सशस्त्र द्वन्द्वको समयमा राज्य र माओवादीपक्षबाट राखिएका विस्फोटक पदार्थका कारण अहिले सर्वसाधरणको जीवन जोखिममा परेको छ । सर्वसाधरणको बाक्लो बस्ती भएको बजार नजिकै विस्फोटक पदार्थ रहेकाले युद्वमा प्रत्यक्ष भाग नलिएका सर्वसाधरणलाई ज्यान जोगाउन कठिनाई भएको छ । रात दिन बम भएको क्षेत्रबाट हिंड्नुपर्ने मूलबाटो भएकाले अन्यत्रबाट हिँड्न पनि सर्वसाधरणलाई विकल्प छैन । साना बालबालिकादेखि हजारौँ सर्वसाधरण ओहोरदोहोर गर्ने क्षेत्रमा राखिएका बम नहटाइएपछि सबैको जीवन जोखिममा परेको छ । सर्वसाधरणको पटकपटक बम हटाउनुपर्ने आवाज पनि सरकारले सुनेको छैन । कति खेर पड्कने हो र ज्यान जाने भन्ने आतङ्कले भोजपुर निवासी पिरोलिएका छन् ।
युद्वको समयमा माओवादीबाट बच्नको लागि सेना र प्रहरीले आफ्नो परिसरमा राखेका विस्फोटक पदार्थ निकालेर निष्कृय नपारेका कारण समस्या भएको हो । आफ्नो सुरक्षाका लागि राखिएका विस्फोटक पदार्थको कारण सर्वसाधरणको ज्यान जोखिममा पर्दा पनि सरकारले तत्काल विस्फोटक पदार्थ हटाउन पहल गर्न थालको छैन ।
प्रत्यक्ष युद्धमा भाग नलिएका भोजपुर सदरमुकामस्थित सर्वसाधरणले बेहोरेको समस्या समाधान नगरेमा ठूलो दुर्घटना निम्तने अवस्था छ । भोजपुर सदरमुकामको बीचमा रहेको टुंडिखेलमा सेना र प्रहरीले राखेका विस्फोटक पदार्थका कारण बजारबासी र अन्य सर्वसाधरणको जीवन जोखिम मोलेर बाँच्न बाध्य भएका छन् । विस्फोटक पदार्थ हटाउनको लागि राज्य र माओवादीले पटक पटक गरेका सम्झौताको कार्यान्वयन हुन नसक्दा मानिसको जीवनमै खेलवाड गर्ने कार्य भइरहेको छ ।
अर्कातिर विस्फोटक पदार्थ बेवारिसे अवस्थामा फेला पर्न थालेका छन् । बस्ती नजिकको क्षेत्रमा बेवारिसे अवस्थामा विस्फोटक पदार्थ भेटिन थालेपछि विशेष गरेर बालबालिका जोखिममा पर्ने अवस्था आएको छ । युद्धको अवस्थामा राखिएका विस्फोटक पदार्थ कुन् अवस्थामा – कसरी राखिएको छ – भन्ने कुरामा सुरक्षाकर्मीहरू नै अनविज्ञ भएपछि समस्या भएको हो ।
आफैंले राखेको विस्फोटक पदार्थ पड्केर एक डेढवर्षअघि भोजपुरको रानीबास गाविसस्थित नेपाली सेनाको हतुवागढी सैनिक शिविरका चारजना सैनिकको मृत्यु भएको थियो । विस्फोटक पदार्थ व्यवस्थितरूपमा नराखिएका कारण प्रहरी र सेनाका परिसरमा कुकुर,स्याल र मृगलगायत जीव जनावार प्रवेश गर्दा विस्फोटक पदार्थ पड्किने गरेका छन् । ती स्थानमा मानिसको समेत सहज प्रवेश गर्ने अवस्था छ । सम्बन्धित पक्षले निगरानी नगर्दा घाँस दाउरा काट्नको लागि अहिले पनि विस्फोटक पदार्थ भएका क्षेत्रमा सर्वसाधरण प्रवेश गर्ने गरेका छन् ।
