INSEC Online

📅 २०८३ जेष्ठ २१

सबै घाइतेको एकै चिन्ताः घर छैन, कहाँ जाने

भूकम्पले घर भत्किँदा घाइते भएका बिरामीहरूलाई अस्पतालबाट डिस्चार्ज हुने दिन नजिकिँदै गर्दा कहाँ जाने भन्ने चिन्ताले सताउन थालेको छ । घरै भत्केर घाइते भएकाहरूको घर सिङ्गो हुने कुरै भएन । अस्पतालबाट निस्केपछि बस्ने ठाउँको व्यवस्थापन नहुदा घाइतेलाई समस्या भएको हो ।

 

1431413286

 

घरका मानिस घाइते भएपछि अस्पतालमा बिरामीको हेरचाहरमा आफू पनि खटिनु पर्दा अस्थायी बासस्थान समेत बनाउन नभ्याएको जिलिङ-६ माधेखर्कका लालबहादुर विकले बताए । घरछेउमा गोठमा काम गरिरहँदा आएको भूकम्पमा परी घाइते पत्नी विष्णुमायाको उपचारमा जिल्ला अस्पतालमा बसिरहेका लालबहादुरले भने ‘बिरामीको हेरचाहमा लाग्न परेको छ । घर भत्केको पन्छाउन पनि भ्याएको छैन । बस्ने ठाउँ कहिले बनाउनु । केटाकेटीहरू छिमेकीको पालमा शरण लिइरहेका छन् ।’

 

भूकम्पले घर भत्किँदा होस् वा पहिरोलगायतमा परेर परिवारका सदस्य नगुमाएका, घाइते नभएको पीडितहरूले आफ्नो लागि अस्थायी बासस्थानको व्यवस्था गरिसकेको छन् । तर, घाइते भएर अस्पतालमा बस्नु परेकाहरूले त्यो पनि बनाउन भ्याएका छैनन् ।

 

रसुवा सरमथली-९ कि नुरकिमो तामाङलाई पनि अस्पतालको बसाईपछि गाउँ फर्केर कहाँ बस्ने भन्ने चिन्ता लाग्न थालेको छ । अस्पतालमा उपचारपछि फलोअपको लागि विदुरको सहकारी भवनमा रेडक्रसको आश्रयस्थलमा बसिरहेकी उनले भनिन् ‘घर भत्केर घाइते भएँ । घाइते भएको तीनदिनपछिमात्र अस्पताल ल्याए । घर छैन । अब गएर कहाँ बस्ने -‘

1431413320

 

आमाको उपचारमा बस्नु परेपछि घरमा वासस्थानको व्यवस्थापन गर्न समेत नभएको नुरकिमोका छोरा कालु तामाङले बताए ।’गाउमा कसैको घर सिङ्गो छैन । पाल आए पनि आफू यता कसले राखिदिएको होला र -‘ उनले भने ।

 

भूकम्पले घाइते बनाएको एक सातापछि जिल्ला अस्पताल त्रिशुलीमा उपचार गर्न ल्याइएका रसुवा डाडागाउ-७ सिरचेतका ६३ वर्षीय प्रेमबहादुर तामाङले अस्पतालपछि कहाँ जाने ठेगान नभएको बताए ।  ‘घर जाउँ घर छैन । खाने अन्न छैन । गोजीमा पैसो नि छैन’ भूकम्पमा परी खुट्टा र ढाडमा चोट लागेका उनले भने ‘अस्पतालबाट निस्कँदासाथ काम गर्न सकिन्न । आराम गर्नुपर्छ भनेका छन् डाक्टरले । तर कहाँ कसरी के खाएर आराम गर्ने -‘

 

उनले भूकम्पमा जेठी छोरी, बुहारी र नातिनी सहित तीन जना गुमाएका छन् । रसुवाको डाडाँगाउमा मात्र ४८ जनाको ज्यान गएको छ । ‘घर त मेरो चिहान जस्तै भो, गाउँमा मानिस नमरेको घरै छैन’ उनले भने ‘नातीहरूले अस्पतालसम्म ल्याइदिए । टहरो पनि हालिदिन्छन् कि ।’

 

दिउँसो मकै गोड्न जानको लागि घरमा खाजा बनाउँदै गर्दा आएको भूकम्पले प्रेमबहादुरको संसार उजाड बनायो । घरले पुरिएका उनलाई स्थानीयले उद्धार गरेपनि अस्पताल ल्याउन भने निकै ढिला भएको थियो ।

1431413334

प्रेमबहादुर मात्र होइन, नुवाकोट तलाखु-८ का ६३ वर्षीय रामबहादुर तामाङ, भाल्चे-१ भाल्चेबेसीका ७३ वर्षीय दुम्भु घले सबैको उस्तै छ चिन्ता ।

 

अस्पतालबाट डिस्चार्च भएका घाइतेहरूको फलोअपको लागि फेरि अस्पताल आउनपर्ने भएकोले पनि कतिपय घाइतेहरूले अस्पताल छोड्न नचाहेको समेत पाइएको छ । गाउँ जान यातायातको असुविधा, घरविहीन अवस्था जस्ता कारण रहेकोमा अस्पतालमा फलो अपको लागि समेत आउन समस्या हुनेभएपछि सदरमुकाममै बस्न चाहेका छन् । तर, उनीहरू सबैलाई सदरमुकाममा लामो समय राख्न सम्भव नभएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए । निरौलाकाअनुसार केही घाइतेहरूलाई अस्पतालमा फलोअपमा गइरहन पर्नेलाई रेडक्रसको सहायतामा सदरमुकाममा बस्ने व्यवस्था मिलाइएको छ ।

 

कतिपय घाइतेहरू केही महिना नै आराम गर्नुपर्ने अवस्थाका छन् । तर, उनीहरूले गाउँमा बस्ने घरसमेत नभएपछि उनीहरूको हेरचाह हुन नसक्ने आफ्नो घाइते पिताको उपचारको लागि त्रिशूली अस्पतालमा आएकी भाल्चे-२ की ठुलीमाया घलेले बताइन् । गाउमा सबैका घर भत्किएकोले घाइतेहरूलाई गाउमा गएर बस्न झनै सकस हुने देखिएको छ ।

1431413350

 

अन्य

भिडियो