साउनको महिना । सिमसिमे पानी परिरहेको थियो । दुई जना बुढा-बुढीको परिवार ।काम धेरै बितेको भए पनि बुढो शरीर पानीमा भिजेर काम गर्न सक्ने अवस्था थिएन । नब्बे वर्षो हाराहारीमा पुग्न लागिसकेका बुढा-बुढी मरिहत्ते गरेर काम गर्न सक्ने कुरा पनि भएन । पानी रहला र बाहिरफेर काममा निस्कौँला भनेर जीतमान तामाङ्ग चोटाको खाटमा पल्टिरहेका थिए । त्यसैबेला बाहिरबाट कसैले जीतमान बा भनेर बोलाएको आवाज सुनियो ।
बाहिर निस्कदा आँगनभरि माओवादीका साथ लागेर नाम्लो, डोको बोरा लिएर आएका तीनचार गाउँका मानिसहरू थिए । माओवादीहरू सरासर चोटामा चढे । जीतमानलाई बाहिर बरण्डामा राखेर घरमा भएका सबै समानहरू बाहिर निकाले । आँगनामा भएका मानिसहरूले सामान हारालुछ गर्दै भारी हाले । गोठमा बाँधेका भैसी र गोरु पनि फुकाएर एकएक जनाले डोहोर्žयाए । आधाघण्टाको बीचमा घर गोठ पूरै रित्तो भयो ।
रामेछाप जिल्लाको तिल्पुङ्ग गाविस- ७ का ८८ वर्षीय जीतमान तामाङ्ग माओवादीको सशस्त्र द्वन्द्वको क्रममा माओवादीबाट सर्वस्वहरण गरिएकामध्ये एक हुन् । ०६२ साउन १४ गते दिउँसो १२ बजे माओवादीका तत्कालीन रामेछाप- ओखलढुङ्गा जिल्ला सदस्य विगुल भनिने ताराबहादुर श्रेष्ठ, तिल्पुङ गाविसका माओवादी कार्यकर्ता रामबहादुर नेवार, ध्रुव कार्कीलगायतका नेताहरूको अगुवाईमा करिब चारसयको सङ्ख्यामा गएका माओवादीका कार्यकर्तासहितका गाउँलेहरूले तामाङ्गको घरबाट सम्पूर्ण सामानहरू लुटेर लगेका थिए । गरगहना, नगद, कुखुरा परेवा लगायतका समानहरू माओवादीहरू आफैले लगे भने जिनिस सामनहरू- अन्नपात, लुगाफाटा, भाँडाकुडा,गोरु, भैसी लगायतका सामानहरू गाउँलेहरूलाई बाँडेको पीडितपक्षले बताए । माओवादीको सो कार्यको विरोधगर्दा उनकी ८४ वर्षीय पत्नी पद्ममायाँ तामाङलाई माओवादीका कार्यकर्ताहरूले घरबाट बाहिर ल्याई पछारिदिए ।
हुन त जीतमानका दम्पतिले माओवादीहरूलाई आफ्नो घरबास नउठाइदिन अनुनय विनय नगरेका हैनन् । कति रोए, कति कराए, तर त्यसले कुनै अर्थ राखेेन । माओवादीको अगाडि वृद्ध जोडीको रुवाई बगडेको अगाडि खसि बोकाको रुवाई जस्तै भयो । माओवादीहरूले उनीहरूको घरमा एक छाक खाने अन्न पनि छाडेनन् । ओढ्ने ओछ्याउनेको के कुरा शरीरमा लगाएका बाहेक लगाउने लुगाको धरोसमेत उनीहरूले छाडेनन् । लगाउने थोत्रा लुगा त एकदुई जोर छाडिदेउन भनेर बुढी आमैले निक्कै अनुनय गरिन् ,तर उनीहरूले सुनेको नसुने गरेर फरियाका थोत्रा टालासम्म पोको पारेर लगे ।
माओवादीहरूले आफ्ना घरका सामानहरू लुटेर लगेपछि तामाङले स्थानीय प्रशासनलाई उजुर पनि गरेका हुन् ।तर प्रशासन र सुरक्षा निकायले पनि उनको सम्पत्ति फिर्ता गराउन सक्ने अवस्था थिएन । तामाङ लामो समयसम्म आफै जिल्ला सदरमुकाममा विस्थापित जीवन गुजारेर बसे । जब माओवादी र सात राजनीतिक दलबीच १२ बुँदे सहमति भया, त्यसपछि भने उनी घर फर्किर । घर र्फकदा पनि माओवादीका स्थानीय कार्यकर्ताहरूले उनलाई नधम्क्याएका होइनन् ।तै पनि उनी त्यसको बेवास्ता गर्दै घरमा बसे ।