विस्फोटक पदार्थ भएको जिल्ला प्रहरी कार्यालय परिसरमा नियमित घाँस काट्न जाने गरेका भोजपुर गाविस-५ निवासी प्रेमकुमार सुवाल घाँस काट्ने क्रममा कुकर बम फेला परेपछि अचेल ती स्थानमा जानै छोडेका छन् ।’परैबाट देखेकाले केही भएन । छुँदैखेरी पड्कनै बम भएको भए ठूलो दुर्घटना हुने अवस्था थियो । त्यसपछि म प्रहरीले तारवार गरेको क्षेत्रमा पस्नै छोडेको छु’ सुवालले भने ।
जिल्ला प्रहरी परिसरमा माटो खन्ने क्रममा माओवादीले युद्वको समयमा प्रयोग गर्ने अत्यन्तै शक्तिशाली कुकर बम फेला पारेपछि खाना पकाउने कुकर भएको ठानी घर लिएर गएका भोजपुर गाविस-७ निवासी मजदुर चङ्खबहादुर सार्की थोरै र्सतर्कताले मात्र बाँचे । घरमा लगेर खन्तीले बिर्को खोल्दा नखुल्दा उनकी पत्नीले बम भएको बताएपछि अगेनोमा बसाएर तताउन लागेको कुकर बम पड्केर दुर्घटना हुनबाट सार्की परिवार जोगिएको थियो ।
‘मेरा दिन बलिया भएकाले बाँचे । कुकरमा खाना कहिल्यै नपकाएको मैले कुकर ठानी घर लगेको थिएँ । पत्नीको थोरै होसियारीले गर्दा मैले पुर्नजन्म पाएँ । अब तारजाली लगाएको परिसरमा कहिल्यै पस्दिन’ चंखबहादुरले भने ।
जिल्ला प्रहरी कार्यालय परिसर, नेपाली सेनाको कालिध्वज गणको सिद्धकाली पोष्ट क्षेत्र र रानीबास गाविसको घोडेटारस्थित हतुवागढी सैन्य शिविरमामा घातक विस्फोटक पदार्थ राखिएका स्थानमा सर्वसाधरणको सहज प्रवेशको अवस्था भएकाले जोखिम बढेको हो । नेपाली सेनाले आफूले राखेको विस्फोटक पदार्थ बारेमा जानकार भएको बताए पनि प्रहरीले भने आफ्नो परिसरमा कति विस्फोटक पदार्थ छन् भन्ने कुराको कुनै अभिलेख पनि राखेको छैन ।
प्रहरीले आफ्नो परिसरमा कहाँ,कस्तो किसिमका र कतिवटा विस्फोटक पदार्थ राखिएको भन्ने खुलाउन सकेको छैन । जिल्ला प्रहरी कार्यालय, भोजपुरका डिएसपी जनक खत्री जिल्ला प्रहरी कार्यालय परिसरमा विस्फोटक पदार्थ राखिएको भएपनि आफूले केही गर्न सक्ने अवस्था नरहेको बताउँछन् । डिएसपी खत्रीले प्रहरी परिसरका विस्फोटक पदार्थ आफैलाई घाँडो भइरहेको बताए । खत्रीले विस्फोटक पदार्थ राखिएको स्थानको अनुसन्धान र खोजतलास गरी निष्कृय पार्नका लागि जिल्ला प्रशासनमार्फ सरकारलाई पत्राचार गरिए पनि अहिलेसम्म केही जवाफ नआएको बताए ।
सशस्त्र युद्धको बेला माओवादीले तार जोडेर ब्याट्रिमार्फत विस्फोट गर्ने बम नै प्रहरीले पनि प्रयोग गरेकोछ । तर ती विस्फोटक पदार्थको अभिलेख प्रहरीसँग छैन । जमीनमुनि गाडेर राखिएका ती विस्फोटक पदार्थ निकाल्नको लागि सेनाकै बम विशेषज्ञ टोली आउनुपर्ने डिएसपी खत्रीको भनाई थियो ।
युद्वको समयमा विस्फोटक पदार्थ राख्ने प्रहरी र सेनाका कतिपय जवान युद्वको क्रममा मारिनुका साथै अन्यत्र सरुवा भएर गएका कारण समस्या झनै बल्झेको छ । सरुवा भएका सिपाहीलाई बोलाउन सकिने अवस्था भएपनि मरेकाको हकमा भने कुनै विकल्प छैन । विस्फोटक पदार्थ खोजेर निष्कृय पार्न स्थानीय राजनीतिक दल,नागरिक, मानवअधिकारकर्मी र पत्रकारहरूले स्थानीय प्रशासनलाई पटकपटक ज्ञापनपत्र दिएका छन् । बेलाबेलामा जिल्लामा आउने सरकार र अनमिनका निकायलाई सो कुरा जाहेर गरिए पनि उनीहरूले पनि वास्ता नगरेको स्थानीय बासिन्दाको गुनासो छ ।
