ज्याम्दी गाविस–४ का १३ वर्षीय दीपक विश्वकर्मा र उनको ११ वर्षीय भाइ रुपककी आमा ३५ वर्षीया मैयाले सधैँको लागि बिदा लिइन् । भूकम्पमा घरले किचेर पत्नी मैयाको मृत्यु भएबाट धनबहादुर निकै चिन्तित छन् । छोराहरू आमा खोइ – मात्र भन्छन,के उत्तर दिनु भन्छन् धनबहादुर विश्वकर्मा । छोराहरूको अनुहार हेरेर धनबहादुरले आँशु रोक्नै सकेका छैनन् ।

भूकम्पले दीपकको सपना मात्र चकनाचुर पारेको भने होइन । आमा ४५ वर्षीया पातलीमाया खाना बनाउँदा-बनाउँदै आफ्नै घरले पुरिइन्, आँगनमा बसेका ४८ वर्षीय बाबु पेम्बाको त्यही घरले किचेर मृत्यु भयो । डोजर लगाएर आमाको लास निकाल्नुपर्यो । बनेपामा किताब किन्न गएका भाइ मदन किताब किनेर त फर्किए तर अब उनको पढाइको कुनै टुङ्गो छैन । देविटार गाविस-१ का १४ वर्षीय पदमको आँखै अगाडि भएको यस घटनालाई सायद उनी कहिल्यै बिर्सन सक्दैनन् । पदम स्थानीय देवीस्थान माविको कक्षा ९ मा अध्ययनरत छन् । भूकम्पका कारण आमा वा बाबु मात्र गुमाउने यस्ता बालबालिका यहाँ धेरै छन् ।
भूकम्पमा परेर देविटार निम्न माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत १२ वर्षीय हिरालाल लामा र जनज्योति मावि मेच्छेको कक्षा ४ मा अध्ययनरत ९ वर्षीया प्रतिक्षा त्रिपाठीको मृत्यु भयो । शारदा उच्च मावि फलाटेको कक्षा ५ मा अध्ययनरत ७ वर्षीया आयुषा खरेल, सेतीदेवी मावि सापिङमा कक्षा १० मा अध्ययनरत १५ वर्षीया रविता खाती र १७ वर्षीया कृष्णमाया पहरी, सर्वविजया प्राविको कक्षा २ मा अध्ययनरत ८ वर्षीया सविना श्रेष्ठको भूकम्पका कारण मृत्यु भयो । यस्तै, बागदेवी उच्च मावि ज्याम्दीको कक्षा २ मा अध्ययनरत ८ वर्षीया रजनी तामाङ, सोही विद्यालयका रविसा र दीपक ठकुरी, चन्द्रावती प्राविकी मनिषा सापकोटा, लालीगुराँस अङ्गेजी स्कूल कुशादेवीकी ११ वर्षीया अनुशा बस्नेतको भूकम्पका कारण मृत्यु भएको छ । जनकल्याण निमाविका १० वर्षीय लालबहादुर मोक्तान र १३ वर्षीय रामबहादुर मोक्तानको पनि भूकम्पमा परी मृत्यु भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

भूकम्पका कारण पाल मुनि रात बिताइ रहेकी एक सुस्तमनस्थितीकी बालिकालाई वैशाख १६ गते बलात्कारको प्रयास भएको भनी प्रहरीले एक व्यक्तिलाई गिरफ्तार गरेको छ । पनौती नपा-१ चौकोटका २८ वर्षीय मधुकर श्रेष्ठले विहानको समयमा ११ वर्षीया ति वालिकालाई वलात्कारको प्रयास गरेकाले वालिका चिच्याएकी थिइन । प्रहरीका अनुसार आरोपितले बलात्कार प्रयास गरेको कुरा स्वीकारेका छन् ।
भूकम्प पीडित बालबालिकालाई ध्यान दिँदै केही सहयोग पनि भएका छन् । चण्डेनी गाविस-२ का माझी समुदायका बालबालिकालाई बौद्ध व्यापार सङ्घ काठमाडौँले भोटो, दौरा र सुरुवाल वितरण गरेको छ । गैरीबिसौना देउपुरमा ग्रामीण विकास शैक्षिक नमुना केन्द्रले महिला, बालबालिका र गाउँका सबैलाई समान ढङ्गबाट राहत वितरण गरेको स्थानीयले बताए । एसओएस बालग्रामले बाबु-आमा गुमाएका बालबालिकालाई स्याहार केन्द्रमार्फतत सहयोग गरेको छ । जिल्ला बालकल्याण समितिको सहयोगमा जिल्लाका १५ स्थानमा बालमैत्री स्थान बनाइँदैछ । जोखिममा रहेका बालबालिकालाई यस्तो स्थानमा हेरचाह र सहयोग गरिन्छ । जिल्ला शिक्षा कार्यालयका अनुसार भूकम्पबाट विद्यालय पढ्ने धेरै छात्र-छात्राको मृत्यु भएको छ । स्थानीय निकायमार्फत प्राप्त जानकारीअनुसार हालसम्म २ सय ९६ ओटा विद्यालय पूर्ण क्षति भएका छन् । विद्यालय सञ्चालन गर्ने दिन नजिकिँदै छ तर अब कहाँ राखेर बच्चालाई पढाउने कसैलाई ‘थाहा छैन’ भन्छन् ।