माओवादी पार्टी अध्यक्ष प्रचण्डले सर्वसाधारणका कब्जामा लिएको सम्पूर्ण सम्पत्ति फिर्तागर्ने सार्वजनिक घोषणा गरेपछि भने जीतमानलाई आफ्नो सम्पत्ति फिर्ता पाउने कुराम पूरा विश्वास थियो । त्यसैले १२ बुँदे सहमतिको कागज बोकेर उनी माओवादीको जिल्ला सदरमुकामस्थित कार्यालयमा पुगे । कार्यलयमा सो घटनामा संलग्न विगुल भनिने ताराबहादुर श्रेष्ठले उनलाई भेट नै दिएनन् । अर्का एक जना माओवादीका कार्यकर्ता कार्यालयमा थिए । उनले हिजो जे भयो भयो, अब यस्ता कुरा लिएर कार्यालयमा नआउनु भनी उल्टै गाली गरेर फिर्ता पठाए ।
माओवादीको जिल्ला तहले आफ्नो कुराको कुनै सुनुवाई नगरेपछि तामाङले माओवादी पार्टी अध्यक्ष प्रचण्डलाई ०६३ माघ १० गतको मितिमा एउटा पत्र पठाई लुटिएको आफ्नो सम्पत्ति फिर्ता गर्नका लागि उनका कार्यकर्ताहरूलाई निर्देशन दिन अनुरोध गरे । सम्पत्ति फिर्ता पाउँ भनी माओवादीका अध्यक्षलाई सम्बोधन गरी माओवादीको केन्द्रीय कार्यालयको ठेगानामा लेखिएको दुइ पेज लामो सो पत्रमा ०६२ साउन १४ गते दिउँसो १२ बजेको समयमा माओवादीका रामेछाप ओखलढुङ्गा जिल्ला सदस्य विगुल, तिल्पुङ गाविसका माओवादी कार्यकर्ता रामबहादुर नेवार, ध्रुव कार्कीलगायतका नेताहरूको अगुवाईमा करिव चार सयको सङ्ख्यामा आएका माओवादीका कार्यकर्तासहितका गाउँलेहरूले गरगहना जिनिस सामन गोरु ,भैसी, कुखुरा परेवा, अन्नपात, लुगाफाटालगायतको सम्पूर्ण सम्पत्तिहरू लुटेर केही सामान माओवादीहरू आँफैले लगेका र गोरु, भैसीलगायतका सामानहरू गाउँलेहरूलाई बाँडेर उनलाई गाउँबाट विस्थापित गरएको कुरा उल्लेख थियो ।
१२ बुँदे सहमतिपछि घर फर्कदा पनि माओवादीका कार्यकर्ता ध्रुव कार्कीले हाम्रो घरमा किन बसिस् भनी उनी र उनकी पत्नीलाई घोच्याई मुन्ट्याई घरबाट निकाल्न खोजेकोमा त्यसलाई अटेर गरेर बुढाबुढीको घरमा नै बसिरहेको पनि पत्रमा उल्लेख गरिएको थियो । पत्रमा आफ्नो सम्पत्ति यथाशीघ्र चाँडो फिर्ता गराइदिनका लागि पहल गरिदिन अनुरोध गरिएको थियो । पत्रमा भनिएको थियो- ‘माओवादीका जिल्ला नेता विगुलले कब्जा गरेको सामान गणतन्त्र पक्षधरलाई मात्र फिर्ता गर्ने भनी वक्तव्य जारी गरेका छन् । म ८६ वर्षो वृद्ध, त्यसमा पनि,मेरो देब्रे घुँडा मर्केको कारण लोकतन्त्रको आन्दोलनमा भाग लिन सकिन । घरमा लडिरहेको बुढाले आन्दोलनमा कसरी भाग लिनु – कब्जा गरेको मेरो श्रीसम्पत्ति खाई पचाउने नियतले पत्रकार सम्मेलनमा उक्त वक्तव्य गरेको छ । अध्यक्ष ज्यू , म पहिला राप्रपाको कार्यकर्ता हुँ । तर ०५२ सालदेखि मैले सन्यास लिई ८० वर्षो उमेरमा औतारी लामाज्यूको बाहुलीबाट मेरो टुप्पी ट्याप्चे गरी योगी भिक्षु झैँ जपतप गरी गुरुको