राहतको पार्खाइमा बसेका पाँचपोखरी थाम्पाल गाउँपालिका–१ याङ्ग्री, टासिवा र सुनचौरका बाढीपीडित नागरिकहरूले राहत पाउन सकेका छैनन् ।
इन्द्रवती खोलाको मुहानमा पर्ने याङ्ग्री, टासिवा र सुनचौर गाउँ भन्दा माथिबाट ०७८ असार १ गते बेलुकी आएको पाहिरोले इन्द्रावती खोला तीन घण्टासम्म थुनिएर खोलिएको बाढीले त्यस गाउँका ६८ घर परिवार बिस्थापित भएर जङ्गलमा बसेका छन् ।

बाढीले आवत जावत गर्ने बाटो बगाएको र बिकट बस्ती भएकाले राहत सामाग्री पुर्याउन कठिनाइ भएको पाँचपोखरी थाम्पाल गाउँपालिका अध्यक्ष टासि लामाले बताउनु भयो ।
बाढीपीडितलाई आएको राहत सामग्री मेलाम्ची क्षेत्रमा पुग्ने गरे पनि सडक सम्पर्कविहीन पाँचपोखरी थाम्पाल गाउँपालिकामा नआएको अध्यक्षको गुनासो छ ।

उहाँले वैकल्पिक व्यवस्था गरेर भए पनि यहाँका नागरिकलाई त्रिपाट, टेण्ट, खाद्यन्न र स्वास्थ्य उपचारको तत्कालै व्यवस्था गर्न पहल भइरहेको पनि अध्यक्ष लामाले जानकारी दिनु भयो ।
बाढीले हेलम्बु गाउँपालिका, पाँचपोखरी थाम्पाल गाउँपालिका, मेलम्ची नगरपालिकाका ६, १० र ११ नम्बर वडाहरू तथा इन्द्रावती गाउँपालिकाका वडा नं. ११ र १२ मा व्यापक क्षति पुगेको छ ।

इन्द्रवती खोलामा आएको बाढीले पाँचपोखरी थाम्पाल गाउँपालिका–१ मा रहेको याङ्ग्री स्वास्थ्य क्लिनिक भवन र याङ्ग्री एकेडेमी स्कुल भवन बगाएको छ ।
त्यसैगरी तिपेनी बजार तिपेनी प्रहरी चौकी भवन र खोला आसपासमा रहेका घरहरू तथा खेतियोग्य जमीनहरू बगाएर बगरमा परिणत भएको छ ।

मेलम्ची खोलामा आएको अकल्पनीय भिषण बाढीले हेलम्बु गाउँपालिकामा चार जनाको मृत्यु भएको र २३ जना बेपत्ता भएको गाउँपालिकाले जनाएको छ ।
बढीले हेलम्बु गाउँपालिकामा रहेको तिम्बु बजार, चनौटे बजार र महांकाल बजार, बगाएको छ । कति नागरिकहरू बिस्थापित भए भन्ने तथ्याङ्क हेलम्बु गाउँपालिकाले तयार गर्न बाँकी रहेको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताउनु भयो ।

हेलम्बु गाउँपालिकामा रहेको आठ ओटा ट्राउ माछा फर्म बगाएको छ । त्यसबाट नागरिकहरूको रोजगारी मात्र खोसिएन करोडौं रुपियाँको नोक्सान समेत भएको छ ।
असार १ गते आएको बाढीले मेलम्ची र इन्द्रवाती खोलाको दोभानमा रहेको मेलम्ची बजार ब्यापक मात्रामा क्षति पुगेको छ ।

मेलम्ची बजारबाट ५ सय परिवार विस्थापित भएको मेलम्ची नगरपालिकाले जनाएको छ । बाढीले मेलम्ची नगरको गौरवको आयोजनाहरू मेलम्ची सिटी पार्क, मेलम्ची बसपार्क, फोहोरमैला प्रशोधन केन्द्रलगायतका आयोजनाहरू बगाएको छ ।

मेलम्ची चौतारा जोड्ने पक्की पुल, झोलङ्गे पुल, खानेपानी, सिंचाइ कुलो जस्ता सार्वजनिक संरचनाहरू बगाएर ध्वस्त बनाएको छ । मेलम्ची नदी किनारमा रहेको हजारौ रोपनी कृषि योग्य जमीन बगरमा परिणत भएको छ ।
बाढीले हेलम्बु गाउँपालिका, पाँचपोखरी थाम्पाल गाउँपालिका र मेलम्ची नगरपालिका नागरिकहरूलाई आर्थिक रूपले बिपन्न बनाएको छ ।

घर र जग्गाजमीन समेत खण्डहर बनेका छन् । बाढीमा परि बेपत्ता भएका परिवारहरू शोकको पिडामा छन् । अविरल वर्षात् पछि आएको बाढीले बेपत्ता भएकाहरूको खोजी गर्न कठिनाइ भएको छ ।
मृतकका आफन्तले घरमा बसेर आफ्नो धर्म संस्कृति अनुसार मृतकको नाममा काजक्रिया गर्न पाएका छैनन् । उनीहरू विस्थापित भएर अरुको साहारामा बस्न बाध्य छन् ।

बाढीले सडक र पैदल मार्गसमेत बगाए पछि हेलम्बु र पाँचपोखरी थाम्पाल गाउँपालिकामा रहेका बिस्थापितहरूलाई राहत पुर्याउन कठिनाइ छ ।
हेलिकप्टरबाट लगिएको राहत सामाग्री माथिबाट फालिदिँदा टुटफुट हुने र वितरणमा समतामूलक नहुने अवस्था देखिन्छ ।

मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले खोला किनारा आसपासमा रहेका नागरिकहरूको भौतिक सम्पत्ति केही रहेन । उनीहरूको जीवनको अधिकार देखि शिक्षा, स्वास्थ्य रोजगारीको अधिकार लगायत महिलाहरूका अधिकार बालवालिकाहरूका अधिकार अपाङ्गता भएकाहरूको अधिकार समेत खोसिएको अवस्था छ ।

बाढीका कारणले नागरिकहरूको अधिकार खोसिएको अवस्थामा सम्भव भएसम्म स्थानीय सरकारले नागरिकहरूको जीवन रक्षाको लागि र खोसिएका अधिकारहरूलाई सम्बोधन गर्ने प्रयास गरिरहेको देखिन्छ ।
बाढी पीडितलाई राहत, उद्धार, पुनर्स्थापना लगायतका कामलाई ब्यवस्थित बनाउन स्थानीय सरकारले जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा असार २ गते एक समिति बनाएको छ ।

समितिले प्रभावित क्षेत्रको सूचना आदन प्रदान गर्ने उद्धार कार्यमा टोली परिचालित गर्ने सम्भव भएका ठाउँहरूमा मौसम अनुकुल भएका बखत राहत उपलब्ध गराउने जस्ता काम गरिरहेको समितिका संयोजक कृष्णगोपाल तामाङले बताउनु भयो ।