INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यालय जाँदै गरेका विद्यार्थी देख्ताउनको मन रुन्छ

रतन रावल

विद्या मन्दिर उच्च माविको प्रांगडमा रगतको खालमा एक जना बालक र अधबैसे मानिस ढलिरहेका छन् । मरिसके कि ज्यूउँदै छन् त्यो त उनलाई थाहा छैन । बालक घोप्टो परेर लडेको देखिन्छ , बालककै शरीरमाथि अर्को मानिस रक्ताम्मे भएर लडेको छ । खै को हो, चिन्न गाह्रो छ । अनुहार पूरै रगतले छोपिएकोले ठम्याउन सकिदैन ।

उनलाई यकिन छैन मरे बाँचेको । सासको गति हेर्छन् । “एक मनले त सबै गाउँलेलाई बोलाऊँ जस्तो लाग्यो तर खप्नै सकिन, पल्टाएर हेरेको त नरबहादुर कडायत र उनकै छोरा पो रहेछन् । बाबु बेहोस छन्, छोराको सासै छैन ।” घटनाको पहिलो जानकारी पाएका नरदेव अधिकारी भन्छन् ।

आफनो कार्यक्रम हेर्न आएको माओवादीको उर्दीका कारण विनायक गाविस-५ विनायकका १२ वर्षीय नेत्र कडायत विद्यामन्दिर उच्च माविमा माओवादीले ०६० चैत ३१ गते आयोजना गरेको साँस्कृतिक कार्यक्रम हेर्न उपस्थित थिए । माओवादीले आयोजना गरेको सो कार्यक्रममा सेनाको हेलिकप्टरले एकोहोरो गोली चलाउँदा नेत्रलगायत सात जनाको नै मृत्यु भएको थियो भने ७७ जना घाइते भएका थिए ।

आँखै अगाडि छोरोलाई गोली लागेको देख्दा कुन बाबु होसमा हुन्छ होला! अधिकारीले बेहोस अवस्थामा नै रहेका नर कडायतलाई नजिकै खुल्ला अवस्थामा नै छोडिएको पसलबाट एक गिलास पानी ल्याएर मुखमा हाले । नरबहादुरको होस खुल्छ । घरमा खबर पठाउँछन् । घरमा भाइहरू दिउँसोको खाजा खान नेत्रको बाटो हेरिरहेका थिए । आमा ढुक्कै छन् छोरो खेलिरहेको होला । अब घर आउला । तर सदाको लागि आकाशबाट बर्सेको तातो गोलीले छोरालाई आमाको न्यानो काखबाट टाढा लगिसकेको थियो । गाँउभरि हल्लाखल्ला हुन्छ ।

“ओ मेरो छोरो कहाँ छ छोरा आमा त भन् । “तर के बोलोस् रगतको आलका डुबेका, सदाको लागि बिदा भएको छोरो ………………!

नेत्र गाँउमा कसैको आँखा हाले पनि नबिझाउने बालक थिए । उनको मुत्युले सबै गाँउले नै मर्माहत थिए तर टाढाबाट सेनाको नजरमा परिएमा माओवादीको समूह हो भनेर फेरि आकाशबाट गोली बषिर्ने डर छ । नरबहादुरको घरसम्म जान पनि ठूलो त्रास छ ।

कठायत परिवारलाई सान्त्वना दिन गाँउलेहरूमा शब्द नै छैन । छन् त माओवादी र सेना दुवैलाई गाली गर्ने मात्र । ५ बजे नेत्रको लासलाई नजिकैको खोलामा गाडियो । मलामी बनेका गाँउलेहरू कठै बिचरा तेरो र्स्वगगति होस् भन्दै आ आफनो घर लागे । गाँउलेको मनमा डर थियो, भोलि आर्मीले मंगलसेन त बोलाउँदैन ।

द्वन्द्वका १० वर्षमा अछाम जिल्लामा राज्यद्वारा पाँच जना र माओवादीद्वारा छ जना गरी ११ जना बालबालिकाको मृत्यु भएको छ । राज्यद्वारा १० जना बालबालिकालाई गिरफ्तार गरिएको छ भने दुवै तर्फबाट गरी छ जनाल बालबालिकालाई कुटपिट गरिएको छ । माओवादीले आफ्नो जनअभियानका लागि भनी हजारौं बालबालिकालाई विद्यालयबाट अपहरण गर्नुका साथै सयौंलाई बालसैन्यका रुपमा भर्ती गरेका छन् ।

आफनो छोराछोरीलाई सफल र नामी बनाउने सपना कसका बाबुआमाको हुँदैन । जब अरु केटाकेटी विद्यालय जान थाल्छन्, नरबहादुर मन चस्किन्छ । केटाकेटीलाई अँगालो हाल्छन् र भन्छन्”बाबु नेत्र आएन” । उनलाई छोरोको अनुहार बिर्सन गाह्रो छ । ती विद्यार्थीको अनुहारले छोरोको झल्को गराइरहन्छ । उनी मनमनै प्रश्न गर्छन्- साँचै, नेत्र कहाँ हुन्थ्यो होला । माओवादी र आर्मीलाई सम्झन पुग्छन्, मनमा प्रश्न उठ्छ- के यिनीहरूले सबै थोकको जिम्मा लिन्छन् होला –

नर कडायत जस्तै हजारौको प्रश्न माओवादी र सेनालाई ………..

अछाम । वैशाख ०६४

अन्य

भिडियो