आज्ञा पालन गरिबसेको मानिसलाई हजुरको कर्यकर्ताले- को सच्चा, को बहुलाहा, को ध्यानी, को ज्ञानी, को जन्म दिने आमा, को आफ्नी श्रीमती, सबैलाई समान देखि मलाई दर्व्यवहार र अन्याय गर्žयो । हामी बुढाबुढीको बस्तुभाउ र सामान गाउँमा नै बाँडिएको छ । यथाशीघ्र हाम्रो सम्पत्ति फीर्ता दिनुहोस् । यस जिल्लाको माओवादी नेता विगुललाई हजुरले निजको सम्पत्ति फिर्ता दिनु भनी निर्देशन दिनका लागि नम्र निवेदन गर्दछु ।’
गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल, शेरबहादुर देउवा, अमिक शेरचन, नारायणमान विजुक्छे, चन्द्रप्रकाश मैनाली र आनन्दीदेवी सिंहलाई समेत बोधार्थ दिएको सो पत्र सबैलाई हुलाकमार्फत रजिष्ट्रि गरेर पठाएको उनी बताउँदछन् । माओवादीका अध्यक्ष प्रचण्डलाई पत्र पठाएको पनि दुई वर्षबित्यो । माओवादीले सरकारको नेतृत्व गरेको पनि तीन महिनाभन्दा बढी भइसक्यो । उनको घर लुट्ने कार्यको नेतृत्व गर्ने विगुल पनि संविधानसभा सदस्य भइसके । तर जीतमान तामाङको पत्रको जबाफ अहिलेसम्म न प्रचण्डले दिएका छन् न उनको सम्पत्ति प्रचण्डका कार्यकर्ताले फिर्ता दिएका छन् ।
तामाङले आफ्नो लुटिएको सम्पत्ति गाउँमा कसकसले लगेका छन् भन्ने लिस्ट नै बनाएका छन् । उनले आफू टिपेको लिष्ट पोको पारेर राखेका छन् ।”आफ्नो लैना भैसीको अर्काले दूध खाएको छ । म भने यसरी बिजोकसँग टुलुटुलु हेरेर बसेको छु । अर्काले दिएको लुगा लगाएको छु । घरमा एक जना मानिस आउँदा दिने ओढ्ने ओछ्याउनेसमेत छैन । आफ्नो त के कुरा बाबु बाजेले जोडेको सम्पत्तिसमेत लगिदिए ‘उनी दुःख पोख्छन् ।
बुढो शरीर अब त सामान्य हिँडडुल गर्न पनि गाह्रो भइकेको छ ,जीतमानलाई । तर आफ्नै आँखाअगाडि लुटिएकामध्ये धेरै सम्त्तिहरू गाउँमै छरछिमेकीले प्रयोग गरिरहेका छन् । तर उनले ती सामान फिर्ता पाएका छैनन् । माओवादीले फिर्ता गर्न भनेका छैनन् । गाउँलेले आफै जानेर फिर्ता गरेका छैनन् । सामान फिर्ता गर्न सहयोग गरिदिन्छन् की भनेर उनी कहिले कुन पार्टी कहिले कुन पार्टीको कार्यालयमा पुग्दछन् । कहिले यो संस्था कहिले उ संस्थामा धाउँदछन् । तैपनि उनले सम्पति फिर्ता पाउन सकेका छैनन् । देशमा लोकतन्त्रको स्थापना भइसक्यो, माओवादीले सरकार बनाइसक्यो । तर जीतमानको दुःख जस्ताको त्यस्तै छ ।
जीतमानको मात्र होइन, माओवादीले द्वन्द्वको समयमा रामेछापमा २ सयभन्दा बढी मानिसको सम्पत्ति लुटेका र कब्जा गरेका थिए । कब्जा लिएकामध्ये जग्गाजमिन छाडेका भए पनि अन्य सम्पत्ति उनीहरूले फिर्ता दिएका छैनन् । अझै कतिपयको त जग्गासमेत फिर्ता भएको छैन । यो कुरालाई जिल्लास्थित अन्य राजनीतिक दल र अधिकारवादी संस्थाहरूले पनि गम्भीर रूपमा उठाउन सकेका छैनन् । यस्ता समस्या रहुन्जेल के वास्तवमा दिगो शान्ति स्थापना हुनसक्छ –
नवराज पथिक
रामेछाप । कात्तिक २५ गते