गन्तव्य निकै टाढा छ । पुग्न कति दिन लाग्छ थाहा छैन । हुस्सु र तुषारोले ढाकिएको जीउ । कठ्याङ्ग्रिने जाडो अनि एक सातासम्म भारीले थिचिएर थिलथिले भएको शरीर । अझै पैताला खियाउनु छ । आफूभन्दा गह्रौँ भारी बोक्दा बोक्दै रातो भएको मुहार र पिठ्यूँ । तैपनि हँसिलै देखिन्छन् उनी ।
रसुवाको सदरमुकाम धुन्चे गाविस-२ ठाडेका १० वर्षीय सुरेस तामाङ स्थानीय सरस्वती प्रावि ठाडेमा ४ कक्षामा पढ्छन् । सुस्ताएर एकपल्ट लाङटाङ हिमालतिर हेर्दै हाँस्दै भने, “केही दु:ख भएपनि रमाईलो ठाँउहरु हेर्न पनि कम्ती मजा हुन्न । यस्ता ठाँउहरु हेर्न विदेशी पर्यटक नआइ दिएका भए हामी कसरी लाङटाङ हेर्न आईपुग्थ्यौं र-” प्लाष्टिकको ठूलो बोत्तलमा झरनाको चिसो पानीले प्यास र भोक दुवै मेटाउन प्रयास गर्दै अघि बढ्छन् ।
“विद्यालय जाने उमेरमा पढ्न रहर हुँदाहुँदै घरायसी दुःखले भारी खेप्नतिर लागियो । अब त्यतैतिर रमाइलो लाग्छ । साथीभाइ मिलेर खायो हिँड्यो । यसैमा रमाईलो हुन्छ ।” यसरी भारी खेपेर पाँच वर्षबिताइ सकेका रेप्पा तामाङ भन्छन् ।
हिँउ, चर्को घाम, वर्षो झरी नभनी ३५/४० किलो गर्र्हुँगो भारी बोकेर आजसम्म चलेको छ । खानैका लागि भने पनि केही त गर्नै पर्žयो नि । । रसुवाका ग्रामीण बालबालिकाको बालपन भारी बोकेरै रित्तिदैँ छ ।
असार साउनका बेला पर्यटक आउने मौसम त होइन । त्यसबेला उनीहरू पहिरोले अवरुद्ध पासाङल्यामुमार्गको सडकमा यात्रीका झोला अनि खाद्यान्नका भारीहरू तार्न तल्लीन हुन्छन् । उनीहरू बस आएको परैबाट देख्नासाथ दौडेर तँछाड मछाड गर्दै भारी खेप्नका दर्जनौं स्कुले बालकहरू ओइरिन्छन् । पहिल्यै भारीको दर तोकेर मात्रे भारी बोक्छन् । पहिरो तारेर ठाडे पुर्याएपछि बसमा चढाएरमात्र पैसा लिएर फर्कन्छन् ।
राम्चे, विद्यालय खुल्ने समयमा पनि राम्चे, ग्राङ र ठाडेका बालबालिकाहरू कमै मात्रामा विद्यालय जाने गर्छन् । उनीहरू भारी खेप्नै व्यस्त हुन्छन् । अरुबेला पनि अभिभावकसँग गोठालो जान्छन् । स्थानीय ग्राङ प्राविका शिक्षक नारद काफ्लेले बताए ।
अहिले पर्यटक घटेपनि मौसमका लागि र त्यहाँ बस्ने व्यापारीका लागि खाद्यान्न ओसार्नु पर्यो । हिउँ परेको बेला होस व चिसो वर्षो झरी । उकाली ओरालीमा, कहिले गोसाँइकुण्ड त कहिले ब्रवलभीर, कहिले मुलखर्क पहिरो त कहिले लाङटाङ जाँदै ४० किलोको भारीले थिचिएको अवस्थामा भेटिने डाँडागाउँका १२ वर्षीय कान्छा तामाङ भन्छन्, “के गर्ने – गरिबका कोखामा जन्म भएपछि दुःख त परिगयो तर दुःख मान्दिन । बाबु बाजेले पनि तिब्बतबाट नुनको भारी बोकेर गुजारा चलाए । हामी त आफ्नै देशमा घुम्न पनि पाइया छ ।” पर्यटक आउने मौसममा केही समय पढाई छाडेर भारी बोक्ने उनी ५ कक्षामा पढ्छन् । सुरेस र कान्छाको मात्र होइन त्यहाँका सयौं बालबालिकाको अवस्था यस्तै हो ।
कतिपयको परिवार पाल्ने बाध्यता रहेपनि कति भने खुशी नै दखिन्छन् । पकेट खर्च बनाउनका लागि महिनामा एक दुई पल्ट यसरी भारी बोकेर ट्रेकिङ्ग गर्नेहरू पनि नभएका होइनन् । विद्यालयको छुट्टिमा पनि पढाई खर्च जुटाउन भारि बोक्ने बालबालिकाहरूको सङ्ख्या पनि कम छैन । ग्राङकै ४ कक्षाका छात्र ११ वर्षीय रजमान तामाङले भने “आजकाल दैनिक ३/४ सय जति कमाइन्छ । कापी, कलम र वर्षदिनको लागि पाकेट खर्चको जोहो हुन्छ । सडक अवरुद्ध भएन भने हाम्रो त अम्दानीको बाटो नै बन्द हुन्छ । अरुजस्तै विद्यालय गएर पढ्ने,भविष्यमा गतिलो जीवन बाँच्ने आफ्ना भित्री इच्छालाई दबाएरै जोखिमपूर्ण काम गर्न बाध्य कलिला यी बालबालिकाको मुहारमा कहिले खुशीको बास हुने हो –
हेमनाथ खतिवडा
रसुवा। ०६५ साउन ३०गते