महाभूकम्पको कारण चर्किएका घरमा बस्दा यस जिल्लामा एक महिलाको पुरिएर मृत्यु भएको छ । खार्पाचोक गाविस-४ की ५२ वर्षीया सानुमाया तामाङको चर्किएको घर लड्दा पुरिएर मृत्यु भएको हो । भूकम्पका कारण क्षत्रि्रस्त तामाङको घर बैशाख २३ गते बिहान गएको अर्को भूकम्पका कारण भत्किएको हो । भूकम्पका कारण अधिकांश महिला र बालवालिकालाई मनोसामाजिक परामर्शको आवश्यकता देखिन्छ । यहाँका अस्पतालहरूमा आउने अधिकांश विरामीहरू उदास र चिन्तित देखिएका छन् । कतिपय विरामीहरू ‘आफू मर्न चाहेको बताएको’ अस्पतालका चिकित्सकहरू बताउँछन् ।
भूकम्पबाट प्रत्यक्ष पीडित भएका महिलाहरूलाई सहयोग गर्नेहरू पनि जिल्लामा देखिएका छन् । यूएनएफपिएको सहयोगमा महिला तथा बालबालिका कार्यालयमार्फत हालै सुत्केरी, गर्भवती र गर्भ तुहिएका महिलाहरूका लागि १ सय ५० थान सहयोग सामग्री वितरण गरिएको छ ।
सहयोग सामग्रीमा चोलो, पछ्यौरा, धोती, म्याक्सी, पेटिकोट, साबुन, नङ काट्ने नैनी र र्टच लाइट रहेका छन् । यूएन वमनले यसै कार्यालयमार्फत अपाङ्ग महिला, घरमूली महिला र बृद्धाका लागि १ सय थान सहयोग सामग्री वितरण गरेको छ । युनिसेफले भने महिला तथा बालबालिका कार्यालयमार्फत गर्भवती र सुत्केरी महिलाका लागि १ सय थान पाल पठाएको छ । महिला तथा बालवालिका कार्यालयकी महिला विकास निरिक्षक भवानी कपालीका अनुसार काभ्रेमा १ हजार सात सय २३ जना सुत्केरी, ६ सय १९ गर्भवती र भूकम्पका कारण बच्चा तुहिएका ३६ जना महिला प्रत्यक्ष पीडित भएका छन् ।
भत्किएका विद्यालयहरू कसरी सञ्चालन गर्ने चिन्ता बढिरहेको समय बालवालिकाहरूमा मनोवैज्ञानिक त्रास कायमै देखिएको छ । गाउँमा नभत्किएका घर भेट्न मुस्किल छ । भत्केकै घरका टिन र काठले जेनतेन छाप्रो बनाएर जीवन धानिरहेका सर्वसाधारणको अनुहारमा कतै खुशी देखिन्न । ग्रामीण बस्तीका ९० प्रतिशत घर भत्किएकाले पर्याप्त त्रिपाल र शौचालयको व्यवस्था हुन सकेको छैन । मृत पशुपंक्षीहरूको राम्रो व्यवस्थापन गर्न नसक्दा सरुवा रोग फैलिनसक्ने त्रास कायमै छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार यस जिल्लामा मृत्यु भएका ३ सय १७ मध्ये १ सय २५ जना महिला, ४७ जना बालक र ५७ जना वालिका रहेका छन् । मृत्यु हुनेमा ८८ जना वयस्क पुरुष रहेका छन् ।