कञ्चजपुर जिल्लाको पूर्वी भेगमा अवस्थित लालझाडी गाउँपालिकामा ६ ओटा वडाहरु रहेका छन् । जिल्ला सदरमुकाम भीमदत्त नगरपालिकादेखि ४६ किमी टाढा पूर्वमा रहेको यस गाउँपालिकाको आफ्नै खालको धार्मिक, राजनीतिक, सामाजिक महत्व र विशेषता रहेको छ । यस गाउँपालिकामा आदिवासी थारु, राना समुदाय र पहाडबाट बसाँईसराइँ गरी आएका विविध जातजाति, धर्म र वर्णका मानिसहरुको मिश्रित बसोवास रहेको छ । जिल्लाको पूर्वी भेगमा अवस्थित १५४.६५ वर्ग किमी क्षेत्रफलमा फैलिएको यस गाउँपालिकाको भू–आकृति स्वरुप समतल रहेको छ । यस गाउँपालिकाको पूर्वमा कृष्णपुर र पुनर्वास नगरपालिका, पश्चिममा शुक्लाफँटा र बेलौरी नगरपालिका, उत्तरमा शुक्लाफँटा र कृष्णपुर नगरपालिका र दक्षिणमा बेलौरी र पुनर्वास नगरपालिका रहेको छ । यस गाउँपालिकाको जनसङ्ख्या २२ हजार ५ सय ६९ रहेको छ । लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानासँग इन्सेक कञ्चनपुर प्रतिनिधि लिली कुँवरले गर्नु भएको कुराकानीको सम्पादित अंशः
गाउँपालिकाभित्र मानव अधिकारको अवस्था कस्तो छ ?
यस गाउँपालिकामा मानव अधिकारको अवस्था सन्तोषजनक नै रहेको छ । शैक्षिक अवस्था कमजोर हुनु र परम्परागत रितीरिवाज तथा धारणाले गर्दा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरु हुने गरेको भएपनि यसको निवारणका लागि स्थानीय स्तरमै मानव अधिकार समूह गठन भई आधिकारिक रुपमा गाउँपालिकामा दर्ता गरी जनचेतना, वकालत र पैरवी गर्ने कार्यहरु भइरहेका छन् ।
गाउँपालिकाले के कस्ता मानव अधिकार मैत्री कानुन निर्माण गरेर कार्यान्वयनमा ल्याएको छ ?
गाउँपालिकाले गाउँपालिकालाई मानव अधिकारमैत्री बनाउनका लागि केही पहल कदमी गरेको छ । जस अनुसार सडक बालबालिका संरक्षण कार्यविधि‚ अनाथ टुहुरा बालबालिकाका लागि सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि‚ असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग र असाहयहरुलाई उपलव्ध गराइने राहतसम्वन्धी मापदण्ड‚ सार्वजनिक जबाफदेहिता प्रवर्धनसम्बन्धी कार्यविधि तथा कानुन निर्माण गरी कार्यान्वयनमा ल्याएको छ ।
गरिव तथा विपन्न पछाडि पारिएका समुदायका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन के कस्ता कार्यहरु भइरहेका छन ?
बालबालिकाहरुलाई विपन्न छात्रबृति प्रदान भइरहेको छ जसको माध्यमबाट विद्यालयमा पहुँच स्थापित गर्न सहज भएको छ । विद्यालयहरुलाई भर्ना अभियान मार्फत विशेष रुपमा पहुँचमा ल्याउने प्रयास भई रहेको छ । विद्यालयहरुमा सीपमुलक शिक्षाका कार्यक्रम तथा प्रोत्साहनमुलक कार्यक्रमहरु सञ्चालन भईरहेका छन । पढ्दै कमाउदै कार्यक्रममार्फत विद्यार्थीहरुको पहुँच सुनिश्चित गर्न आयआर्जनमुलक कार्यहरुमा सहभागी गराउने प्रयास भइरहेको छ । दश वर्षे शिक्षा क्षेत्र योजनाको अन्तर्वस्तुभित्र निःशुल्क शिक्षा कार्यान्वयनलाई प्राथमिकताका साथ समेटिएको छ ।बाल अधिकार संरक्षण तथा सम्वर्द्धन कार्यविधि २०८० तयार गरिएको छ ।
घरेलु हिंसा, छाउपडी प्रथा र जातीय विभेदको अन्त्य नभएका अवस्था छ । यस प्रकारका हिंसा र विभेदको अन्त्यका लागि कस्ता नीति तथा कार्यक्रम सञ्चालनमा रहेका छन ?
