INSEC Online

📅 २०८३ जेष्ठ २१

‘भगवानको आँखा नलागोस भन्थेँ, भूइँचालोसँग खोस्न सकिनँ’

विद्यालय बिदा थियो । छोरी गोठ गएकी थिई । गाईवस्तु भेडाबाख्रा चराउन जाने खर्क गाउँबाट तीनदेखि चार घण्टाको दूरीमा पर्छ । सधैँको जस्तै दैनिक थियो, स्वाँरा गाविस९ की ५७ वर्षो सुकमाया गुरुङका छोरी टार्स्यार्ङखर्क खोलामा गाईबाख्रा चराउन गएका थिए ।  ११ जनाको परिवार । वैशाख १२ यता १० जनामात्रै छन् । कान्छी छोरी गीताको अन्तिम गोठालो बन्यो वैशाख १२ । भूकम्पपछिको पहिरोले उनलाई परिवारसँग खोस्यो । उनी सँगै अरु दुई दिदी पनि गोठाला थिए तर उनीहरूले भागेर ज्यान बचाए । माहिली दिदी करमायाको भाग्दैगर्दा शरीरिको एक पाटोमा चोट लागेको छ ।  उपचार गराएकी छैनन् । बहिनीलाई आँखै अगाडि सदाका लागि छाडेर आउनुपर्दाको पीडा आफ्नो घाउ भन्दा बढी छ ।

 

Photo20150531Gorkha

 

ख्याउटे शरीर, गढेका आँखा, निन्याउरो अनुहार लगाएर त्रिपाल ओढेर गहुँ केलाईरहेकी थिइन् सुकमाया । सात जना अरु छोराछोरीलाई बिहान बेलुकी पेट भराउनैपर्ने बाध्यता उनलाई छ । छोरी हराएपछि उनलाई खानसमेत रुच्दैन । कान्छी छोरीको सम्झनाले उनमा न भोक छ, न तिर्खा निन्द्रा नै । ‘भगवानको आँखा नलागोस भन्थेँ, भूइँचालोले खोसेर लग्यो’ कान्छी छोरीलाई सम्झँदै सुकमाया सुँक्क सुँक्क गर्न थालिन् ‘धपक्क बलेकी, राता गाला, अरु छोरीभन्दा राम्री थिइ ।’

 

पहिरोमा परी बेपत्ता छोरीको शवसमेत परिवारले पाएका छैनन् । एक दिन सेना पुगेको थियो । तर, निकाल्न नसकेर फर्केछन् । गोरखा सदरमुकामबाट करिब १२ कोष टाढा । त्यहाँबाट पनि चार कोष हिँडेपछि मात्रै खर्क पुगिन्छ । गाउँका मान्छे त्यहाँ जानै डराउँछन् । पहिरो बगिरहेछ । ढुङ्गा खसिरहन्छ । सुकमायालाई कान्छी छोरीको सम्झनाले हरेक साता त्यहाँ पुर्‍याएको छ । उनी छोरी हराए यता तीन पटकसम्म पुगिसकिन् ।

 

Photo20150531Gorkha1

 

माहिली छोरी घाँस काट्न रुख चढेका बेला भूकम्प गएछ । रुखबाटै फाल हानेर उनी बाँचिन् । अर्की छोरी भागिन् । बँचेकाहरू दुई दिनसम्म गोठमै बसेर तेस्रो दिन फर्किए । कान्छी छोरी फर्किन्छे की जस्तो सुकमायालाई लागिरहन्छ । सम्पत्तिको नाममा रहेको पाखो बारी मात्रै बाँकी छ । ढुङ्गाले छाएको एकपाखे घर केही झिक्नै नमिल्ने गरी भत्किएको छ । त्रिपाल र बाँसको चित्राले बारेर १० जनाको परिवार जसोतसो थाप्लोमा पानीछेक्ने जोहो गरेर बसेका छन् ।

 

छोरीको लाश भेटिने आशमा परिवारले दहासंस्कारसमेत गरेको छैन । काजकिरिया गर्ने पैसा पनि परिवारसँग छैन । सरकारले दिने भनेको एक लाख राहत रकम र ४० हजार किरिया खर्च भेटेका छैनन् । कमजोर अर्थिकस्तर, अनपढ परिवार भएकाले पनि सुकमायाका परिवारले पाउनुपर्ने राहत समयमै नपाएका हुन् । गाउँमा अहिले सम्म २० देखि ३० किलो जति खाद्यान्न राहत बाहेक अरु पुगेको छैन । त्यो पनि चार घण्टा लगाएर आफैँ बोकेर पुर्‍याउनुपर्छ । स्वाँरा भूकम्पको केन्द्रबिन्दु बारपाक सँग जोडिएको गाविस हो । गाविसभरमा १६ जनाले भूकम्पमा परी ज्यान गुमाएका छन् ।

 

गोरखामा अहिले पनि २० जना भन्दा बढी वैशाख १२ को भूकम्पमा परी बेपत्ता छन् । पहिरोमा हराउनेको सङ्ख्या धेरै छ । तर शव भेटिएको छैन ।

 

Photo20150531Gorkha2

 

अन्य

भिडियो