कपिलवस्तुमा झाडापखालाबाट दुई जनाको मृत्यु भएको छ । असोज १८ गतेदेखि सुरू भएको झाडापखालाको प्रकोपले कृष्णनगर नगरपालिका–९ का ४५ वर्षीय रामप्रसाद केवटको मृत्यु घरैमा र वडा नं. ८ का सात वर्षीय राज कस्यपको मृत्यु स्थानीय मेडिकलमा भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
कृष्णनगर नगरपालिकाको वडा नं ७, ८ र ९ मा झाडापखाला बिरामीहरू देखिएको भन्ने सूचना असोज १९ गते बिहान ६ बजे प्राप्त भए लगत्तै बिहानैदेखि आवश्यक औषधि र दुई जना चिकित्सकसहित स्वास्थ्य कार्यालयबाट कार्यालय प्रमुख सहितको टोली खटिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेले बताउनु भयो ।
उक्त टोली बिहान ९ बजे शिवराज अस्पताल बहादुरगञ्जमा पुग्दा अस्पताल बिरामीले भरिभराउ भएको थियो ।
१५ बेडको क्षमता भएको अस्पतालमा बिरामीहरू नअटाएपछि अस्पतालको बरण्डा, बरण्डा बाहिर र नजिकैको महेन्द्र प्राथमिक विद्यालयको कक्षा कोठा र चौरमा राखेर उपचार गरिरहेको अस्पतालका डाक्टर मुकेशकुमार चौधरीले बताउनु भयो ।












































