INSEC Online

📅 २०८३ जेष्ठ २१

साना व्यापारीका ठूला दुःख !

राजविराज नपा–४ का २८ वर्षीय जितेन्द्र साहलाई राम्रोसँग निद्रा नपरेको तीन साता भयो । कोभिड–१९ को सङ्क्रमणको डरले अनिश्चितकालिन निषेध आदेश जारी भएपछि उहाँ सपरिवार घरभित्रै बस्नु भयो । निषेध आदेशअघि वैशाख २५ गतेसम्म फुटपाथमा नास्ता व्यापार गरेर गुजारा चलाइरहनु भएका साहलाई कोभिड सङ्क्रमणसँगै प्रहरीको कुटाई र जरिबानाको भय पनि उत्तिकै छ । निषेध आदेश लम्बिँदै र पैसा सकिँदै आएपछि पाँच जना परिवारको पेट भर्न साह अहिले साइकलमा घुम्ती सेवाका साथ नास्ता व्यापार गर्न थाल्नु भएको छ ।

photo20210608saptari_1
‘लकडाउनअघि आम्दानी राम्रै थियो, नास्ता पसलबाट पाँच जनाको परिवार पालिएकै थियो ।’–साहले भन्नु भयो–‘लकडाउनपछि पसल बन्द भयो र आम्दानीको स्रोत गुम्यो ।’ तीन साता त साह घरमै बस्नु भयो । परिवार नै भोकले रन्थनिएपछि कोभिड सङ्क्रमणभन्दा भोकको भयले बाहिर निक्लनु परेको साहले बाध्यता सुनाउनु भयो । उहाँ दिउँसो साइकलका पछाडि कार्टुनभित्र समोसा र ह्याण्डिलको एकातिर स्टिलको कमण्डलुमा अचार र अर्कोतिर चनाको तरकारी राखेर औषधि पसल र अस्पताल क्षेत्रमा देखा पर्नुहुन्छ । बजारका सबै होटल बन्द भएका बेला यो सेवाले औषधि व्यवसायी, अस्पतालका कर्मचारी र बिरामीका कुरुवालाई भने सजिलो बनाएको रूपनी गाउँपालिका–५ का सरोज यादवले बताउनु भयो । कोभिडका कारण अस्पताल क्षेत्रमा सीमित भएको उहाँको घुम्ती पसलमा नास्ता खान मानिसहरू डराउने गरेकाले आधा पनि बिक्री नहुने गरेको साहले बताउनु भयो । लकडाउनअघि साह जस्तै राजविराजमा नास्ता, चिया, तरकारी बिक्री गर्ने अधिकांश व्यापारीहरू अहिले ठेला र टोकरीमा राखेर फलफूल बिक्री गर्न लागेका छन् । मानिसहरूको आवतजावत नहुने गरी जारी भएको निषेध आदेश लम्बिएपछि ठेलामा फलफूल बिक्री गर्न थालेको राजविराज नपा–६ का राजकुमार मण्डलले बताउनु भयो । कोभिड सङ्क्रमणको डरले केही दिन व्यवसाय बन्द गरे पनि तीन छोराछोरी र बुवाआमासहित सात जनाको परिवार पाल्न तरकारी बिक्री गर्न छाडेर ठेला गुडाउँदै फलफूल बेच्न थालेको मण्डलले बताउनु भयो ।

‘हाटबजारमा बस्दा जरिबाना तिराउँछ ।’–तरकारी छाडेर तरबुज बेच्न थाल्नु भएका अरबिन्द दास भन्नु हुन्छ–‘टोलहरूमा ठेला घुमाएर बेच्दा भने प्रहरीले रोकतोक गर्दैन । तर, मानिसको आवतजावत नै नभएकाले बिक्री भने छैन ।’ ठेला व्यापारीहरूको भनाइमा सबैभन्दा ठूलो मारमा साना व्यापारी परेका छन् । ‘धनी, सम्पन्नलाई खाद्यान्नको चिन्ता छैन । गरिब, विपन्नको घर–घरै पुगेर सामाजिक सङ्घ–संस्था एवम् मनकारी व्यक्तिहरूले राहत वितरण गरिरहेका छन् ।’–तरकारी छाडेर फलफूल बेच्न थाल्नु भएका श्रवण दासले भन्नु भयो–‘बाँकी हामी घरका न घाटका जस्ता भएका छौँ । बिक्री नभएर बेच्ने समान पनि कुहिएर फ्याक्नु पर्छ ।’

