पटेर्वा गाविस–१ का सबुद मियाँको हत्या र मियाँकी बुहारी सगिरा खातुनको बलात्कारपछि हत्या गरी खाल्डोमा गाडेर ‘फरार’ रहेका सुरुङगा नगरपालिका–१० थलाहाका ६० वर्षीय गुल्जार मियाँलाई प्रहरीले मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेका अनुसार सिरहा जिल्लाको सखुवा नन्कारकट्टी गाउँपालिका–१ महेशवारी टोलमा लुकिछिपी बसिरहेको अवस्थामा मियाँलाई गिरफ्तार गरिएको हो ।
श्रृङ्खलाबद्ध बलात्कार र हत्याका मुख्य योजनाकार साविक टिकुलिया गाविस–६ घर भई कुशहा– ६ बस्ने सकिल हुसेन मियाँ र रईस मियाँका साथी गुल्जार मियाँ लामो समय नेपाल बाहिर रहँदै आएका प्रहरीको भनाइ छ ।
‘सिरियल किलर’ सकिललाई अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को कतार शाखाले कतारमा गिरफ्तार गरी ०७४ फागुन २० गते नेपालको जिम्मा लगाएको थियो ।

श्रृङ्खलाबद्ध हत्या घटनाका अर्का आरोपित भारतको मधुवनी लौकाहा बगमरिया घर भई सप्तरीको सारस्वरमा बस्दै आएका मो.मस्तकिम भनिने मो. रईस मियाँलाई प्रहरीले ०७३ भदौ १९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँबाट ०७६५६६४३ नम्बरको राहदानीसहित गिरफ्तार गरेको थियो ।
प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका गुल्जार, सकिल, रईसलगायतले साविक टिकुलिया गाविस–९ घर भई पटेर्वा गाविस–१ बस्ने सबुद मियाँको हत्या र मियाँकी बुहारी सगिरा खातुनको बलात्कारपछि हत्या गरेर गाडेको आरोप छ ।
बलात्कारपछि हत्या गरी गाडिएको अवस्थामा साविक टिकुलिया गाविस–९ घर भई पटेर्वा गाविस–१ बस्ने सगिरा खातुनको कङ्काल प्रहरीले कल्याणपुर गाविस–३ भदैयाबाट ०७२ असार ४ गते फेला पारेको थियो ।
यसअघि सोही स्थानको १५ मिटर उत्तरमा ससुरा सबुद मियाँको कङ्काल ०७२ जेठ ६ गते र दुलारीदेवीको कङ्काल ०७२ वैशाख २७ गते जण्डौल गाविस–८ बाट उत्खनन गरी प्रहरीले निकालेको थियो ।
ससुरा–बुहारी ०६९ असोज १० गतेदेखि सम्पर्कविहीन थिए भने दुलारी ०७० मङ्सिरको अन्तिम सातादेखि सम्पर्कमा थिइनन् ।
गुल्जारले नै सकिललाई पैसा दिएर आलमलाई छुटाउने विश्वास दिलाएपछि आलमका बुबा सबुद र आलमकी पत्नी सगिराले दुई कठ्ठा जग्गा विक्री गरी २ लाख ७६ हजार रुपियाँ बुझाएको सबुदका दाजु सखावत मियाँले जानकारी दिनु भयो ।
साविक जण्डौल गाविस–८ की गोरहनिया भनिने दुलारीदेवी मुखिया साह र त्रिकौल गाविसको निर्मलादेवी साहको हत्यामा पनि उनीहरू संलग्न रहेको प्रहरीको भनाइ छ । सकिलमाथि आफ्नै सासू, ससुरा र पत्नीको समेत हत्या गरेको आरोप छ ।
उनीहरूले फेरि ०७० चैत २ गते सप्तरी त्रिकौल–५ की अधिकारकर्मी निर्मलादेवी साहको हत्या गरेको आरोप छ । प्रहरीका अनुसार पैसाकै लोभमा एउटै उपायले आरोपितहरूले एकपछि अर्को हत्या गरेको खुलेको छ ।
सप्तरीदेखि सुनसरीसम्मका नौ जनाको श्रृङ्खलाबद्ध हत्या घटनाको अनुसन्धानका क्रममा प्रहरीले मुख्य योजनाकारका रुपमा पाएका सकिलले उनका मित आरुल मियाँ र पाण्डव पासवानको हत्या आरोपबाट छुटकारा पाएपछि गुल्जार र रईसको सहयोगमा एकपछि अर्को हत्या गरेको आरोप छ ।
यसअघि श्रृङ्खलाबद्ध हत्या घटनामा गिरफ्तार सारस्वर गाविस–३ का अलाउद्दिन मियाँ, शम्भुनाथ नगरपालिका–२ का नसरुल मियाँ र जण्डौल गाविस–५ की हजरुन खातुन पुर्पक्षका लागि ०७२ जेठ २९ गतेदेखि कारागारमा थुनामा थिए ।
यसैगरी सिरहाको सोनमती गाविस–६ मजलुम मियाँ ५० हजार रुपियाँ, कञ्चनरुप नगरपालिका–६ घोघनपुरकी समिना खातुन २७ हजार रुपियाँ र हनुमाननगर गाविस–९ की नगिना खातुन १९ हजार रुपियाँ धरौटीमा ०७२ जेठ २९ गते रिहा भएका थिए । सारस्वर गाविस–३ की बबिना खातुन भने ०७२ जेठ ३१ गते जमानतमा छुटेकी प्रहरीले जनायो ।