२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले विष्णुपुर गाउँपालिका–५ बोरियाका ३५ वर्षीय मोहम्मद रहमुल मियाँलाई फागुन २३ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले पटकपटक र पछिल्लो पटक ०७७ जेठ २६ गते बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय, सप्तरीमा ०७७ असोज २९ गते उजुरी दिएकी थिइन् ।
प्रहरीले उजुरी दर्ता नगरेपछि पीडितले जिल्ला प्रशासन कार्यालयमा ०७७ कात्तिक ३ गते उजुरी दिएकी थिइन् ।
जिलला प्रशासन कार्यालयले समन्वय गरेपछि जिल्ला प्रहरी कार्यालयले ०७७ कात्तिक ४ गते उजुरी दर्ता गर्यो ।
पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०७७ कात्तिक ४ गते भयो ।
जिल्ला अदालतले ०७७ कात्तिक ५ गते पक्राउ पुर्जी जारी गरे पनि गिरफ्तार नभएका आरोपितलाई गाउँघरमै लुकेर बसेको अवस्थामा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्रप्रसाद धमलाले बताउनु भयो ।
बलात्कारबाट गर्भवती बनेकी पीडितबाट राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०७७ कात्तिक १५ गते छोराको जन्म भएको छ ।