उमेरले ७० वर्ष नाघेकी गैरिविसौना देउपुर–७ सल्लेबासकी सावित्री तिमल्सिना हरेक दिन भत्किएको आफ्नो घर हेरेर दिन बिताउँछिन् । सम्पत्तिको रूपमा रहेको दुई तल्ले घर भत्किएपछि नजिकै रहेको पालमा रात कटाएर बिहान हुन नपाउँदै उनी सडकमा पुगेर घरतर्फ फर्किएर रुन्छिन् ।
दिन बिताए रात कटाउन मुस्किल छ उनलाई । भन्छिन् – कसरी चित्त बुझाउनु ? आफ्नो सर्वस्व नै गुमिसक्यो । सरकारले दिने राहतका विषयमा व्यङ्ग गर्दै थप्छिन् – ‘जाबो एउटा बाल्टी र मग लैजा भन्दा रहेछन्, मैले त त्यो त्यहीँ फ्याकेर हिँडे ।’१० जनाको परिवारले सडकमा रात बिताउँदाको क्षण स्मरण गर्दै एउटा पाल पनि नदिएकोमा उनले गुनासो पोखिन् – ‘यो पाल त काठमाडौँबाट आफन्तले पठाइ दिएका हुन् । यहाँ त टाठा बाठाकै जमाना छ बाबु’ पाल देखाउँदै उनले भनिन् ।
गाउँका सबै विद्यालय भत्किए । बारी बाँझै छ । भूकम्पमा परेरर गोठका सबै गाइवस्तु मरे । नाति–नातिनीहरूको गोठालो लागेर साध्य छैन । दुध नभई बच्चाहरू खाना नै खादैनन् । उमेरले डाँडो काटे पनि जेष्ठ नागरिकहरूलाई मन बुझाउन निकै गाह्रो देखिएको छ । दुविडाँडाकी ६१ वर्षीया सीता न्यौपाने राहत वितरण प्रक्रियाप्रति व्यङ्ग गर्छिन् । ‘राहत बाँढ्न आएका रे,गाडीबाट फ्याकेका २–३ पाकेट चाउचाउ केटाकेटीले बाँढेर खाएछन् ।’ उनी थप्छिन जसका घर लडे, उनीहरूको त घर लड्यो भनेर बारीको पाटामा पुगे । घर चर्किएकाहरू त डरमर्दो अवस्थामा बस्नु परेको छ । हाम्रो पहिलो आवश्यकता त पाल हो नि, तर खोइ पाल ? कहाँ आइपुग्यो ?’
गैरिविसौना देउपुर–३ स्थित दुविडाँडामा दाताहरूको सहयोगमा राहत भनेर केही परिवारलाई चामल र केही जस्ता पाता दिइएको छ । आकाशमा हेलिकोप्टर उड्दा आफ्नै गाउँमा राहत आएको हो कि भनेर आकाशतिर हेर्नुबाहेक यहाँका सर्वसाधारणको अर्को उपाय छैन । बस्तीका कुनै घर बाँकी छैनन् । सक्नेहरूले लडेको घरको जस्ता पाताले घेरी टहरा बनाएर बसेका छन् । सिन्धुपाल्चोक जिल्लाले छोएको यस बस्तीका घरहरूले पुरिएका सामान पाँचखालस्थित शान्ति सेनाहरूले आएर झिकिदिएका छन् ।
यस्तो पीडा चम्रेलडाँडाका विनय गौतमको पनि छ । बाटैले छोएको उनको घरको एउटा कोठामा उनले कम्प्युटर साइबर मात्र चलाएका थिएनन्, बाँकी कोठाहरूमा सिद्धि गणेश बोर्डिङ स्कूल चलाएका थिए । सामान केही झिक्न नपाई घर भत्कियो । घरमा बास छैन । लालाबालासहित बारीको पाटोमा पुगेका छन् । लामखुट्टेको प्रकोप पनि उस्तै छ । भन्छन् – ‘राहतमा आएको पाल मानिसका लागि नभएर भैसी बाँध्ने छाप्रोमा ओडाउन मात्र काम लाग्ने खालको छ । कहाँ जाने, कसलाई भन्ने अनि कसरी पाल र खाद्य सामाग्री आउँछ हामी गाउँका कसैलाई थाहा छैन ।’
