१५ वर्षीया बालिकालाई अपहरण गरी शरीर बन्धक तथा बालविवाह गराई बलात्कार गरेको आरोपमा जिल्ला अदालतले राजगढ गाउँपालिका–५ मलेकपुरका ४५ वर्षीय राजेन्द्र साहसहित ६ जनाविरूद्धको मुद्दा फागुन २६ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।
न्यायाधीश चन्द्रमणी ज्ञवालीको इजलासले साहसहित १६ वर्षीय बालक, राजगढ गाउँपालिका–५ मलेकपुरका ३९ वर्षीय गङ्गाइ साह, ४५ वर्षीय सुरैतलाल साह, ४० वर्षीया सुनैना र ३० वर्षीय विमलेश साहविरूद्धको मुद्दा मुल्तबीमा राख्ने फैसला गरेको हो ।
बालिकालाई आरोपित १६ वर्षीय बालकले ०७५ साउन २७ गते ललाइफकाई धनमालसहित अपहरण गरी लगेको भनी सोही दिन पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा हुलिया जाहेरी तथा आरोपित ६ जना विरूद्ध ०७५ भदौ १५ गते उजुरी दिएकी थिइन् ।
घर फर्केर आएकी बालिकालाई प्रहरीले ०७५ भदौ १८ गते कागज गराउनुका साथै भदौ १९ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गराएको थियो ।
प्रहरीले आरोपित बालकलाई ०७५ भदौ १९ गते गिरफ्तार गरी उजुरी दर्ता गरेको थियो । बालककी आमाले ०७५ भदौ १६ गते जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुन भनी बालकलाई गैरकानुनी थुनामा राखी भदौ १९ गते अदालतबाट म्याद थप गरेको भन्दै बालकको हकमा उच्च अदालत जनकपुर राजविराज इजलासमा ०७५ भदौ २२ गते बन्दी प्रत्यक्षीकरणको रिट दिएकी थिइन् ।
उच्च अदालतको संयुक्त इजलासले ०७५ भदौ २५ गते बालकलाई आमाको जिम्मा जमानीमा रिहा गर्ने आदेश दियो ।
अपहरण शरीर बन्धक तथा बालविवाह गराई जबरजस्ती करणी गरेको मुद्दा जिल्ला अदालतमा ०७५ माघ २४ गते दायर भएकोमा वारेण्टसहितको म्यादी पुर्जी जारी भएको थियो ।
अदालतबाट ०७५ फागुन १३ गते र चैत ४ गते समेत पक्राउ पुर्जी जारी भएकोमा हालसम्म फेला नपरेपछि मुद्दा मुल्तबीमा राख्ने फैसला भएको अदालतले जनाएको छ ।