INSEC Online

📅 २०८३ जेष्ठ २१

आफ्नै घर चिहान बनेपछि……..

‘ममात्र किन बाँचे हुँला -‘ भूकम्पले भत्काएको घरको भग्नावशेष आँगनबाट नियाल्दै नवराज परियारले भने- ‘आफ्नै घर चिहान बन्यो, न घर रह्यो न मेरो परिवार नै ।’

 

दुई छोरासहित श्रीमतीलाई समेत आफैँले बनाएको घरले किचेर ज्यान लिएपछि रगनीका ३५ वर्षीय परियारको मन बहलाएको छैन । बस्ने घर छैन, पाल हाल्ने जाँगर पनि पलाएन उनलाई । परिवारको वियोग भूल्न रक्सी पिउन थालेका छन् । ‘तीन गिलासले पनि लाग्न छोड्यो’ पिलपिल गर्दै उनले भने ।

 

Photo20150531Okhaldhunga

 

उनले चार वर्षमलेसियामा कमाएको सबै पैसा लगाएर दुई वर्षअघि घर बनाए । वैशाख १२ गतेको भूकम्पले सबै परिवारसहित घरै गुम्यो । ‘घरपरिवार गुमाउँदाको चोटले होससमेत गुमेजस्तो अवस्थामा हुनुहुन्छ’ पीडित नवराजलाई भेटेपछि पत्रकार महासंघ ओखलढुंगाका सचिव कुम्भराज राईले भने- ‘पीडाले विक्षिप्त बनेका नवराजलाई मनोसामाजिक परामर्शको जरुरी छ ।’

 

गरिबीले पढाइ बीचैमा छाडेर बिहेवारी गरेर रोजगारीका लागि मलेसिया गएपछि जेठी पत्नि छोरा धीरजलाई एकै छोडेर चार वर्षपहिले पोइल गइन् । पत्निले अर्कैलाई रोजेपछि विरक्तिएका नवराज ४ वर्षपछि घर फर्किए । मलेसिया हुँदै उनको रामेछापको धोबीडाँडाकी लक्ष्मी श्रेष्ठसँग टेलिफोनमा गफगाफ हुन्थ्यो । त्यही टेलिफोन प्रेमपछि घर आउनासाथ जेठी पत्निले छोडेको चोटमा मल्हम लगाउन लक्ष्मीसँग दोश्रो विवाह गरे ।

 

बिहे गरेको दुई वर्षपछि ०७१ मंसिरमा छोरा जन्मिएपछि उनीहरुको परिवारमा खुसी थपियो । जेठीतर्फका ७ वर्षीय छोरा धीरजलाई सुत्केरी पत्नि श्रीमतीसँग छोडेर रोजगारीका लागि उनी काठमाडौँ गए ।

 

कमाएको केही पैसा लिएर घर फर्किने योजना बनाउदै गर्दा घर आउनै नपाइ दलानमा बच्चा च्यापेर काटेका गहुँ टिप्दै गरेकी पत्नि र दुई छोराको भूकम्पले ज्यान लियो । अब पत्नि र छोराहरू सम्झनामा मात्र सीमित भए । ‘अब मेरो आफ्नो भन्नु कोही छैन’गहभरी आँखु पार्दै नवराजले भने- ‘यो संसारमा बाँच्नु नै बेकार लागिरहेको छ ।’

 

वैशाख १२ गते घरसँगै परिवार पुरिएको खबर सुन्दा नवराजका केही छिन अघि भूकम्पले हल्लाए भन्दा बढी पृथ्वी हल्लिायो,खुट्टा भास्सिएजस्ता भए । दुई दिनपछि गाउँ आउँदा छिमेकीले दुई नाबालका छोरा र श्रीमतीको दाहसंस्कार गरिसकेका थिए । अहिले उनलाई भत्किएको घर वरपर पनि बस्न मन छैन । बेला बेला घुमेर पत्नि, दुई छोरा पुरिएको घरको भग्नावशेष हेछन् । घटना सम्झिदाँ आँसु खसाल्दै भने- ‘के गर्नु मेरो लागि आफ्नै घर चिहान बन्यो, किन बाँच्नू -‘

 

अन्य

भिडियो