुने गरेको छ । यसले गर्दा हामी सबैले सहज तबरले नै काम गर्दै अगाडी बढ्ने गरेका छौं ।
न्याय सम्पादनमा केही असहज हुने गरेको छ कि छैन ? दवाव झेल्नु परेको अवस्था छ कि छैन ?
झै–झगडा मिलाउने भने पछि सजिलो हुने कुरा पक्कै पनि होइन । तर पनि मैले कहिल्यै पनि समस्या र असहजताको रुपमा लिएर काम गरेको छैन । अनि रह्यो दबाबको कुरा, मैले न्याय सम्पादन गर्दा कसैले पनि अन्याय परेको महसुस गर्दिन्न भने कसरी दबाब आउने । अनि अर्को कुरा हाम्रो अध्यक्षले पनि महिला तथा बालबालिका र लक्षित वर्गको काममा प्राथमिकता दिएर गर्नुहुन्छ । खासमा पालिकामा पनि कतिपय कामहरुमा मैले काम गर्ने भन्दा पनि उहाँकै उपस्थितिमा हुन्छन् कामहरु र त्यसरी हुँदा मैले केही गर्नै परेन भन्दा पनि फरक पर्दैन । किन भने महिलाले नेतृत्व गरेको नमुना गाउँपालिका हो हाम्रो ।
गाउँपालिकामा हुने कामहरुका लागि नीति, नियम तथा कानुन तथा बजेट बनाउने सन्दर्भमा के कस्तो भूमिकाहरु हुने गरेको छ ?
हामीले जनताका लागि गर्न चाहेको अर्थात् जनताका लागि आवश्यक पर्ने कानुन सबै सहज तरिकाले बन्ने गरेको छ । महिला तथा मानव अधिकारसँग सम्बन्धित कानुनका लागि मैले आग्रह मात्र गर्दा पनि सहज तबरले कानुनहरु निर्माण हुने गरेको छ । महिलाले नेतृत्व गरेको गाउँपालिका भएकोले पनि हुन सक्छ लक्षित वर्गका लागि हुने काम तथा उनीहरुका लागि योजनाहरु पनि पर्याप्त छन् । महिला मानव अधिकारका क्षेत्रमा बजेट ठुलै बनाइएको छ । सरसर्ती भन्ने हो भने विभिन्न शीर्षकहरुबाट ५० लाख रुपियाँ हाराहारीमा बार्षिक रुपमा बजेट खर्च हाम्रो गाउँपालिकामा हुने गरेको छ ।
उपाध्यक्ष हुँदै गर्दा कुनै सहज असहज केही महशुस भएको छ ?
सामान्यतया अन्यत्र अध्यक्ष पुरुष र उपाध्यक्ष महिला हुने गरेको जस्तो अभ्यास देखिएको भए पनि हामी हाम्रो पालिकामा त्यो भन्दा फरक देखिन्छौं । अध्यक्ष महिला हुनुहुन्छ र उपाध्यक्ष पुरुष हुँदा पनि कहीँ कतै समस्या छैन । कोही कसैले केही भन्लान् भन्दा पनि हामीले जनताको पक्षमा काम गर्नका लागि उपाध्यक्ष भन्दा पनि अध्यक्ष नै महिला हुँदा राम्रो र सजिलो हुने रहेछ । कानुन निर्माण होस या बजेट बिनियोजनका लागि अध्यक्षबाट पूर्ण रुपमा समर्थन मात्रै नभएर प्रस्ताव गरे भन्दा बढी नै बजेट बिनियोजन हुने पनि गरेको हुँदा हाम्रो पालिकामा महिला, बालबालिका, तथा लक्षित वर्गको क्षेत्रमा सहज तरिकाले काम हुने गरेको छ ।
शिक्षा, स्वास्थ्य र खानेपानीको अवस्था के कस्तो छ पालिकामा ?
हाम्रो मोदी गाउँपालिकामा हालसम्मको अवस्था हेर्दा खानेपानी सहज छ । घरमा सुत्केरी हुने शून्य हाम्रो लक्ष हो र हामी त्यसमा पनि प्रतिबद्ध छौं । कहिले काँही अस्पताल लैजादै गर्दा बाटैमा सुत्केरी भएको अवस्था भए पनि घरमा हुने छैनन् । भौतिक विकासले मात्र समृद्धि आउन सक्दैन भन्ने पनि हाम्रो सोँच हो । त्यसकारण भौतिक विकास र मानवीय विकासलाई सँगसँगै जोडेर अगाडि नीति, कार्यक्रम र बजेट बढाउन हामी सचेत छौँ । मानवीय विकासलाई सँगसँगै लैजाने खालका कार्यक्रमहरु हाम्रामाथि उल्लेख गरिएका सबै लक्षित वर्गहरुले अनुभूति गर्नुहुनेछ । शिक्षाको पनि नतिजाहरु हामीले सोचेको जस्तो आउने गरेका छन् ।