एक महिना भयो दिललाई राम्रो सँग निद्रा लागेको छैन । घरको भाडा, लाखौँ ऋणको ब्याज, किस्ता र बन्द गरेर राखेको होटल सम्झेर कोल्टे फेर्दाफेर्दै धेरै रात बितेका छन । २०५८ सालमा माओवादीमा लागेर बन्दुक बोकेपछि देशमा आएको शान्ति प्रक्रियासँगै समाजसेवामा लागेर व्यवसाय गर्ने सोचले होटल खोलेको तीन वर्ष बित्यो । राजनीति गर्दा आर्थिक अभाव हुन थालेपछि पैसा कमाउन नेपालमै व्यवसाय गर्ने हुटहुटी थियो । तर, तीन वर्षमै आफ्नो योजना र निर्णय प्रति पछुतो लाग्न थालेको छ ।

धनकुटा नगरपालिका–१ हिलेका ४५ वर्षीय खगेन्द्रकुमार विष्टले १५ लाख रुपियाँ लगानी गरेर २०७४ वैशाख महिनाबाट हिलेबजारमा ‘होटल हिलेभ्यू’ नामक होटल सञ्चालनमा ल्याउनु भएको थियो । मासिक ६० हजार रुपियाँ भाडा तिर्ने गरी घर भाडामा लिएर सुरू गरेको व्यवसाय उत्साहप्रद थियो । तर, कोभिड–१९ को महामारीका कारण जिल्ला प्रशासन कार्यालय धनकुटाले वैशाख १५ गतेबाट निषेध आदेश जारी गर्यो । पहिलो पटक एक हप्ताको लागि गरिएको निषेध आदेश १ महिना बित्दा समेत सङ्क्रमण नघटेकाले निषेध आदेश जारी नै रहेपछि भोक, निद्रा हराएको विष्टको भनाइ छ । कोभिडका कारण गत वर्ष सात महिना होटल बन्द भयो । यो पटक पनि अवस्था उस्तै आएको छ । बैङ्कको ऋण र किस्ताको व्यथा छुट्टै छ । घरको भाडा मात्र पनि कसरी तिर्ने ? पत्तो छैन । ‘व्यवसाय चलाएको मान्छे भाडा तिर्न नै ऋण खोज्नुपर्ने अवस्था आएको छ । यस्तो बेलामा ऋण कसले दिन्छ ?’–विष्टले भन्नु भयो ।
गत वर्ष धनकुटा उद्योग वणिज्य सङ्घले घरभाडा छुट गर्नको लागि घरधनीलाई आग्रह गरेको थियो । जसमा जिल्लाभर ३ सय ६० घरधनीले एक महिनाको घरभाडा छुट गरेका थिए । उनीहरूलाई उद्योग वाणिज्य संघले सम्मानित गरेको अध्यक्ष राई बताउनुहुन्छ । भाडा तिर्न नसकेर व्यवसाय छोडेकाहरूलाई पुनः व्यवसायमा फर्काउनको लागि पहल भइरहेको बेला पुन नयाँ भेरियन्टसहितको सङ्क्रमण फैलिएपछि अरु पनि विस्थापित हुने अवस्था आएको राईको भनाइ छ । विषम परिस्थितिमा नाफाघाटा नभएर व्यवसायलाई बचाउन आवश्यक पहल गर्नुपर्ने धनकुटा बहुमूखी क्याम्पसका पूर्व प्राध्यापक डाक्टर ठाकुरप्रसाद बरालको सुझाव छ । ‘तत्कालका लागि एउटा व्यवसायमात्रै बन्द भएको बुझिन्छ ।’–बरालले भन्नुभयो–‘तर एउटा व्यवसायको अवसर सबैसँग जोडिएको हुन्छ यसको असर सबैलाई पर्छ ।’ एउटा व्यवसाय बन्द हुँदा व्यवसायीलाई मात्र नभएर घरधनी, व्यवसायीका परिवार, स्कूल कलेजको फिदेखि करसम्मका कुरा जोडिएको हुने उहाँको भनाइ छ । बरालका अनुसार हरेक व्यवसाय एक अर्कासँग जोडिएर अन्ततः राष्ट्रिय अर्थतन्त्रमै असर पुर्याउने भएकाले व्यवसायमा हात धुने अवस्था नल्याउनका लागि पुँजी आर्जन गरेपछि मात्रै भाडा तिर्ने र अन्य व्यवहार मिलाउने गरी व्यवसायीलाई हौसला प्रदान गर्नुपर्ने बरालको भनाइ रहेको छ । त्यस्तै बैङ्कको ब्याजदरमा छुट, राहतका कार्यक्रमलाई जोड्न सकेमा मात्रै आजको अवस्थामा व्यवसाय टिकाउन सकिने पूर्व प्राध्यापक डाक्टर बरालको भनाइ रहेको छ ।
