गाउँमा सबैलाई दशैको रमणीयताले छाए पनि कमला भने टोलाएर माईती घरको आगन बढारदा बढारदै सानो बच्चा टुकुटुकु गर्दै आमाको फरिया समातेर सोध्छ”आमा, आमा, तल्लोघरको सुनीको बाबा त आउनु भएछ । कस्तो राम्रो राम्रो लुगा ल्याका छन् रे । सुनीले मलाई हिजो बेलुका भनेको । आमा, मेरो बाबा चाहि कहिले आँउनु हुन्छ – मलाई कस्तो लुगा ल्याउनु हुन्छ -“
सानो छँदा त केही थिएन । अलि जान्ने सुन्ने भएपछि छोराको यो प्रश्नको उत्तर कसरी दिने हो, यो कल्पना गर्दासम्म पनि उनको मुटु काँपदथ्यो । गाउँभरि दशैँको चहलपहल शुरु भइसक्यो । तर उनको मनमा कुनै उमङ्ग छैन । भविष्यका दशैँ समेत उराठिलो पारिदिएको छ, सात वर्षअघिको त्यो दशैँकै बेलामा भएको त्यो घटनाले ।
सिकैचा गाविस- ८ की कमला पौडेलको १६ वर्षो कलिलो उमेरमा पाँचथर ओयाम गाविस- ५ निवासी ईन्द्र ढकालसँग लगनगाँठो जोडियो । विवाह भएको छ महिनापछि फिदिम बजारको बसपार्कमा एउटा कोठा लिएर सानो होटल चलाउन थाले । विवाह पछिको पहिलो दशैंको टीका थाप्न ०५९ असोज १९ गते बिहान पतिका साथ कमला माईत हिडिन् । काबेली खोला तरेर थुम्वेदिनको उकालोमा लागेको चर्को घामले पनि त्यो जोडीलाई थकाएन । माइत पुग्न हतारिएकी पत्नीको छटपटी देखेर मनमनै हाँस्दै इन्द्रले पनि आफ्नो थकाइ बिर्सिएका थिए । माइत पुग्नासाथ उनी पत्निबाट छोरीमा परिणत भइन्, माईतमा सामान्य भलाकुसारी सकेर उनी निदाइन् ।
तर भोलिपल्टको बिहानी उनको लागि आजीवन अँध्यारो बोकेर आयो । पहिलोपल्ट टीका थाप्न आएका ज्वाइँको लागि सरजाम तयार हुँदै थियो । न्रि्रालाई बल्ल तल्ल पन्छ्याएर इन्द्र चिया पिउन मात्रै के लागेका थिए, तीन चार जना लक्का जवानहरुले घरभित्र छिरे । तीमध्ये एक जनासँग बन्दुक थियो भने अरुले लाठी बोकेका थिए । तीमध्ये एक जना कडकियो “इन्द्र भनेको तँ होइन, ल हिँड् हामीसँग -“
कमलाले किन जानु पर्žयो उहाँले अहिले भ्याउनु हुन्न भनेकी मात्र थिईन् अर्को युवकले अरुको बोल्ने काम छैन,खुरुक्क हिँड् भन्दै पिस्तोल निकालेर देखायो । चियाको गिलास खाटको छेउमा राखेर इन्द्रले जिउ कमाउँदै झुण्डाएको ज्याकेट तानेर लगाए ।
कमलाले आँसु बगाउँदै चिया खानदिन आग्रह गरिन् । तर आँसुले भिजाउने ह्रदय भएका कोही थिएनन् । परिवारका अन्य सदस्यले टीका त लगाउन दिनुहोस् भनेर विन्ति गरे । तर त्यो आग्रहलाई आत्मसात गर्ने मन भएको कोही थिएन त्यहाँ ।
माओवादी कार्यकर्ताले इन्द्रलाई अघि लगाए । कमला म पनि जान्छु भनेर पछि लागिन् । एकजनाले फर्केर पेस्तोल देखाए, कमला आत्तिएर रोइन् । आशङ्का, त्रास र आशाको भुमरीमा कमलाको परिवार टीकाको लागि सामान तयार गेरर इन्द्रलाई कुरेर बसे । तर उनी फकेैनन् ।
डुम्रीसे गाविस- ९ ओरक्पाका नन्दीको घरमा थुनेर इन्द्रलाई भाटाले कुटदै गरेको राती उक्त घरबाट माओवादीले अन्तै लगेको खबरसम्म कमलाले पाइन् । त्यतिखेर तीन महिनाको गर्भमा रहेको बच्चा अहिले बाबुलाई खोज्ने भइसक्यो । तर उसलाई काखमा खेलाएर वात्सल्यको अनुभूत गर्ने बाबु को अहिले ७ वर्षबित्यो अरु खबर के छ केही थाहा छैन ।
इन्द्र र डुम्रिसे गाविस- ६ का लोकबहादुर साम्सोहाङ् र ओयाम गाविस- ८ पांचथरका नन्दु गुरुङलाई माओवादी विरुद्ध सुराकी गरेको आरोपमा माओवादीले धेरै यातना दिएर एकै ठाउमा मारेको हल्ला गाउँमा चल्यो । तर कमलाले पतिको अहिलेसम्म किरिया पनि गरेकी छैनन् ।
माओवादीका ठूलाबडा नेताहरूलाई भेट्ता पो केही पत्तो लाग्छ की भनेर धेरैपटक फिदिम र ताप्लेजुङ्ग सदरमुकाम धाइन् तर उनको दुखलाई कसैले बुझेन । शान्ति समझौता भएपछि उनलाई माओवादीको पाँचथर कार्यालय सचिव पवित्राले कमलाको पतिलाई सफाया गरिसकेको बताइन् । तर उनले कहिले, किन, कुन ठाउँमा, त्यो कुरा लेखेर दिन नमिल्ने बताइन् ।
कमलाले जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ्मा आएर प्रजिअ हिमनाथ दवाडीलाई सोधिन् “मावोवादीले मेरो पतिलाई मारिसक्यौँ भने यो नानीले केही राहत पाउछ भन्ने सुनेकी छु, दिन मिल्छ – प्रजिअ हिमनाथ दवाडीले भने “सरकारको तर्फबाट पीडितलाई सहयोग गर्न पुलिस रिपोर्ट चाहिन्छ, अरेका भरमा केही गर्न मिल्दैन ।”
राहत पाएदेखि इन्द्रको एक मात्र चिनोको रूपमा रहेको छोराको लालनपालनमा केही सहयोग पुग्थ्यो कि भनेर उनी प्रयासरत छिन् । तर कमलाजस्तै एक निम्नवर्गीय गाउँले युवतीको पीडाको अन्त्य नभइ नया नेपाल बन्ला र –
चन्द्रप्रकाश भट्टराई