उनी घरि आफ्नो घर हेर्छन् । कहिले विद्यालयतिर हेरेर टोलाउँछन् । उनको मानसपटलमा तिनको सम्झनामात्र बाँचेको छ । कखरा पढेको विद्यालय जहाँ उनी घरभन्दा बढी रमाउँथे, त्यसको भौतिक अस्तित्व धुलो भएको छ । आफू जन्मेहुर्केको घर धूलो माटोको थुप्रो बनेको छ । गोकुले गाविसका उत्तरकुमार थिङलाई सम्झाइ बुझाइ गर्ने उनका अभिभावकहरूलाई भविष्यको चिन्ता त छँदै छ, आजको दिन कसरी काट्ने हो त्यसको समस्या झनै विकराल छ । वैशाख १२ गतेको भूकम्पले उत्तरकुमारकै जस्तो नियति भोग्न बाध्य थुप्रै छन्, काभ्रे जिल्लामा ।

पाँचखाल नगरपालिका – ३ नयाँबस्तीकी सफलता श्रेष्ठ विद्यालय जान नपाएकोमा निकै चिन्तित छिन् । घर चर्केकाले भित्रजान नसकेर किताब समेत झिक्न नपाएको उनकी आमा मेनुकाले बताइन् । भूकम्पका कारण एकोहोरो बनेका बालवालिकाको अनुहारमा अझै मुस्कान नदेखेको मेनुका बताउँछिन् ।
विद्यालय भँत्किदाको पीडा अभिभावकमा मात्र नभएर शिक्षकहरूमा पनि देखिन्छ । भैरव मावि गोकुले गाविस-३ धापका प्रधानाध्यापक खुबनाथ दुलाल भूकम्पसँगै मन पनि भत्किएको बताउँछन् । जिल्लाको दुर्गम डाँडापारीका ८५ ओटा विद्यालयमध्ये ६० ओटा क्षति भएकोमा उनी निकै चिन्तित छन् । भूकम्पको त्रासमा कहिलेदेखि विद्यालय सञ्चालन गर्ने भन्ने टुंगो अझै नलागेको उनले बताए । उनी थप्छन् – ‘विद्यालय नखुलेकाले स-साना बच्चाहरू चौरमा गएर तास खेल्दै दिन बिताउँछन् ।’यस्तै समस्या हरिसिद्धि प्रावि गोकुले गाविस-६ पात्लेको पनि छ । विद्यालय भत्किएका कारण पढाउने चौर पनि यहाँ छैन । जोरछाँगाको सेतिदेवी प्रावि र सोत्तेल भूमी प्रावि पनि भत्किएर काम नलाग्ने भएको छ ।

विद्यालय पढ्दै गरेका कतिपय बालबालिकाले भूकम्पमा परेर ज्यान गुमाए । देविटार गाविस – १ की १८ वर्षीया सोनी लामाको भूकम्पमा ज्यान गयो । सुन्तली विद्यालयबाट घरमा फर्किनेबित्तिकै आमा भनेर बोलाएको याद गर्छिन् । रुदै थप्छिन – ‘पढेर डाक्टर बन्छु भन्थी तर आमा भनेर नबोलाएको २ हप्ता भैसक्यो ।’ सोनीको त आमा थिइन् र चिन्ता गरिन् तर देविटार गाविस – १ का १६ वर्षीय पदम लामाको चिन्ता गर्ने बाबुआमा नै छैनन् । भूकम्पमा आमा र बाबु दुबै गुमाएका उनको काँध सधै ठूलो भूकम्पले हल्लाइ रहेको छ । बाबुआमाले ज्याला मजदुरी गरी पढाएका पदमको सपना पढ्नेबाट पेट पाल्नेमा पुगेको छ । कहीँ कतै केही संस्थाले बालबालिकाहरूका लागि कपडा, स्वास्थ्य सामग्री र केही फलफूल वितरण गरे पनि भूकम्पीय त्रास मेटाउन सकिरहेका छैनन् ।
०४५ सालको भूकम्पपछि बनाएका भूकम्प व्लकहरू कामै नलाग्ने गरी भत्किएका छन् । तपेश्वर मावि देउपुरको अवस्था यस्तै छ । भवन बाहिरको चौरमा फर्निचरहरू यत्रतत्र छरिएका छन् । विद्यालय प्राङ्गणमा गएर अवस्था हेर्दै चित्त दुखाएर फर्किनु बाहेक शिक्षक, विद्यार्थी र अभिभावकसँग विकल्प देखिन्न । अझ वैशाख २९ गते दिँउसो पुनः आएको भूकम्पका कारण विद्यालयहरू खोल्ने समय परिवर्तन भएको छ । फेरी भूकम्प आउनसक्ने आशंकाले गाउँमा त्रास छ । गैरिविसौना देउपुरका समाजसेवी शेरबहादुर डोटेल ‘विद्यालय खुलेपछि चौरमा नै राखेर पढाउँदा बच्चाहरू सुरक्षित हुने’ बताउँछन् । बारम्बार गइरहेको भूकम्पका कारण बालबालिकाहरू संरक्षकहरूसँगै त्रिपालमुनि बस्न बाध्य छन् । कौवा र कुकुर कराउने बित्तिकै अधिकांश बालबालिका ‘आयो’ भनेर कराउँछन् भने भत्किएका विद्यालय हेदै अभिभावकहरू भने ‘छोराछोरीको चिन्ता’ गर्छन् । नयाँ भर्ना खुल्नासाथ धेरै विद्यार्थीले विद्यालय भवनमा टेक्न नपाई विद्यालय भत्कियो, अझै उनीहरूसँग उत्तर छैन – ‘अब कहिलेबाट विद्यालय खुल्छ -‘