छथर जोरपाटी गाउँपालिका–२ का ३३ वर्षीय रामबहादुर कार्कीले पछिल्लो पाँच वर्षदेखि धनकुटा नगरपालिका–७ मा पुस्तक पसल सञ्चालन गर्दै आउनुभएको थियो । धनकुटा बजारमा उहाँको ‘हाम्रो पुस्तक पसल’ थियो । गत वर्ष लकडाउनपछि पसल बन्द गरेर घर जानु भएका कार्कीलाई घरभेटीले फोन गरेर एक महिनाको भाडा छुट भयो बाँकी भाडा तत्काल नदिए पुलिस बोलाउँछु भने । ‘तत्काल भाडा दिन नसके पनि व्यवसाय खोल्ने अवस्था भएपछि भाडा मागेको भए हुन्थ्यो ।’–विष्ट भन्नुहुन्छ–‘भर्खरै भाडा तिरे तिर् नतिरे पुलिस बोलाउँछु भनेपछि सटर खाली गरेर चाबी बुझाइदिएँ । अब यो वर्ष पनि त्यस्तै समस्या आउने भयो, निकै समस्यामा परेको छु ।’ उहाँले मासिक १५ हजार रुपियाँ भाडा तिर्दै आएको बताउनु हुन्छ ।
धनकुटा नगरपालिका–२ भीरगाउँका ४० वर्षीय हरिबहादुर मगरले साँगुरीगढी गाउँपालिका–६ भेडेटारमा होटल सञ्चालन गरेको १० वर्ष भयो । पाँच वर्षसम्म कतारमा मजदुरी गरेर फर्कनु भएका मगरलाई विदेशी र विदेशले नदिएको पीडा कोभिड र घरभेटीले दिएको जस्तो लागेको छ । निषेध आदेश जारी भएपछि पसल बन्द गरेर गाउँ फर्किनु भएका मगरलाई अब कसरी भाडा तिर्ने भनेर निकै सताउन थालेको छ । गत वर्ष लकडाउनका कारण ऋण गरेर तिरेको घरभाडाको ऋण अहिलेसम्म तिर्न बाँकी रहेको भन्दै मगरले यो वर्ष पीडा थपिएको बताउनु भयो । धनकुटा नगरपालिका–१ का युवा व्यवसायी मोहन श्रेष्ठले यो वर्ष निषेध आदेश जारी हुनुपूर्व १५ जनालाई रोजगारी दिएको भएपनि अहिले धेरैलाई हटाइसकेको बताउनुहुन्छ । तेह्रथुम, सङ्खुवासभा र भोजपुरका साबुन, स्याम्पुलगायतका समान ढुवानी गर्दै आउनु भएका श्रेष्ठ लाखौँ ऋणको ब्याज र किस्ता तिर्न कठिन भएकाले कर्मचारी पाल्न नसक्ने अवस्था आएको बताउनुहुन्छ । धनकुटामा रहेको एक मात्रै फिल्म हल सदाका लागि बन्द भएको छ । धनकुटा नगरपालिका–७ मा रहेको केडिवी हल सञ्चालन गर्दै आउनुभएका पूर्णकुमार चौधरीले कोभिड कहरकै कारण फिल्म हल बन्द गर्नुपरेको बताउनु भयो ।

विष्ट मात्र होइन धनकुटाका विभिन्न बजारमा मासिक १० हजार रुपियाँ भाडा तिर्नेदेखि एक लाख रुपियाँसम्म भाडा तिर्ने सयौँ व्यवसायी छन् । कोभिड–१९ न्यूनीकरण र नियन्त्रणका लागि जारी निषेध आदेशले उनीहरूको उठिबास नै भएको छ । व्यवसाय सञ्चालनमा नआउँदा समेत घरभेटीलाई भाडा तिर्नुपर्ने समस्याले गत वर्ष धनकुटाका दुई दर्जन बढी व्यवसायी व्यवसायबाटै पलायन भएको उद्योग वाणिज्य सङ्घ धनकुटाका अध्यक्ष विनयसन्तोषी राईले बताउनु भयो । जसमध्ये चार ओटा मात्रै सुनचाँदी पसल छन् । इलेक्ट्रोनिक्स, फेन्सी तथा अन्य पसल गरी दुई दर्जन व्यवसायीले सटर खाली गरेको अध्यक्ष राईको भनाइ छ । गत वर्ष कोभिड रोकथाम तथा व्यवस्थापनको लागि सरकारले लामो समय लकडाउन गर्यो । यो अवधिमा घरभाडा तिर्न नसकेर सटर खाली गर्नेहरू मात्र होइन व्यवसाय बन्द हुँदा रोजगारी गुमाउनेको सङ्ख्या पनि बढ्दो थियो । यो वर्ष पनि उस्तै अवस्था आउने राईको अनुमान छ ।