INSEC Online

📅 २०८३ जेष्ठ २१

‘सशस्त्र द्वन्द्वको समयमा भन्दामानवअधिकार रक्षकहरूलाई अहिले काम गर्न कठिन’

भोजराज तिमल्सिना

“हत्या, लुटपाट, अपहरण र धम्कीका घटना भइरहेका छन्”- मानवअधिकार जागरण केन्द्र (हरेक) बाराका अध्यक्ष केवलप्रसाद चौधरीले भने, “ज्वाला सिंहका नाममा चन्दा आतङ्क देखिन्छ । चन्दा नदिए मानिसहरू अपहरणमा पर्छन् । यही जिल्लाका कार्यक्रम संयोजक गोविन्द पौडेलले थपे ‘संगठित रुपमा अपराधिकरण बढेको छ । घुमुवा प्रहरीहरू नै चन्दा असुली र धम्कीका घटनामा संलग्न भएको पाइन्छ ।’ यस जिल्लामा प्रहरीले आरोपितहरूलाई गिरफ्तार गर्ने वित्तिकै दलहरूबीच छुटाउन होडबाजी चल्ने गरेको र छिटोछरितो न्याय प्रशासनको अवधारणा ‘फेल’ भएको देखिन्छ । पौडेलको भनाइमा सामाजिक सद्भाव, दण्डहीनताको अन्त्य र जनसरोकारका विषयलाई महत्व दिएको पाइन्न ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)मध्यमाञ्चल क्षेत्रीय कार्यालयद्वारा ०६५ असार ३१ गते बनेपामा आयोजित मानवअधिकार शिक्षा तथा संस्था सबलीकरण कार्यक्रम सम्झौताका अवसरमा उनीहरूले उक्त कुरा बताएका हुन् । हुरेइन्स सिन्धुलीका अध्यक्ष द्वारिका काफ्लेले मानवअधिकार उल्लंघनका घटनामा कमी नआएको र वाईसीएलको ज्यादती उस्तै रहेको बताए, ‘चुनावको समयमा वाईसीएलले माओवादीबाहेकका व्यक्तिहरूलाई सभामा जानबाट रोके । गाडीको हावा खुस्काइदिए ।’ उनको भनाईमा चुनावपछिको समय पनि उत्तिकै चुनौतीपूर्ण देखिएका छन्,’ताम्सालिङको नाममा हतियारको तालिम दिइरहेको सूचना प्राप्त भएको छ । मानवअधिकार आयोगले काराबाही र क्षतिपूर्तिका लागि सिफारिस गरेका व्यक्तिहरूको बारे ध्यानै दिइएको छैन । बेपत्ता नागरिकको खोजी र सशस्त्र द्वन्द्वका पीडितहरूको पहिचान भएको छैन ।’

मकवानपुरमा धेरै संघ-संस्थाले महिला अधिकारका क्षेत्रमा काम गर्छन् तर यही जिल्लामा महिला हिंसाका घटनामा बढोत्तरी भएको छ । अस्मिता नेपालकी अध्यक्ष भारती पाठकको भनाइमा यस जिल्लामा महिला ओसारपसार, गलैचा र र्सकसमा बालबालिकाको प्रयोग तथा बलात्कारका घटना बढी भएका देखिन्छन् । सशस्त्र द्वन्द्वका पीडितहरूको बारेमा कमै ध्यान पुगेको उनको ठम्याइ छ । ‘चोरी र डकैती बढेका छन् । हरिवन र चपुरमा सामान्य झगडाको अवस्था देखियो । तराईका सशस्त्र समूहमा साना उमेर समूहको संलग्नता देखिन्छ’,ग्रामीण विकास संस्था र्सलाहीका अध्यक्ष मनोजप्रसाद खनालले भने । यस जिल्लामा बन्द-हड्ताल र बोक्सीका नाममा महिलालाई सताउने क्रम पहिलेको जस्तै देखिन्छ ।

‘प्रहरी-प्रशासनको मनोबल घटेको देखिन्छ । दलहरूको सहमति र सम्झौतामा मानवअधिकार उल्लंघनका दोषीहरूलाई उम्क्याउने काम भएको छ’- विकासशील सामाजिक संस्था काभ्रेका अध्यक्ष थर्कप्रसाद तिमल्सिनाले भने “यतिबेला गोलीबाट मान्छेहरू मारिएका छैनन् तर भय र त्रासको अवस्था द्वन्द्वका समयमा जस्तै छ ।”डायरिङ सिन्धुपाल्चोकका अध्यक्ष कृष्णराज श्रेष्ठले आफ्नो जिल्लामा माओवादीले अझै दुःख दिइरहेको बताए । माओवादीले उनीहरूको पत्रिकामार्फत अन्य दलमा आस्था राख्ने महिलाहरूको नामै किटेर सार्वजनिक बदनाम गर्ने काम गरिरहेको उनले बताए, ‘भागबण्डाको राजनीति भइरहेको छ । चुनावमा भोट नहाल्नेलाई धम्क्याउने, पानीको पाइप काटिदिने र विकासका काममा भाँजो हाल्ने प्रवृति देखिएको छ ।’

