अधिकांश स्थानीय सरकारले आर्थिक वर्षको बजेट असारको १० गतेसम्म नीति तथा कार्यक्रम र बजेट नगरसभाबाट पास गरेपनि केही स्थानीय तहहरुको नगरसभा र गाउँसभा बाँकी रहेका छन् । सोही अनुसार कपिलवस्तु जिल्ला विजयनगर गाउँपालिकाको गाउँसभा हुने तयारीमा छ । यसै सन्दर्भमा विजयनगर गाउँपालिकाका आगामी नीति, योजना, कार्यक्रम र बजेटको अवस्था के कस्तो रहेको छ । मनसुन सक्रिय भइरहँदा स्थानीय सरकारले विपद् प्रतिकार्य योजना कसरी बनाएका छन् । वर्षातका कारण हुने बाढी पहिरो व्यवस्थापन, उद्धार र राहतका लागि विजयनगर गाउँपालिका कपिलवस्तुले के कस्ता नीति, योजना, कार्यक्रम र बजेट तर्जुमा गरेको छ । सो विषयमा विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापा मगरसँग इन्सेक कपिलवस्तु जिल्ला प्रतिनिधि रीमा बिसीले गरेको कुराकानीको सम्पादित अंशलाई यहाँ प्रस्तुत गरिएको छ ।
विजयनगर गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा के कस्ता नीति, योजना कार्यक्रम र बजेट तर्जुमा गरेको छ ?
विजयनगर गाउँपालिकाको आगामी नीति योजना तथा कार्यक्रमहरु मुख्यतया शिक्षा, स्वास्थ्यमा बढी केन्द्रित रहेको छ । तथापी पालिकाले विपद् व्यवस्थापन, भौतिक पूर्वाधार विकास र सामाजिक विकासका पक्षहरुलाई पनि प्राथमिकताका साथ अगाडी बढाएको छ ।
गाउँपालिकाले विपद् व्यवस्थापनका लागि के कस्ता नीति, योजना, बजेट, कार्यक्रम सहितको प्रतिकार्य योजना निर्माण गरेको छ ?
विजयनगर गाउँपालिकाका सबैभन्दा बढी प्राकृतिक जोखिम पर्ने स्थानीय तह मध्येको पालिका हो । यो पालिकामा वर्षायाममा नदी कटान, गर्मीयाममा आगलागी, चिसो समयमा शितलहर जस्ता प्राकृतिक विपद्हरु आउने गर्दछ । प्राकृतिक विपद् कस्तो खालको कति बेला आउँछ ठ्याक्कै जानकारी नहुने तर यसले जस्तोसुकै जोखिम पनि निम्त्याउन सक्ने भएकोले स्थानीय तहस्तरको विपद् व्यवस्थापन समितिको बैठक बसेर जोखिमका क्षेत्रहरूको पहिचान गर्ने, हुनसक्ने क्षतिको आँकलन गर्ने र जोखिम क्षेत्रका नागरिकहरूलाई कसरी सुरक्षित राख्न सकिन्छ, त्यस सम्बन्धी सूचनाहरू प्रवाह गर्ने गरेका छौँ । गाउँपालिकाले मानवीय विकास र भौतिक विकासलाई सँगसँगै लैजाने गरी अगाडि बढेका छौँ । विशेष गरी नीति, योजना, बजेट, कार्यक्रम बनाएर विपद्को सामाना गर्दैछौँ । भौतिक पूर्वाधार विकासमा नयाँ योजना खासै छैनन् पुरानालाई निरन्तरता दिने र मानवीय विकासको पक्षहरू जस्तै शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशिलता जस्ता विषयहरूमा लगानी बढाएका छौँ ।
विजयनगर गाउँपालिका क्षेत्रमा सबैभन्दा बढी जोखिम हुने क्षेत्रहरू कुन कुन हुन् ? तयारी के कस्तो रहेको छ ?
