INSEC Online

📅 २०८३ जेष्ठ २१

आत्महत्या दुरुत्साहन घटनाका आरोपित ‘पञ्च’ गिरफ्तार

१७ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि आत्महत्या दुरुत्साहन घटनाका आरोपित पञ्च डाक्नेश्वरी नपा–७ ललितपुरका ५० वर्षीय शत्रुघ्न मण्डललाई प्रहरीले पुस ६ गते राजविराजबाट गिरफ्तार गरेको छ ।

पीडित परिवारलाई उजुरी फिर्ता लिन र बयान परिवर्तन गर्न दबाब दिँदै गाउँघरमै बस्दै आएको आरोप लागेका मण्डललाई राजविराज आएका बेला जिल्ला प्रहरी कार्यालयको टोलीले गिरफ्तार गरेको एसपी राजेन्द्रप्रसाद धमलाले बताउनु भयो ।

सप्तरी जिल्ला अदालतले मङ्सिर २६ गते सात दिने पक्राउ पुर्जी जारी गर्दै फरार मण्डलसहित नौ जना आरोपितलाई सो अवधिमा फेला नपारे ३५ दिनभित्र तदारुकताका साथ खोजतलास गरी अदालतमा उपस्थित गराउन इलाका प्रहरी कार्यालय कल्याणपुरलाई पत्राचार गरेको थियो ।

प्रहरी चौकी प्रवाहाका प्रहरीले गाउँघरमै रहेका आरोपितहरूलाई गिरफ्तार नगरेपछि पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरी आरोपित मण्डल राजविराज आएको खबर दिएको थियो ।

धानखेतमा पानीको अवस्था हेर्न गएकी बालिकालाई भदौ २९ गते बिहान डाक्नेश्वरी नपा–७ ललितपुरका १७ र १६ वर्षीय बालकहरू, २७ वर्षीय धर्मदेव मण्डल र २५ वर्षीय बिसु भनिने विष्णु मण्डलले बलात्कार गरेको पीडितकी आमाको आरोप छ ।

पीडितकी आमाका अनुसार सामूहिक बलात्कारको जानकारी दिँदै पीडित र पीडितकी आमा प्रहरी समक्ष जान खोज्दा शत्रुघ्न मण्डलको घरमा भदौ ३० गते १०/१२ जना पञ्चहरूले ‘पञ्चायत’ बसी पीडित पक्षलाई धम्क्याउँदै उजुरी गर्न रोकेका थिए ।

उनीहरूले पीडितलाई धम्क्याउँदै प्रहरी समक्ष उजुरी नगर्न दबाब दिनुका साथै आरोपितहरूबाट ५५ हजार रुपियाँ क्षतिपूर्ति भराउने निर्णय समेत गरेका थिए ।

पञ्चहरूले अस्मिताको मूल्य तोक्दै पञ्चायतमा हाँसोको पात्र बनाएपछि पीडितले सोही राति पासो लगाएर आत्महत्या गरेको भन्दै पीडितकी आमाले असोज १ गते इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिएकी थिइन् ।

शवको पोष्टमार्टम धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भदौ ३१ गते गरिएको थियो ।

बलात्कारको आरोपमा अदालतले धर्मदेव र विष्णु मण्डल विरुद्ध तथा आत्महत्या दुरुत्साहनको आरोपमा शत्रुघ्न, ४५ वर्षीय देबु मण्डल, ५५ वर्षीय झमेली मण्डल, ४५ वर्षीय उचितलाल मण्डल, ५५ वर्षीय रामजी भनिने बेचन मण्डल, ४५ वर्षीय बिन्देश्वर मण्डल र ४५ वर्षीय बंशराज मण्डलविरुद्ध पक्राउ पुर्जी जारी गरेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो