१३ वर्षीया बालिकालाई बलात्कार गरेको तथा गर्भपतन गरी कसुर संरक्षण गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीले रुपनी गाउँपालिका–२ का २५ वर्षीय वीरेन्द्रप्रसाद साह, साहका ३८ वर्षीय दाजु गजेन्द्रप्रसाद साह र वीरेन्द्रका ससुरा भारत बिहार राज्य सुपौल जिल्ला सोनापुर ग्रामपोष्टका हेमनारायण साह (हलुवाई) विरुद्ध फागुन १७ गते उजुरी दर्ता गरेको छ ।
पीडितलाई आरोपित वीरेन्द्रले विभिन्न प्रलोभन तथा डरत्रास देखाई बलात्कार गरेर गर्भवती बनाएको र अन्य आरोपितहरूले आठ महिनाको गर्भपतन गराएको भन्दै पीडितका हजुरबुबाले जिल्ला प्रहरी कार्यालयमा फागुन १३ गते उजुरी दिएका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फागुन १३ गते गरिएको छ ।
आरोपित वीरेन्द्र रुपनी गाउँपालिका–२ स्थित बलदेव साह मेमोरियल बोर्डिङ स्कुलका सहायक प्रधानाध्यापक र दाजु गजेन्द्र प्रधानाध्यापकका रूपमा कार्यरत छन् ।
वीरेन्द्रले परीक्षामा अनुत्तिर्ण गर्ने धम्की दिई कक्षा कोठामा पटकपटक र पछिल्लो पटक २०७६ चैत २७ गते बलात्कार गरी गर्भवती बनाएको र भारतको दरभङ्गा लगेर आरोपितहरूले आठ महिनाको गर्भपतन गराएको पीडितले बताइन् ।
आरोपितहरु फरार रहेकाले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयो ।