बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित जनता आधारभूत विद्यालयमा माघ ११ गतेदेखि तालाबन्दी हुँदा ४३ दिनदेखि पठनपाठन ठप्प भएको छ ।
बलान बिहुल गाउँपालिका–३, टिकुलियास्थित प्राथमिक विद्यालयमा कार्यरत सुकदेवप्रसाद साह सरुवा भई हाजिर भएकै दिनदेखि स्थानीय केही व्यक्तिले लगाएको ताला नखोलिँदा विद्यार्थीहरूको पठनपाठन ठप्प भएको हो ।
कक्षा आठसम्म पढाइ हुने विद्यालयमा अध्ययनरत करिब २ सय ५० विद्यार्थीको पठनपाठन ठप्प हुनुका साथै अर्धवार्षिक परीक्षा समेत सञ्चालन गर्न नसकिएको प्रधानाध्यापक सुकदेवप्रसाद साहले बताउनु भयो ।
विद्यालयका पूर्व प्रधानाध्यापक फुलदेब कापैरले हरहिसाब बरबुझारथ नगरी अवकाश लिएर गएको, विद्यालयमा आवश्यक र योग्य शिक्षक नभएको, योग्य शिक्षकलाई आउन नदिएको, विद्यालयको नाममा जग्गा नभएको जस्ता समस्या उठाउँदै तालाबन्दी गरिएको स्थानीय कृष्णदेव यादवले बताउनु भयो ।
गाउँपालिका, वडा कार्यालय र तत्कालिन प्रधानाध्यापक कापैरको अनुमति सिफारिशका आधारमा शिक्षा विकास तथा समन्वय इकाइबाट ०७६ असोज २९ गतेको सरुवा पत्रका साथ १३ महिनापछि आउनु भएका प्रधानाध्यापक साहले विद्यालयको हरहिसाब दिन नसकेको, विद्यालयको जग्गा प्राप्तिमा चासो नदेखाएको आरोप लगाइएको छ ।
प्रधानाध्यापक साहले स्थानीय राजनीतिक मतभिन्नताका कारण सरुवा भई विद्यालय हाजिर भएकै दिन केही व्यक्तिले पूर्वाग्रह राखी ताला लगाएको प्रतिक्रिया दिनु भयो ।
शिक्षा विकास तथा समन्वय इकाई, गाउँपालिका कार्यालय तथा जिल्ला र इलाका प्रहरी कार्यालय कडरबोनामा तालाबन्दीको विषयमा विद्यालय र अभिभावकहरूले जानकारी दिए पनि ताला खोल्न सरोकारवाला निकायले कुनै पहल नगरेको उहाँले बताउनु भयो ।
स्थानीय अभिभावकहरूका अनुसार गाउँपालिका अध्यक्ष दयानन्द गोइत र उपाध्यक्ष गुप्ताबिचको विवादका कारण विद्यालयमा तालाबन्दी भएको र गाउँपालिकाले खोल्ने पहल नगरेको हो ।
अध्यक्ष गोइतले स्थानीयवासी, अभिभावक र प्रधानाध्यापकले छलफल गरेर समस्या समाधान गर्नुपर्ने बताउनु भयो ।
राजनीति प्रतिद्वन्द्विताले विद्यालयमा आवश्यक र सक्षम शिक्षक कहिल्यै नआएको तथा निजी स्रोतमा राखिएका शिक्षकहरू समेत निकाल्नु परेको वडा अध्यक्ष हँसु मियाँको भनाइ छ ।