इन्सेकका संस्थापक महासचिव अथक मानव अधिकार योद्धा स्व. प्रकाश काफ्लेको २५ औँ स्मृति दिवसको अवसरमा २३ औँ प्रकाश मानव अधिकार पुरस्कार राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य तथा ज्येष्ठ नागरिक अभियन्ता डा. गौरिशङ्कर लाल दासलाई एक समारोहका बिच प्रदान गरिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा साउन १६ गते ललितपुरमा आयोजित एक कार्यक्रमका बिच डा. दासलाई सो पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि संविधान सभाका अध्यक्ष एवम् पूर्व सभामुख तथा नेकपा एमालेको संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङले प्रकाश मानव अधिकार पुरस्कारबाट डा. दासलाई सम्मान गरेका हुन् ।

नेम्वाङले डा. दासलाई सम्मान गर्न पाउँदा गौरवान्वित भएको उल्लेख गर्दै आफू पनि मानव अधिकारको क्षेत्रमा स्व. प्रकाश काफ्लेसँगै कार्य गरेको र उनी अभिन्न मित्र रहेको बताए ।

संविधान सभाको अध्यक्षको जिम्मेवारी दलहरूले आफूलाई दिएको र संविधान सभाबाट ऐतिहासिक संविधान जारी गर्न सफल भएको उनले बताए । उनले भने-‘हामीले संविधानको मौलिक हकमा नै ज्येष्ठ नागरिकका हक अधिकार सुनिश्चित गरेका छौँ ।’
उनले ज्येष्ठ नागरिकसम्बन्धी अन्तर्राष्ट्रिय कानुन बनाउन तथा लागु गर्न नेपालले संयुक्त राष्ट्रसङ्घमा ठोस प्रस्ताव लैजाने कार्यलाई अगाडि बढाउन आग्रह गर्दै यसका लागि सबै दल एकै ठाउँमा उभिने विश्वास व्यक्त गरे ।

राष्ट्रपतिका राजनीतिक तथा मानव अधिकार सल्लाहकार तथा राष्ट्रिय मानव अधिकार अयोगका पूर्व सदस्य एवम् इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले मानव अधिकारको आन्दोलनलाई अघि बढाउन स्व. प्रकाश काफ्लेको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै प्रकाशले मानव अधिकारका लागि दिएको दृष्टिकोणको बाटो स्मरण गर्नु पर्ने बताए ।
विगतका मानव अधिकार उल्लङ्घनकर्ताहरूलाई कानुन बनाउने ठाउँमा जान नदिन र उनीहरूलाई कारबाही गराउने कार्यमा मानव अधिकार रक्षक विभाजन हुनुले मानव अधिकार अभियानलाई एकताबद्ध रूपमा अगाडि बढाउन नसकेको उनले बताए ।
इन्सेकका संस्थापक अध्यक्ष प्याकुरेलले प्रकाश मानव अधिकार पुरस्कारबाट पुरस्कृत डा. दासले आयोगमा छँदा द्वन्द्वको बेला रुकुम र रोल्पा लगायतका दुर्गम ठाउँमा पुगेर मानव अधिकार संरक्षण र सम्बर्द्धनका कार्यमा सकृयता पूर्वक भूमिका निर्वाह गरेको उल्लेख गरे ।
प्रकाश मानव अधिकार पुरस्कारबाट पुरस्कृत दासले मानव अधिकारका क्षेत्रमा उल्लेख्य भूमिका निर्वाह गरिरहेको इन्सेकले आफूलाई प्रकाश मानव अधिकार पुरस्कारबाट पुरस्कृत गरेकोमा कृतज्ञता व्यक्त गरे ।
डा. दासले आफू राष्ट्रिय मानव अधिकार आयोगमा रहँदा द्वन्द्वको क्रममा भएका दोरम्बालगायतका घटनाहरूमा इन्सेकले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै अझ मानव अधिकारको मार्गमा उल्लेख्य र प्रगतिको कार्य गर्न शुभकामना दिए ।
ज्येष्ठ नागरिकको अधिकारलाई संविधानको मौलिक हकको धारा ४१ मा व्यवस्था गरेकोले सो हक अधिकारलाई सुनिश्चित गर्न ऐन र कानुन निर्माण गर्नु पर्नेमा डा. दासले जोड दिए ।
राष्ट्रिय जेष्ठ नागरिक महासङ्घका अध्यक्ष तथा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य रामनगिना सिंहले प्रकाश मानव अधिकार पुरस्कारबाट ज्येष्ठ नागरिक डा. दासलाई गरिएको सम्मानले सबै ज्येष्ठ नागरिकहरूको सम्मान भएको बताए ।
इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले स्वागत मन्तव्य व्यक्त गर्दै प्रकाश मानव अधिकार पुरस्कारबाट पुरस्कृत व्यक्तिको छनोटका आधार प्रस्तुत गरेका थिए । अध्यक्ष प्याकुरेलले ज्येष्ठ नागरिकका अधिकारलाई संरक्षण गर्ने गरी संयुक्त राष्ट्रसङ्घसमक्ष नेपाल सरकारले प्रस्ताव लैजानुपर्ने बताए ।
कार्यक्रममा सहभागी वक्ताहरूले स्वर्गीय काफ्लेले मानव अधिकार र समाजिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।