भूकम्पबाट जिल्लाका ९६ वटा सरकारी विद्यालय पूर्ण क्षति भएको जिल्ला शिक्षा कार्यालय काभ्रेले जनाएको छ । काभ्रेका २६ ओटा स्रोत केन्द्रभित्रका ५ सय २ ओटा विद्यालयका ९ सय ९४ ओटा कक्षाकोठा पूर्ण क्षति भएका छन् । जिल्ला शिक्षा कार्यालयले १ हजार नौ सय ५६ वटा कक्षा कोठा सञ्चालन गर्न नसकिने अवस्थामा पुगेको जनाएको छ । १ हजार ५ सय ७१ ओटा कक्षाकोठा भने मर्मत-सुधारपछि मात्र प्रयोग गर्न योग्य देखिन्छन् । काभ्रेका सरकारी विद्यालयमा ८० हजार ८ सय ८३ जना विद्यार्थी अध्ययनरत छन् । सरकारी विद्यालयहरूमा भएका ६ हजार एकसय पाँच ओटा कक्षाकोठामध्ये ४ हजार आठसय ४८ ओटा कोठामा कक्षाहरू सञ्चालनमा थिए । स्थानीय निकायले भने सरकारी र निजी गरी २ सय ९६ ओटा विद्यालय क्षति भएको जनाएको छ । यस्ता ४४ ओटा विद्यालयहरूमा अस्थायी रुपमा पर्ढाई सञ्चालन गर्न चौरको समेत अभाव छ ।
भूकम्पबाट विद्यालय मात्र नभएर आफ्नो घर भत्किएपछि देविटार गाविस-१ का फूसाङ लामा निकै रोए । उनकी दिदिले सम्झाउँदा पनि उनले मन बुझाउन सकेनन् । घर लडेर किताव पुरिएपछि खाली उनी किताव हेर्दै रुने गरेको उनकी दिदिले बताइन् । स्थानिय ज्ञानबहादुर तामाङ भन्छन् – ‘फूसाङ ३ कक्षा उत्तीर्ण भएर कक्षा ४ मा भर्ना भएका थिए तर घर भत्किएर किताब पुरिएपछि उनी किताबमा लागेको धुलो माटो कपडाले पुस्दै निकैबेर रोए । उनलाई घरमा बस्न नपाउनु भन्दा किताब कापी लिएर कसरी विद्यालय जाउँ भन्ने चिन्ताले सताएको छ ।’ काचो माटोका भवन र टिनका छानो रहेका अधिकांश ग्रामिण क्षेत्रका विद्यालय भवन ढलेका छन् । भवन ढल्दा भवनमा रहेका पुस्तक, रजिस्टर र हाजिरी कापी जताततै छरिएको देखिन्छ । विद्यालयका दराज, कुर्सी टेवल लडेका छन् ।

अघिल्लो वर्षको तथ्याङ्कअनुसार काभ्रे जिल्लाका ७ सय ३० विद्यालयमा १ लाख ३० हजार ६ सय ४३ जना बालबालिका अध्ययनरत थिए । भूकम्पका कारण सबै विद्यालय बन्द भएर यी बालबालिका प्रत्यक्ष प्रभावित भएका छन् । निजीस्तरका विद्यालय सञ्चालकहरूले भने आफूहरूलाई सरकारले ‘सौतिनी व्यवहार’ गरेको बताइरहेका छन् । यसैबीच जिल्ला प्रहरी कार्यालय काभ्रेले जिल्लामा मृत्यु भएका ३ सय १७ मध्ये ४७ जना बालक र ५७ जना बालिका रहेको बताएको छ । जसमा विद्यालय भर्ना भएका २६ जना छात्रछात्राको पनि मृत्यु भएको छ ।
विद्यालयहरूमा भएको क्षतिको यकिन विवरण लिनका लागि प्राविधिक सहितको १० ओटा टोलीलाई फिल्डमा पठाएको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत बालकृष्ण सिंखडाले बताए । उनले पूर्णरुपमा क्षति भएका विद्यालयलाई अनुदानको विषयमा पनि छलफल भइरहेको सुनाए । सवै (निजी र सामुदायिक) विद्यालयका भवन सुरक्षित रहेको भरपर्दा आधार नभई भवनभित्र विद्यार्थी राखेर नपढाउन निर्देशन दिएको उनले थपे – ‘पहिला विद्यार्थीलाई भेला गरेर परामर्श सेवापछि विद्यालय सञ्चालन गर्न भनिएको छ ।’ चौरमा ठूला टेन्टहरू राखेर अस्थायी रुपमा विद्यार्थीलाई पढाउँदा राम्रो हुने अभिभावकहरूको तर्क छ ।
