काठमाडौंको मुटु माइतीघर मण्डला । मण्डलाको छेउमा त्रिपाल र त्रिपाल भित्र भरिभराऊ मध्यपश्चिम र सुदुर पश्चिमका महिला मानवअधिकार रक्षकहरु । दिउँसोको घामको राप अनि पानी । अनि रातको मच्छरको टोकाईको पीडा त छदै छ । तरपनि अधिकार प्राप्तिको लडाईंमा कटिबद्ध छन् यी महिलाहरु ।
हो आज २ हप्ता भन्दाबढि भै सक्यो । माइतीघर मण्डलामा रिले अनशन बसेका महिला मानवअधिकार रक्षकहरु । तीनओटा मागसहित अनशनमा बसेका यी अधिकार रक्षकहरु आफ्नो मात्र नभएर आधाधर्ती ढाक्ने महिलाको बाँच्न पाउँने अधिकारको लागि निरन्तर आन्दोलनमा बसेका छन् । तर सरकार र राजनीतिक दल मुकदर्शक । उनीहरुको प्रश्न छ – राजीनामा दिएका सरकार प्रमुख तथा मन्त्रीहरु सार्कसम्मेलनमा भाग लिनसक्ने अनि महिलाको सामान्य मागको लागि अर्को सरकार चाहिने –
महिला माथि हुने सबै प्रकारका हिंसा विरुद्ध आन्दोलनरत संघर्ष समितिले कञ्चनपुरकी महिला मानवअधिकार रक्षक लक्ष्मी बोहोराको हत्या सम्बन्धमा स्वतन्त्र आयोगको गठन, महिला विरुद्ध हुने सबैप्रकारका हिंसाको अन्त्यको लागि स्वतन्त्र आयोगको गठनलगायतका माग राखि माइतीघर मण्डलामा रिले अनशन बस्दै आएका छन् । राज्यका तीन अंगले आफ्ना मागको व्यवस्था गरेपनि चौथो अङ्गले सहयोग गर्ला भन्ने उनीहरुको आशापनि अब मरेको छ । चौथो अंगले आन्दोलनको बारेमा प्रचार प्रसार नगरेकोमा दुःख व्यक्त गर्दै महिला पुर्नस्त्थापना केन्द्र(ओरेक) की अध्यक्ष रेणुराज राजभण्डारी भन्छिन् “महिलामाथि हुने सबै प्रकारका हिंसा बिरुद्ध सिङ्गो नेपालका महिला अधिकारकर्मी आन्दोलित भएको छन् तर सञ्चार मध्यमले हाम्रा कुरा प्राथमिकताका साथ प्रस्तुत गरेनन् ।”
महिला अधिकार रक्षक शारदा चन्द ४० जिल्लाका महिला आन्दोलनमा सहभागि भएको बताउँछिन् । उनका अनुसार काठमाडौं आउने महिलाको संख्या बढ्दै । आफूहरुको माग पुरा नभए सम्म आन्दोलन जारी रहेन चन्दले भनिन् “हाम्रा मागको सुनवाई भएन त्यसैले हामी कालिको स्वरुपमा आन्दोलनमा उत्रदै छौं । डां रेणुराज राजभण्डारीले थपिन् “नग्न सरकार र दलको तस्विर देखाउन हामी नग्न रुपमा पनि आन्दोलन गर्न पछि पर्ने छैनौँ ।
अनशनमा बस्दाको दिनदेखि १७ ओटा महिला विस्द्धका घटना भएको उनीहरुको तथ्याङ्क छ । सिरहाकी महिला अधिकार रक्षक देवकुमारी महराले भन्दैथिइन् “सिरहा जिल्लामा आमा र छोरीको बलात्कार गरी हत्या भयो । खेती लगाउने समयमा न्यायको लागि आउँदा पनि न्याय पाउन सकिएन ।” उनी भन्छिन् “मागहरुको सुनुवाई नभएसम्म हामी राजधानीबाट आफ्नो गाउँ जाने छैनौँ ।” न्यायको लागि भौतारिदा कतैबाट न्याय पाउन नसक्दा ठूलो पीडा भएको उनी बताउछिन् ।
उता धनुषामा पनि महिला माथि हुने हिंसाका घटना नेपालका अन्य भागमा हुने जस्तै रहेको धनुषाकी महिला मानवअधिकार रक्षक बन्दना कर्णबताउँछिन् । उनका अनुसार धनुषाधाम गाविसमा बोक्सीको आरोममा एक महिलालाई कुटपिट तथा दुर्व्यवहार भएको छ । उनी भन्छिन् “दाइजो नलाएको भन्दै घरनिकाला र हत्या भएको छ । तर न्याय दिने स्थानमा बसेकाहरु मुकदर्शक छन् ।” महिलालाई मानवको रुपमा नहेरिएको उनको आरोप छ ।
चितवन जिल्लामा भने महिला बेचबिखनका घटनामा कमि हुन नसकेको छैन । चितवनकी महिला मानवअधिकार रक्षक कमला न्यौपाने भन्छिन् “किशोरीहरुको बेचबिखन बढिरहेको छ । चैत महिनामा मात्र तीनजान किशोरीहरुको उद्धार गरियो ।” तीतो अनुभव सुनाउँदै उनले भनिन् “बाहिर गएर बोल्न नसक्ने अवस्थो छैन, माइतीमा बस्ने स्थान नपाईने, घरमा बस्न सक्ने अवस्था छैन । हामी महिला कहाँ जाने ।” “अन्य घटना घटे तुरुन्तै आयोग गठन गर्न सक्ने सरकार ५१ प्रतिशत महिलाको मुद्दामा भने किन कुनै आयोग गठन हुँदैन -” सरकारालाई प्रश्न गर्छिन् काठमाडौंकी महिला अधिकार रक्षक सावित्रि पोखरेल ।
डा. भण्डारी सबै पार्टी कार्यालयमा पुगी आफूहरुको मागप्रति ध्यानआकर्षण गराएको भन्दै भन्छिन् “नेताहरुले हाम्रा मागको बेवास्ता गरे । हाम्रा मागको सुनुवाई भएन ।” उनको कथन छ “शान्तिपूर्ण आन्दोलन गर्दा नत राज्यले सुन्यो नत दलले, हामीलाई हिंसात्मक आन्दोलन गर्न बाध्य नबाईयोस् ।” त्यसो त अधिकारकर्मी शारदा पोखरेलको भनाई पनि त्यस्तै छ । उनी भन्छिन् “आधारभूत मानवअधिकारको माग राखी रिले अनशनमा बसेका महिला अधिकारकर्मीको मागलाई सम्बोधन गर्ने प्रयास राज्य र राजनीतिक पार्टीले गरेनन् ।” अधिकारकर्मी महिलाहरु भन्छन् “हाम्रो रोदन र पीडालाई कसैले बुझ्ने प्रयास गरेनन् ।”
गोपीकृष्ण भट्टराई
ललितपुर । ०६५ साउन१५ गते