photo20210608saptari_3
‘हामी साना व्यापारीहरूले राहतका लागि हात पसार्न पनि सक्दैनौँ । व्यापार पनि चलेको छैन ।’– राजविराज नपा–५ का शङ्कर साफीले दुःखेसो गर्नु भयो । निषेध आदेशपछि पसल बन्द रहनाले खल्ती रित्तिँदै आएको छ । राजविराजमै सानो घर भए पनि सानोतिनो व्यापार गर्ने र सबथोक किनेर खाने वर्गको आर्थिक स्थिति नाजुक बन्दै आएको साफीको भनाइ छ । सानोतिनो व्यापारकै भरमा सहरमा टिकेकाहरूलाई सबथोक किनेर खानलाई पैसा छैन । खाद्यान्न सामग्रीका सवारीसाधन खुला भएपनि निषेध आदेशपछि ठूला व्यापारीहरूले कृत्रिम अभाव सृजना गर्दै दाल, तेल, मसलामा मूल्यवृद्धि गरेको उषा महतोले बताउनु भयो । नास्ता पसल बन्द गरेर लिची बेच्न थाल्नुभएकी महतोका अनुसार सरकारले आपूर्ति व्यवस्था राम्रो भने पनि किराना व्यवसायीले निषेध आदेशपछि सामान आपूर्ति नभइरहेको र महङ्गोमा किन्नु परेको बताउने गरेका छन् ।

photo20210608saptari_4
निषेध आदेशले महङ्गिएको अत्यावश्यक सामान किनेर खाँदा साना व्यापारीहरूको खल्ती छिटोछिटो रित्तिएको छ । ‘गरिव र सुकुम्बासीका लागि गत वर्ष नगरपालिकाले सोच्यो, यसपटक विभिन्न मनकारी व्यक्तिहरूले राहत बाँडेको देख्छु ।’ फलफूल व्यापारी मुकेश स्वर्णकार भन्नुहुन्छ–‘दिनहुँ गरिखाने वर्गको बारेमा सबै निकाय बेखबर छ ।’ उहाँ थप्नु हुन्छ्,–‘हामिले राहत माग्यौँ भने पनि कसैले पत्याउँदैन ।’ घरभित्रै सबथोक भएका सम्पन्न वर्ग बाहेक अन्यको हकमा निषेध आदेशको समयमा जीवन धान्न कठिन र तनावपूर्ण छ । दैनिक हुने व्यवसायमा भर पर्ने र किनेर खाने वर्गका लागि लकडाउन लम्बिदा उनीहरू सबैभन्दा मारमा परेका छन् । पसलसटर भाडामा लिएर चियानास्ता, तरकारी, पान, सैलुन र साना व्यवसाय गर्नेको हिसाबकिताबको सन्तुलन बिग्रेको छ ।

photo20210608saptari_5
अत्यावश्यक खाद्यान्न सामग्रीका पसललाई केही खुकुलो गरिएपनि फुटपाथ र पसलसटरमा साना व्यवसायबाट रोजीरोटी चलाउँदै आएकाहरूको व्यापार एक महिनादेखि बन्द भएकाले भोकै बस्नुपर्ने बाध्यता आइपरेको चटपटे पसले राजकुमार साफी बताउनु हुन्छ । पुस्तौँदेखि चटपटे बेच्दै आएको साफी परिवार चटपटे बेच्न नपाएपछि बिहान बेलुकाको छाक टार्ने समस्यामा छ । सैलुन चलाएर जसोतसो छाक टार्ने मेसो मिलाएका ओमप्रकाश ठाकुरले भन्नु भयो–‘आफूलाई बिहान बेलुका छाक टार्न मुस्किल परिसक्यो । अब लकडाउन खुलेपछि पसल खोल्न जाँदा ग्राहक भन्दा पहिले घरबेटी नै भाडा माग्न आउँछन् होला ।’ साना व्यापार व्यवसाय बन्द भएपछि आफ्नो खाने स्रोेत खोसिएकाले कसरी बाँच्ने भन्ने चिन्ता लाग्न थालेको साना व्यापारीहरू बताउँछन् । पान पसल गर्दै आउनु भएका हनुमाननगर कङ्कालिनी नपा–१० इनरुवाका भोगेन्द्र मण्डलले आफू भोकै बसे पनि बालबच्चालाई के खुवाउने, भाडा कसरी तिर्ने भन्ने चिन्ताले सताएको बताउनु भयो ।

photo20210608saptari_6
कोभिडना सङ्क्रमणको जोखिम बढेको भन्दै साना पसलसमेत बन्द गरिए पनि नेताहरूलाई भीडभाड हुने गरी पुतला दहन, मशाल जुलुस र मैनबत्ती प्रज्वलन गर्न रोक नलागेको देख्दा चिया पसले माया मण्डललाई आक्रोशित तुल्याएको छ । भाडाको कोठामा साइकल मर्मत गरेर गुजारा गर्दै आउनु भएका जयराम बडहीले पसल खोल्न नपाएपछि रोगले भन्दा पनि भोकले मरिने चिन्ता लाग्न थालेको बताउनु भयो । उहाँले भन्नु भयो–‘साना व्यापारीहरूलाई राहतको आश पनि छैन् । काम गरी खाने वातावरण पनि छैन । उहाँहरूको एउटै चाहना छ–‘सङ्क्रमितहरूको पहिचान, उपचार र खोपको व्यवस्था चाँडै हुन सकोस् र लकडाउन थप नलम्बियोस !’
photo20210608saptari_7

अन्य

भिडियो