तीन वर्षीया बालिकाको हत्या आरोपमा सिरहा नगरपालिका–१८ का ७२ वर्षीय धनिकलाल यादव, ४७ वर्षीया सोनादेवी यादव र १९ वर्षीया पुजाकुमारी यादवविरुद्ध पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा वैशाख १७ गते उजुरी दिनु भएको छ ।
पीडित परिवारका अनुसार आरोपितहरूसँग बिगत एक वर्षदेखि घरायसी विवाद रहेका र वैशाख १२ गते सोही रिसिविका कारण आरोपितहरूले बालिकाको हत्या गरी शव बोरामा हाली मुसुरीको झ्याङ्गले छोपी घरको सिढी मुनी लुकाई राखेको अवस्थामा प्रहरीले खोज तलास गर्दै जादा भेटिएको बालिकाको ठूलो बुवाले बताउनु भयो ।
शवको पोष्टमार्टम धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा वैशाख १६ गते भएको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी मुक्तिनाथ सापकोटाले वैशाख १२ गतेदेखि बालिका हराएको सूचना पाएपछि खोज तलास गर्दै जादा वैशाख १४ गते आरोपितहरूको घरको सिढी मुनी बोरा भित्र मुसुरीको झ्याङ्गले छोपेर राखेको अवस्थामा शव फेला परेको बताउनु भयो ।
प्रारम्भिक अनुसन्धानको क्रममा आरोपितहरूले नै बालिकाको घाँटी थिची हत्या गरेको खुल्न आएकोले आरोपितहरू सोना र पुजालाई वैशाख १५ गते गिरफ्तार गरेको डिएसपी सापकोटाले बताउनु भयो । अर्का आरोपित धनिकलाल यादव फरार रहेकोले खोजतलास भइरहेको उहाँले जानकारी दिनु भयो ।