INSEC Online

📅 २०८३ जेष्ठ २१

कोभिडको जोखिममा सामाजिक सुरक्षा भत्ता लिन ज्येष्ठ नागरिकलाई सास्ती

कोभिडको उच्च जोखिममा पनि सामाजिक सुरक्षा भत्ताको रकम लिन दाङका ज्येष्ठ नागरिकहरूले सास्ती भोगेका छन ।

कोभिडको उच्च जोखिमबाट जोगाउन सरकारले ज्येष्ठ नागरिकहरूलाई घरबाहिर ननिस्कन अपिल गरिरहेको छ तर ज्येष्ठ नागरिकहरुलाई भत्ताका लागि बैंकमा घण्टौ लाईन बस्नुपर्दा पनि कसैले नहेरेको ज्येष्ठ नागरिकहरुले गुनासो गरेका छन् ।

photo2020100802dang

दाङको बंगलाचुली गाउँपालिका बाहेक नौ वटै स्थानीय तहहरूले ज्येष्ठ नागरिकहरुलाई बैंक खातामै सामाजिक सुरक्षा भत्ता पठाउने गरेका छन् । बैंकमा सामाजिक सुरक्षा भत्ता पठाएपनि रकम निकाल्न यतिबेला ज्येष्ठ नागरिकहरू बैंकहमा लाइन बस्नुपर्ने बध्यता छ ।

‘बैंक खातामै पैसा आउँछ, पैसा निकाल्न पनि आफै आउनु पर्छ । दुइदिन भयो पालो आएको छैन लाइनमा बसेकी छु ।’,  घोराहीको शहिद गेटस्थित  साइन रेसुङगा विकास बैंकमा भत्ता निकाल्न भीडमा लाइन बस्नुभएकी घोराही उपमनपा–१३ की ८७ वर्षीया तिर्सना वलीले भन्नु भयो । वलीले कोरोना लाग्छ कि भन्ने डर भएपनि भत्ता निकाल्न लाइन बस्नै पर्ने बाध्यता भएको सुनाउनु भयो ।

photo2020100801dang

भत्ता लिन लाइनमै बस्नुभएकी ७० वर्षीया सकुन्तला केसीले महामारीको बेलामा सरकारले भत्ता घरमै पुर्‍याएको भए राम्रो हुने आशा व्यक्त गर्नुभयो । ‘भीडभाड छ, सबै भत्ता लिन आउनु भएको छ मास्क लगाएर भीडमै लाइन बसेका छौं ।’,  केसीले भन्नु भयो ।   घोराही उपमनपा  ज्येष्ठ नागरिकहरुको पहिलो चौमासिक भत्ता बैंकमा पठाइ सकेको  छ ।

तुलसीपुर उपमनपाका  पञ्जिकरण शाखा प्रमुख कृष्णबहादुर वलीले बैंकमै भत्ता हालिदिने केन्द्रीय नीति स्थानीय सरकारले फेर्न नसकिने तर स्थानीय तहले चाहेमा महामारीका बेला रकम निकालेर घर घरमै पठाउन सक्ने अवस्था पनि छ ।

photo2020100803dang

दाङकै बंगलाचुली गाउँपालिकाले भने ज्येष्ठ नागरिकको भत्ता अहिले पनि घर घरमै पुर्‍याइ रहेको गाउँपालिकाका उपाध्यक्ष यमूना थापाले जानकारी दिनुभयो । तर जिल्लाका अन्य नौ वटा स्थानिय तहले  कोभिडको महामारीमा पनि बैंकमा पैसा पठाइरहेका छन् ।

दाङका २९ हजार बढी ज्येष्ठ नागरिकहरुले भत्ता निकाल्न जोखिम मोलेर बैंकमा लाइन बस्ने बाध्यता छ । दाङको घोराही उपमनपामा ९ हजार ६ सय २५, तुलसीपुर उपमनपामा ८ हजार ९१, लमही नगरपालिकामा २ हजार ४ सय ५१, राप्ती गाउँपालिकामा २ हजार २ सय १०, दंगीशरण गाउँपालिकामा १ हजार ७ सय ९१, बंगलाचुली गाउँपालिकामा १ हजार ३ सय ५, बबइ गाउँपालिकामा १ हजार ७ सय २० र गढवा गाउँपालिकामा १ हजार ८ सय ९८ जना ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउदै आएका छन् ।

अन्य

भिडियो