शान्ति मन्त्रालयले बनाइदिएको गाविसको चौरमा नेपाली सेनाको मद्धत टोली आएर बसेको छ । गाउँको शिवालय लगायतका ६ ओटा मन्दिर र यस गाउँका १० ओटा विद्यालय पूर्ण क्षति भएको छ । गाउँमा बस्न लायक घर कसैको छैन तर राजनीतिक दलका नेताहरू कुन चाँहि वडा ठूलो छ, अनि कुन वडाको भोट तान्दा कस्ले जित्छ भनेर वडा नम्बर ३ मा जस्ता बाँडिएको स्थानीयले बताए । स्वीस दुतावासको सहयोग भनिए पनि एकजना शिक्षक नेताले हाम्रो पार्टीले ल्याएको भन्दै जस्ता बाढिएकोमा स्थानीयहरू आक्रोशित छन् । गैरिबिसौना टोलका भक्तबहादुर श्रेष्ठ भन्छन् हामी गरिबको पक्षमा बोलिदिने कोही छैन । गरिबबाट गरिबीतर्फ झर्नु भूकम्प पीडितहरूको रहर थिएन ।
फेरि भूकम्प आउन सक्ने आशंकामा गाउँमा त्रास छ । बालबच्चाहरू निन्द्रामा पनि ‘आयो आयो’ भनेर दौडन्छन् । स्थानीय समाजसेवी शेरबहादुर डोटेल भन्छन् ‘मुख्य कुरा बास हो । बारीमा कामको बेला भयो । बीउबिजन सबै पुरियो । धान र मकैको बीउबिजन र रासायनिक मल ल्याउनेतर्फ ध्यान जानुप¥यो ।’ राहतप्रति व्यङ्ग गर्दै उनी थप्छन् ‘गाउँमा ल्याएको २० बोरा चामल ढुसी र चिलसा भएकाले गाविस कार्यालयमा भण्डार गरी राखिएको छ । त्यही चामल पनि २५ केजी लेखिएकोमा २० केजी मात्र छ । गाउँमा पानीको मूल फुटेर हैरान छ तर दाताहरू राहत भनेर मिनरल वाटर बोकेर आउँछन् ।’
गाउँमा विपत्ती आइलाग्यो । गाइवस्तु चौरमा नै बाँधिएका छन् । राती जङ्गली जनाबरको बिगबिगी छ । गैरिविसौना देउपुर–५ का टोलप्रसाद दुलालले चौरमा बाँधेको गाई केही दिन अघि बाघले खाइदियो । स्यालले कुखुराहरू खाएर गाँउलेहरू आजित बनेका छन् । भूकम्पबाट बचेको गरिबको यही सम्पत्ति पनि आफ्नो भन्न नपाएकोमा शेरबहादुर मात्र नभएर गाउँका धेरै मानिस चिन्तित छन् ।
उसो त राहतका बाँढ्न आउनेहरू दलित, जनजाति र आफ्नालाई मात्र खोज्ने गरेकोमा पनि धेरैको असन्तुष्टि छ । काठमाडौँमा बसेर गाउँको नाम भजाउँदै राहत सङ्कलन गर्ने अनि गाउँमा वितरण गरेको सामग्रीमा पारदर्शिता नदेखाउनुलाई गाउँलेहरूले राम्रो भनेनन् । मोरङ उद्योग वाणिज्य सङ्घ र ग्रामीण विकास शैक्षिक नमूना केन्द्रले भने महिला, बालबालिका र गाउँका सबैलाई समान ढङ्गबाट राहत वितरण गरेको भन्दै स्थानीयहरूले उनीहरूलाई धन्यबाद दिए ।
गैरिविसौना देउपुरका गाविस सचिव रविन्द्रप्रसाद तिमल्सिनाका अनुसार यस गाविसमा २१ जनाको मृत्यु भएको छ । भुकम्पमा परी ४६ जना घाइते भएका छन् भने यस गाविसमा १ हजार ८ सय २ ओटा घरहरू पूर्ण क्षति भएका छन् । यस गाविसमा ४ सय ३० ओटा चौपाया र १५ हजार घरपालुवा पंक्षीहरूको भुकम्पमा परी मृत्यु भएको छ । यो गाविसमा १० ओटा विद्यालय र ६ ओटा मन्दिरहरू भूकम्पका कारण क्षति भएको छ । गाविस सचिव थप्छन् सरकारी राहतका नाममा १ सय थान त्रिपाल प्राप्त भएको र अन्य प्रकारको केही सहयोग विभिन्न गैरसरकारी संस्थाहरूबाट भएका छन् । भेटेनरी, पशु सेवा र स्वास्थ्य चौकीहरूलाई चौबीसै घण्टा सेवा दिन भनिएको र स्थानीय विकास मन्त्रालयमार्फत प्राप्त ४ लाख ५० हजारबाट केही पाल खरिदका लागि खर्च गरिने उनले बताए ।
सवै तस्वीरहरु विमलचन्द्र शर्मा ÷ इन्सेक