हाम्रो पालिकाभित्र सबैभन्दा बढी जोखिम क्षेत्र भनेको नदी कटान हो । यस क्षेत्रमा सुरही नदी, चिराई नदी र अररौ नदीको छेउछाउको क्षेत्र, कटान केही डुवानको समस्या भएका क्षेत्रहरू छन् । स्थानीय सरकारले सकेसम्म जोखिमलाई कसरी कम गर्न सकिन्छ र विपद्को जोखिमबाट नागरिकलाई कसरी जोगाउन सकिन्छ भन्ने विषयमा हामी सचेत छौँ । प्रत्येक वर्ष विपद व्यवस्थापन गर्नको लागि बजेट विनियोजन गर्ने गरेको र अहिले पनि विपद् व्यवस्थापनका लागि बजेट छुट्टाएका छौँ । विपद्प्रति कार्य योजना निर्माण गरेर अगाडी बढेका छौं । जिल्लास्तरको विपद् व्यवस्थापन समिति र स्थानीयस्तरको विपद व्यवस्थापन समितिको बैठक बसेर प्रतिकार्य योजना बनाउने आवश्यक उद्दार सामग्रीहरुको खरिद गरी तयारी अवस्थामा राख्ने लगायतका कामहरु भएका छन् ।
यहाँको पालिकामा विपद्लाई सामाना गर्नको लागि प्रदेश सरकार र सङ्घीय सरकारको समन्वय कस्तो रहेको छ ?
वास्तवमा भन्ने हो भने विपद् व्यवस्थापनका लागि प्रदेश सरकार र सङ्घीय सरकारको सामान्य सहकार्य मात्र हो । हाम्रो क्षेत्रमा कटानको समस्या भएकोले यसको जोखिम कम गर्नका लागि जति सहयोग गर्नुपर्ने हो त्यो हुन सकेको छैन ।
विजयनगर गाउँपालिका भित्र रहेका महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्तिहरू, मधेशी, मुस्लिम, अति विपन्न, यौनिक तथा लैङ्गिक अल्पसख्यक, सीमान्तकृत समुदायले स्थानीय सरकारको अनुभूति गराउने खालका के कस्ता नीति, योजना, कार्यक्रम र बजेटको व्यवस्थापन गर्नुभएको छ ?
विजयनगर गाउँपालिकाले पालिकाबासीको आवश्यकताको पहिचान गरी आवश्यकताको आधारमा नीति, योजना, बजेट तथा कार्यक्रमहरू ल्याएको छ । हामीले भौतिक पूर्वाधार विकास र मानवीय विकासलाई महत्वका साथ अगाडि बढाएका छौँ । भौतिक विकासले मात्र विकास सम्भव हुँदैन भन्ने कुरामा हामी सचेत छौँ । त्यसकारण भौतिक विकास र मानवीय विकासलाई सँगसँगै लगेका छौँ । यसरी सबै क्षेत्र र भुगोल, जातजाति र समुदायलाई समेटेर पालिकावासीका आवश्यकताहरूको सम्बोधन गरेका छौँ । एकल महिला, दलित, जनजाति, अपांगता भएका व्यक्तिहरु, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरु, यूवा, मुस्लिम लगायतका सबै लक्षित वर्गलाई समेट्ने खालका कार्यक्रमहरु अगाडी सारेका छौँ । युवा उद्यमशिलता र सीपसँग जोडने खालका कार्यक्रमहरु अगाडी बढाएका छौं ।
अन्त्यमा पालिकावासीहरूले अनुभूति गर्ने गरी मानव अधिकार संस्कृतिको विकास गर्न अबका दिनमा यहाँको जवाफदेहिता के हुन्छ ?
स्थानीय सरकार सबै नागरिकको लागि उत्तिकै समान सरकार हो र स्थानीय नागरिकका गुनासा सुन्ने र गुनासाहरुको सम्बोधन गर्ने सरकार भएकोले विजयनगर गाउँपालिकामा बस्ने सबै नागरिकहरुको समान पहुँच र हैसियत हुनुपर्छ र यसका लागि हामी सधैँ सक्रिय र संवेदनशील भएर अगाडि बढेका छौँ । आगामी दिनमा पनि अगाडि बढ्ने छौँ । गाउँपालिका सबै नागरिकहरुको लागि विभिन्न दृष्टिकोणबाट अगाडी बढेको छ ।सबैलाई स्थानीय सरकारको अनुभूति गराएर समाजमा रहेका असमानता, विभेदहरूको अन्त्य गरी मानव अधिकार संस्कृतिको विकासमा यसलाई लक्ष्यसम्म पु¥याउनका लागि यहाँहरूको आलोचनात्मक सुझाव निरन्तर चाहिन्छ ।