नेपाल खाद्य संस्थानको थापाथली स्थित गोदाममा रहेको खाद्य वस्तुमा ढुङ्गा बालुवा र धुलो भेटिएको छ । आपूर्ति मन्त्री शिवकुमार मण्डलले भदौ ११ गते साँझ गरेको अनुगमनका क्रममा यस्तो फेला परेको हो ।
खाद्य वस्तुमा अखाद्य वस्तु फेला पर्नुले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने मात्रै नभएर नागरिकको शुद्ध खान पाउने अधिकारको हनन् भएको मन्त्री मण्डलले बताए ।
गोदाममा मुगु र कालिकोटबाट ल्याएको सिमीमा ठेकेदारले ढुङ्गा, बालुवा र धुलो मिसाएको भेटिएको जनाइएको छ । बाढी प्रभावित क्षेत्रमा पठाउनका लागि सिमी प्याकिङ्ग गर्ने क्रममा यस्तो भेटिएको प्याकिङ्ग ठेकेदार भगवान गिरीले बताए । ‘प्याकेजिङ्ग गर्न ९ सय जना लाग्छ भनेर मैले हात हालेको १ हजार २ सय ७४ जना कामदारले बल्लतल्ल केलाएर सकियो ।’ -गिरीले भने-‘अहिले सबै अखाद्य वस्तु हटाएर शुद्ध बनाएर राखेका छौँ ।’
थापाथली गोदाममा रहेको ७ सय २० क्वीन्टल सिमी मध्ये ४० क्वीन्टल बाढी प्रभावित क्षेत्रमा पठाइएको वाग्मती अञ्चल गोदाम प्रमुख भेषनाथ न्यौपानेले बताए । यस्तै गोदाममा रहेको ७ सय आठ क्वीन्टल तितेफापरमा पनि धुलो फेला परेको छ ।
गोदाम प्रमुख न्यौपानेका अनुसार खाद्य संस्थानका तत्कालिन प्रमुख शिवहरी श्रेष्ठ र थापाथली गोदाम प्रमुख मोहनप्रकाश चन्दको पालामा खरिद गरीएको उक्त खाद्य वस्तुमा ठेकेदारसँगको मिलेमतोमा अखाद्य वस्तु मिसाइएको हो ।
‘सबै खाद्यवस्तुको खरिद मूल्य लुकाइएको छ । विक्री मूल्य १ सय ५० रुपियाँ तोकिएको अवस्थामा म भर्खरमात्र सरुवा भएर आएकोले सबै विवरण खोज्दै छु ।’-उनले भने । गोदाममा ०७२ सालमा भूकम्प पीडितका लागि आएको चामलसमेत वितरण नगरी राखिएको अवस्थामा भेटिएको छ ।
आपूर्ति मन्त्री मण्डलले कुहिएको र फोहोर मिसिएको खाद्यपदार्थ वितरण नगर्न निर्देशन दिएका छन् । खाद्य संस्थानको समेत जिम्मेवारी लिएका आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहाल र गोदाम प्रमुख भेषनाथ न्यौपानेलाई उनले यस्तो निर्देशन दिएका हुन् ।
‘समस्या भएमा तुरुन्त खबर गर्नुहोला । तर, बिग्रेको खाद्य वस्तु प्रयोग नहोसु ।’-मन्त्री मण्डलले भने-‘तुरुन्त सफा गरेर विक्रीको प्रवन्ध मिलाउनु होला ।’ उनले १० दिनभित्र गोदाम परिसर सरसफाई गर्न पनि निर्देशन दिँदै उपभोक्ताको स्वास्थ्य अधिकार हनन् नहोस् भन्ने प्रति सचेत रहन आग्रह गरे ।
मन्त्री मण्डलले गुणस्तर र परिणाम दुवैमा कैफियत देखिएकोले छानबिन कारबाही गर्ने बताए । खरिदका क्रममा त्रुटी गरेर खाद्य संस्थानको बदनाम गर्न खोजिएको प्रति आफू दुखित भएको उनले बताए । भद्रगोलका बिचबाट खरिद गरिएको भेटिएको बताउँदै मन्त्री मण्डलले खरिद गर्दाको समयका महाप्रवन्धक अवकास भइसकेकाले टेण्डरको बखतमा भएको त्रुटीका विषयमा बोलाएर छलफल गरी हदैसम्मको कारबाही गर्ने बताए ।