सिसप धनुषाका अध्यक्ष रामचन्द्र साहले तराईमा आन्दोलनरत समूहबाट जनता भयभित रहेको बताए ।’केही स्थानमा विस्फोट, मोटरसाइकलहरू चोरी, शिक्षक/कर्मचारीको हत्या, चन्दा संकलनजस्ता कुराले यहाँ आतंक सिर्जना भएको छ’-साहको भनाइ थियो ‘वाईसीएलका गतिविधि निकै देखिन्छन् । हिजो सशस्त्र द्वन्द्वका समयमा कव्जा गरिएका घरजग्गा अझै फिर्ता भएका छैनन् । अपराधिलाई प्रहरीले समायो भने नेताहरू फोन गरेर छुटाइहाल्छन् ।’यस जिल्लामा एफएम रेडियोहरूले त्रासका समाचार तत्काल प्रचार गर्ने भएकाले घटनामा बढोत्तरी भएको देखिन्छ । मानव अधिकार उद्यान काठमाडौंका महासचिव मोतिराम फुयाँलले आफ्नो जिल्लामा रामहरी श्रेष्ठको हत्यादेखि महिला अधिकृतले आगो लगाएका घटनासम्म भएको उल्लेख गरे । अब नागरिक तथा राजनीतिक अधिकारमा मात्र ध्यान नदिएर मानवअधिकार रक्षकहरूले महिला र बालबालिकाको अधिकार उल्लंघन भएका घटनातर्फध्यान दिन उनले सुझाव दिए ।

‘राज्य संयन्त्र र न्याय सर्वसुलभ होइन् फित्तलो देखिन्छ । जसले सशस्त्र द्वन्द्वमा मान्छे मार्žयो, कुट्यो,अपहरण गर्žयो अनि डर र त्रास दियो त्यही व्यक्ति अहिले पीडितहरूको सूचीमा छ ।’हुराडेक दोलखाका अध्यक्ष होम पाठक भन्छन् “सर्वसाधरण पीडितहरूको नाम प्रशासनको सूचीमा छैन । दोलखामा कोव्रा र हिमाली टार्इगर्स नामक नयाँ समूह देखिएको छ । उनको भनाइमा निर्वाचनमा धाँधली भएको हजारौ पर्यवेक्षकले आफ्नै आखाँले देखे तर जीमी कार्टरले शान्तिपूर्ण भनेपछि सवैको प्रतिवेदन शान्तिपूर्ण भएको भन्ने आयो । उनले थपे ‘अव जीमी कार्टरले नेपालमा शान्ति भयो भनेपछि माओवादी ब्यारेकभित्र भएका हत्या पनि छोपिन्छन् ।’

अन्य जिल्लाको जस्तै अवस्था चितवनमा पनि देखिन्छ । महिला सघन विकास केन्द्रकी सचिव मीरा सापकोटा भन्छिन, ‘आफ्नो पार्टीलाई भोट नदिएको भनी वाईसीएलले शिक्षकहरूलाई कुटे । डकाउका कर्मचारीको तलव काटेर राखिएको छ । भय र त्रास उस्तै छ ।’ सेन्थुर नुवाकोटका अध्यक्ष मुकुन्द नेपाल अहिलेको अवस्थालाई शक्ति सन्तुलन बिग्रेको ठान्छन्, ‘पीडितहरू उजुरी गर्न नै डराउँछन् । मनोवैज्ञानिक त्रास देखिन्छ । माओवादीको अगाडि मानवअधिकार रक्षकहरूको पनि बोल्ने आँट छैन । सबैलाई ज्यानको माया त भइहाल्छ ।’ नेपालको भनाईमा माओवादीलाई अहिले विद्यालय व्यव्स्थापन समितिका अध्यक्ष, संघसंस्थाका मुख्य पदहरू र ठेक्कापट्टा सबै चाहिएको छ । विकासको अर्थ कार्यकर्ता पाल्नु मात्र भएको छ । ‘बाडिँचुडी खाँऊ, तै चुप मै चुप’को अवस्था छ ।

इन्सेकका क्षेत्रीय संयोजक कृष्ण गौतमले अहिले दण्डहीनताको अवस्था रहेको उल्लेख गरे । प्रहरी प्रशासनलाई केही नगर्नु भनेर गृह मन्त्रालयले हात बाँधिदिएकाले दण्डहीनता मौलाएको र मध्यमाञ्चल क्षेत्र पनि अन्य विकास क्षेत्र भन्दा फरक नरहेको उनको भनाइ थियो । मध्यमाञ्चल क्षेत्रका शिव खकुरेलको भनाइ पनि उस्तै रह्यो, ‘सशस्त्र द्वन्द्वको समयमा भन्दा अहिले मानवअधिकार रक्षकहरूलाई काम गर्न कठिन भएको देखिन्छ । नयाँखाले द्वन्द्वको अवस्था आएकाले चुनौतीहरू थपिएका छन् ।’ कार्यक्रममा दोलखा र बारा जिल्लाका सहकर्मी संस्थासँग मानवअधिकार शिक्षा कार्यक्रम र अन्य नौ जिल्लाका सहकर्मी संस्थासँग संस्था सवलीकरण कार्यक्रमको सम्झौता भयो ।

काभ्रे । ०६५ असार ३१ गते

 

अन्य

भिडियो