प्रहरी परिसरमा केही कुकर बम फेला परे पनि अन्य बम कस्ता हुन् भन्ने पहिचान भएको छैन । जिल्ला प्रहरी परिसरको स्वामीचौतारादेखि त्रिभुवन पार्कदेखि पोखरेसम्मको क्षेत्रमा बम राखिएको बताइएको छ । ती क्षेत्र सर्वसाधरणको दैनिक हिंड्डुल गर्ने बजारको बीचमा पर्दछन् ।
विस्फोटक पदार्थ भएको परिसरमा प्रवेश नगर्न नेपाली सेनाको कालीध्वज गणले सर्वसाधरणलाई आग्रह नै गरिसकेको छ । गणका कर्र्णोल नारायणबहादुर रायमाझी जोखिम बढेको बुझेपछि सर्वसाधरणलाई सचेत गरेको बताउँछन् । कर्र्णोल रायमाझीले आफ्नो परिसरमा रहेका पुराना विस्फोटक पदार्थ क्रमशः निकालिरहेको बताए ।
स्थानीय बासिन्दाले विस्फोटक पदार्थ हटाउनको लागि दवाव दिएपछि स्थानीय प्रशासनले पनि विशेषज्ञ टोलीको पटकपटक माग गरेको छ । तर अहिलेसम्म सरकारले सुनेको छैन । भोजपुरका प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले विस्फोटक पदार्थ हटाउनकै लागि तीनपटक बढी सरकारलाई पत्राचार गरे पनि अहिलेसम्म त्यसको जवाफ नआएको बताए ।
विस्फोटक पदार्थ सर्वसाधरणको हातमा पर्न थालेपछि प्रहरी र सेनाले विस्फोटक पदार्थ भएका क्षेत्रमा नजानु त भनेको छ तर मानिसका अत्याधिक चहलपहल हुने स्थानमै बेवारिसे अवस्थामा रहेका विस्फोटक पदार्थ हटाउन भने पहल गर्न सकेको छैन ।
यसअघि भोजपुर सदरमुकामस्थित नेपाल टेलिकमको टर्मिनल टावरमा माटो खन्ने क्रममा स्थानीय बासिन्दाले माओवादीले प्रयोग गर्ने गरेको विस्फोटक पदार्थ फेला पारेका थिए । सो स्थानबाट सेनाले सकेट बम, कुकर बम र पाईप बम गरी डेढ वटा विस्फोटक पदार्थ निकालेर निष्कृय तुल्याएको थियो ।
सरकारले गम्भीर भएर बेलैमा विस्फोटक पदार्थ निकालेर निष्कृय पारेमा दुर्घटना हुने थिएन । तर सरकारको अकर्मन्यता हेर्दा त्यो पनि सम्भव हुने अवस्था देखिएको छैन । सशस्त्र द्वन्द्व अन्त्यपछि सङ्क्रमणकालीन अवस्थामा युद्वका अवशेष र खतराजन्य बस्तुहरूको व्यवस्थित गर्नु राज्यको जिम्मेवारी हो । सङ्क्रमणकालीन अवस्थामा राज्यले मानवजीवनलाई गम्भीर क्षति पुर्žयाउने विस्फोटक पदार्थ निष्कृय नपारेमा कम्बोडियाको जस्तो अवस्था नेपाली जनताले पनि बेहोर्नु नपर्ला भन्न सकिन्न । मानिसको ज्यानै लिने र अपाङ्ग बनाउने घातक विस्फोटक पदार्थको सरकारले बेलैमा व्यवस्थापन गरेमात्र देश सोचे जसरी शान्ति प्रकृयाको बाटोमा जान्छ भने युद्वका पींडाहरूपनि कम हुंदै गएर देश उन्नतीको बाटोमा लम्कन्छ ।
ज्ञानेन्द्र खड्का
भोजपुर । ०६५ साउन १ गते