गाउँपालिकाले घरेलु हिंसा, छाउपडी प्रथा र जातीय विभेदको अन्त्यका लागि लैङ्गिक तथा सामाजिक समावेशिकरण नीति‚ लैङ्गिक हिंसा निवारण कोष सञ्चालन कार्यविधि‚ कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार न्यूनिकरण आचार संहिता तथा प्रत्येक वर्ष लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
गाउँपालिकाले योजना छनौटको क्रममा दलित, जनजाति, मुक्त हलिया, कमैया, कम्लहरी तथा महिलाहरुको सहभागिताको सुनिश्चितता कसरी गर्ने गरेको छ ?
गाउँपालिकाले योजना छनौट गर्दा गाउँबस्ती स्तरबाट गर्ने हुँदा सबै वर्ग तथा समुदायको सहभागिता हुने कुरामा विश्वस्त रहेका छौं । गाउँपालिकाले योजना निर्माणको क्रममा सम्बन्धित लाभग्राहीको सुझावहरू सङ्कलन गर्ने गरिन्छ । गाउँपालिकाले योजना छनौट गर्दा टोल विकास समितिहरूसँग पनि छलफल गर्ने, भेलाहरू आयोजना गर्ने, त्यहाँबाट प्राथामिकता भएका योजना वडामा छलफल गर्ने, त्यसपछि गाउँकार्यपालिका र गाउँ सभासम्म चरणबद्ध छलफल गर्छौँ । हामीले आमनागरिकसँग सुझाव पनि लिन्छौँ ।
गाउँपालिकाले शिक्षा र स्वास्थ्यका क्षेत्रमा कसरी काम गरिरहेको छ ?
गाउँपालिकाले शिक्षा क्षेत्रमा योजनाबद्ध रुपमा संविधान प्रदत्त मौलिक हक कार्यान्वयनका लागि कार्यक्रमहरु तयार गरी कामहरु गरिरहेको अवस्था छ । गाउँपालिकाले स्वास्थ्य क्षेत्र सुधारका लागि पोषण कार्यक्रम‚ उपाध्यक्ष सुत्केरी उपहार कोशेली‚ अध्यक्ष घरदैलो स्वास्थ्य सेवा‚ विशेषज्ञ स्वास्थ्य सेवा शिविर‚ सुत्केरी नि:शुल्क एम्बुलेन्स सेवा‚ २४ घण्टा सुत्केरी सेवा‚ सवै वडामा बर्थिंङ सेन्टर‚ प्रत्येक टोलबस्तीमा खोप क्लिनिक जस्ता सेवा प्रदान गर्दै कामहरु गरिरहेको अवस्था छ ।
इन्सेकले लालझाडी गाउँपालिकामा मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठन गरिएका बाल अधिकार समूह र मानव अधिकार समूहको क्रियाशीलता कस्तो पाउनु भएको छ ?
यस नगरपालिकामा इन्सेकले मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठन गरेको बाल अधिकार समूह र मानव अधिकार समूहको क्रियाशीलता धेरै नै राम्रो रहेको छ । समाजमा भएका विकृति र विसङ्गतिहरूलाई न्यूनीकरण गर्न उहाँहरूले पुर्याएको योगदान प्रशंसनीय छ । सडक नाटक तथा विभिन्न अभियानहरूद्वारा जनचेतना फैलाउने काम गरिरहेका छन् । मानव अधिकार समूहले सुर्तिजन्य पदार्थ रोकथामका लागि भन्दै गाउँपालिकामा ज्ञापनपत्र समेत बुझाउनु भएको थियो । यसको रोकथाम तथा न्यूनिकरणका लागि मानव अधिकार समूह तथा अधिकारकर्मीहरुसँगको समन्वय र सहकार्यमा सयुक्त प्रयायहरु भइरहेका छन् ।