राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत ३६ वर्षीय डाक्टर अजय चौधरीलाई दुर्व्यवहार गरेको आरोपमा निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रणजीतकुमार झाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा फागुन २७ गते पीडित पक्षले अभद्र व्यवहारको उजुरी दिएको छ ।
अस्पताल परिसरमा रहेको आवासगृहमा फागुन २६ गते राति ११ बजे अनधिकृत रूपमा प्रवेश गरी आरोपित डाक्टर झा र केही कर्मचारीसहित २० जनाको समूहले गालीगलौज गरी ढोकाको तारजालीमा लात्ति प्रहार गरेको आरोप लगाउँदै डाक्टर चौधरीले जिल्ला प्रहरी कार्यालयमा कारवाहीका लागि उजुरी दिएको बताउनु भयो ।
राजविराजस्थित अनुप दास धर्मशालामा आयोजित पत्रकार सम्मेलनमा डाक्टर चौधरीले घटनाबारे जानकारी दिनु भएको हो ।
आरोपको खण्डन गर्नुहुँदै निमित्त मेसु डाक्टर झाले सरकारी अस्पतालमा हाजिर गरेर दिनभरी निजी अस्पतालमा काम गर्ने चिकित्सकहरूलाई स्पष्टिकरण सोधेको विषयमा गुट बनाई छिन्नमस्ता अस्पतालमा कार्यरत चिकित्सक, कर्मचारी र केही औषधि व्यवसायीको जमातले फागुन २६ गते राति ११ः३० बजे गालीगलौज गर्दै आफ्नो ढोकामा आक्रमण गरेको र प्रायोजित रूपमा निराधार हल्ला चलाएको बताउनु भयो ।
अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा डाक्टर झाले निजी अस्पताललाई फाइदा हुने गरी मेशिनहरू बिगार्न खोज्ने, उपचार सम्भव भएका बिरामीहरू पनि रेफर गर्ने, कार्यरत सरकारी अस्पतालमा राउण्ड नलिने, काम गर्नु पर्ने समयमा निजी अस्पतालमा काम गर्ने, फेलोसिपमा पढ्दा र अमेरिका रहँदा समेत हाजिर गर्ने प्रवृत्ति रहेको बताउँदै सरकारी अस्पताल डुबाई निजी अस्पताल चलाउने प्रयासस्वरुप घटना भएको आरोप लगाउनु भयो ।
अस्पताल परिसरमा रहेको डाक्टर झा र चौधरी निवासको ढोकामा सामान्य क्षति पुगेको छ । डाक्टर झाको विपक्षमा छिन्नमस्ता अस्पतालका कर्मचारी, चिकित्सक र केही औषधि व्यवसायी र ल्याब टेक्निसियनहरू देखिएका छन् ।
उनीहरूले डाक्टरहरू बचाउ अभियान भन्दै फागुन २७ गते बिहीबार राजविराजमा प्लेकार्डसहित विरोध प्रदर्शन समेत गरेका छन् ।
आरोप प्रत्यारोपमा दुई समूहमा विभाजित डाक्टरहरूको मौखिक र लिखित ‘आरोपपत्र’ र ‘कारवाहीको माग’ ले सप्तरीको स्वास्थ्य अवस्थालाई गम्भीर मोडमा पुर्याएको चिकित्सकहरूले नै बताएका छन् ।